तस्वीर हेर्नुहोस्, के यसरी ‘आत्महत्या’ हुन सक्छ ?(भिडियो सहित)
२१ वर्षीया प्रिया र उनीभन्दा केही वर्ष जेठा विप्लव सुवेदीको ०७१ वैशाख ११ गते विहे भएको थियो । विप्लव आइटी इन्जिनियर हुन् । काठमाडौं युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा उनीहरु प्रेममा परेका थिए । उनीहरुको प्रेमसम्वन्ध थाहा पाएपछि दुवै परिवारको सहमतिमा बिहे भएको थियो ।मिराकल पार्टी प्यालेसमा भएको बिहेमा आफूले ३८ लाख रुपैयाँ खर्च गरेको प्रियाका पिता म्यानपावर व्यवसायी प्रद्युम्न बताउँछन् ।
विवाहपछि दुवैजना अष्ट्रेलिया जाने योजनामा थिए । प्रद्युम्नका अनुसार छोरी-ज्वाइँलाई अष्ट्रेलिया पठाउन उनले आफ्नो घर धितोमा राखेर ५० लाखको बैंक ग्यारेन्टीसमेत गरिदिएका थिए । तर, उनीहरुको भिसा लागेन ।
कम्युटर इन्जिनियरिङ सकेर विप्लवले एउटा कम्पनीमा जागिर खाए । तर, पछिल्लो समय जागिर छोडेर घरमै अफिस खोलेर काम गरिरहेको विप्लवकी आमा रेनु सुवेदी बताउँछिन् ।
विवाहपश्चात श्रीमान र श्रीमतीको सम्वन्ध सुमधुर थियो । प्रिया र विप्लव दुई परिवारबीचको सम्वन्ध पनि न्यानो थियो ।
‘छोरा र बुहारीले एक दिन पनि एक-अर्कासँग ठूलो स्वरले बोलेको मलाई थाहा छैन,’ विप्लवकी आमा भन्छिन्, ‘बुहारी लक्ष्मीजस्ती थिइन्, मैले छोरीसरह माया गरेर राखेकी थिएँ ।’
प्रियाका पिता प्रद्युम्नले पनि अहिलेसम्म छोरी-ज्वाइँबीच झगडा भएको आफूलाई थाहा नभएको बताए ।
अचानक कथा कसरी मोडियो ?
प्रियाका पिता प्रद्युम्न शनिबार पोखरामा थिए । उनका अनुसार राति ११ बजे ज्वाइँ विप्लवले फोन गरेर तुरुन्त काठमाडौं आउन भने । के कारण पर्यो भनी सोध्दा विप्लवले तपाईंकी छोरीको अन्तै अफेयर छ भन्ने मैले सुनेँ, कुरा गर्न आउनुपर्यो भनेको प्रद्युम्न बताउँछन् । उनी भन्छन्- ‘त्यसपछि मैले छोरीलाई फोन गरेँ, छोरीले यस विषयमा आफूलाई केही थाहा नभएको बताइन् ।’प्रद्युम्नले थपे- ‘आइतबार हतार-हतार म काठमाडौं फर्किएँ र छोरीलाई फोन गरेँ । तर ज्वाइँका काकाका छोराले फोन उठाए । उनले दाजु-भाउजूको झगडा परिरहेको छ भनेर सुनाए । हामीले लोग्ने-स्वास्नीको सामान्य झगडा होला भन्ने ठान्यौं । तर, राति नौ बजे छोरीले फोन गरेर तुरुन्तै आउनुस भनी । साढे ९ बजे हामी छोरीको घरमा गयौं ।’
प्रियाका पिता भन्छन्- ‘त्यहाँ कुराकानीका क्रममा ज्वाइँले प्रिया अर्कैसित लागेको आरोप दोहोर्याउनुभयो । छोरीले त्यो कुरा नकारी । यत्तिकैमा आक्रोशित भएर ज्वाइँंले ‘छोरी फिर्ता लैजानू, नत्र मारिदिन्छु’ भनेर धम्की दिनुभयो । मैले पनि ‘भाँडाकुटी खेलेको हो र मन लागे ल्याउने, मन लागे फर्काउने ?’ भनेर जवाफ फर्काएँ । ज्वाइँंकी आमाले छोरालाई गाली गरेर चुप लगाउनुभयो । सबै साम्य भएपछि हामी साढे ११ बजे घर फर्कियौं ।’
प्रदुम्नले घटनाको विवरण सुनाउँदै अगाडि भने- ‘भोलिपल्ट, अर्थात सोमबार बिहानै प्रियाले आमालाई फोन गरिन् । राति श्रीमानले आफूलाई सँगै सुत्न नदिएको र नन्दसित सुतेको रुँदै सुनाइन् । सासूकै अगाडि श्रीमानले आफूलाई मारिदिने धम्की दिएको पनि छोरीले बताइन् । फोनमा यसो भनेपपछिप्रियाकी आमाले उनलाई श्रीमानलाई फकाउनू, भात पकाएर खुवाउनू भनेर सम्झाइन् । प्रियाले हुन्छ भनेर फोन राखिन् ।’
‘१० बजे म भात खाएर अफिस हिडेँ । दिउँसो १ बजेर ७ मिनेटमा मेरो मोबाइलको घन्टी बज्यो । ‘भाउजूले आत्महत्या गर्नुभयो, छिट्टै आउनुपर्यो,’ भनेर उताबाट आवाज आयो’ प्रद्युम्नले भने- ‘ज्वाइँका काकाका छोरा रहेछन्, मेरो होसहवास उड्यो । हुर्रिँदै छोरीको घर पुगेँ । त्यहाँ छोरी झुण्डिरहेकै अवस्थामा थिइन् । उनको आधा पैतालाले भुईंमा टेकेको थियो । पहिलो हेराइमै मलाई यो आत्महत्या हुनै सक्दैन भन्ने लाग्यो ।’
उनले भने- ‘हामी पुग्दा घटनास्थलमा प्रहरी आइसकेको थियो । कोठाको ओछ्यान लथालिंग थियो । ट्वाइलेटको भेन्टिलेसनको एउटा सिसा फुटेको थियो । छोरीको निधारमा नीलडामहरु थिए ।’
‘मलाई लाग्छ, ज्वाइँले छोरीलाई आक्रमण गरे र छोरी बेहोश भएर ढलेपछि काकाको छोरासँग मिलेर उसलाई सलको पासो लगाएर झुण्ड्याइदिए,’ प्रद्युम्नले आरोप लगाए ।
विप्लवको परिवारमा उनकी आमा र बहिनी बस्थे । नन्द र भाउजूबीच दिदीबहिनीको जस्तैसम्वन्ध रहेको प्रियाकी सासू रिनाले बताइन् । विप्लवका बुवा भने केही समयअघिदेखि जापानमा छन् ।
घटनाको दिन सोमबार विप्लवकी आमा खाना खाएर अफिस गएकी थिइन् । उनी मेडिकेयर हस्पिटलमा काम गर्छिन् । बहिनी पनि कलेज गएकी थिइन् । विप्लवका काकाका छोरा उनका घरमा आएका थिए ।
प्रियाकी सासू रीना के भन्छिन् ?
विप्लवकी आमा रीना भन्छिन्- ‘मेरा बुवाको १७ दिन अगाडि देहान्त भएको थियो । माइतीमा उहाँको काम सकेर म शनिबार घर फर्केँ । आइतबार ड्यूटी गएँ । बेलुका खाना खाएर सुतेकी मात्रै थिएँ, बुहारीका आमाबुबा आउनुभएछ । त्यति अबेर उहाँहरु किन आउनुभएको थियो, मलाई थाहा भएन । सबैजना बसेर कुराकानी गर्यौं । सामान्य पारिवारिक कुराहरु भए । कुनै विवाद भएको थिएन । राति नै उहाँहरु फर्किनुभयो ।’
आफ्नो छोराले बुहारीलाई मार्छु भनेर धम्की नदिएको रीनाले बताइन् । उनले भनिन्, ‘अघिल्लो दिन राति बुहारीका बुवाआमा हाम्रो घरमा आउनुभएको थियो । त्यति अबेर किन आउनुभयो, मलाई थाहा भएन । उहाँहरुसँग हाम्रो सहज वातावरणमा पारिवारिक कुराकानी भएको थियो । त्यहाँ कुनै वादविवाद भएको थिएन । बुहारी कलेजबाट ढीलो घरमा आउने गरेको विषयमा मैले उहाँहरुको ध्यानाकर्षण गराएकी थिएँ, त्यत्ति हो ।’
रीनाका अनुसार बुहारी प्रिया बिहान ६ बजे कलेज जान घरबाट निस्किन्थिन् र बेलुका ६ बजेपछि मात्रै घर फर्किन्थिन् ।
रीना अगाडि भन्छिन्, ‘भोलिपल्ट (सोमबार) म उठ्दा बुहारी सुतिरहेकी थिइन् । बिहान सात बजे म चिया लिएर बुहारीको कोठामा गएँ र उनलाई उठाएँ । उनी अत्तालिँदै उठिन् । मैले भनेँ- अत्तालिनुपर्दैन, बिस्तारै बढार कुँडार गर, खाना पकाउ । उनले खाना पकाइन् । खाना खाएर म सदाझैं अफिस गएँ ।’
‘दिउँसो घरबाट फोन आयो । बुहारीको नराम्रो खबर सुनेँ । म छाँगाबाट खसेजस्तै भएँ’ रीनाले भनिन्- ‘अफिसको गाडीले मलाई घरसम्म ल्याइदियो । घर आउँदा बुहारी झुण्डिएकै अवस्थामा थिइन् । उनलाई देख्नेवित्तिकै म बेहोस भएर ढोकामै ढलेँ ।’
बुहारीको वियोग सहन आफूलाई गाह्रो भएको रीना बताउँछिन् ।
‘चोट उहाँहरु (माइती पक्ष) लाई मात्र परेको छैन, हामीलाई पनि परेको छ । हामी पनि भावविह्वल छौं । मैले लक्ष्मीजस्ती बुहारी गुमाएकीछु’ रीनाले एकै सासमा भनिन्- ‘हाम्रो एउटै छोरा हो । बुहारीमा खोट लगाउने कुरा केही पनि थिएन । लाउँलाउँ र खाउँखाउँको उमेरमा बिहे भएकाले पनि म बुहारीलाई बढी नै हेरविचार गर्थेँ । यसको भगवान साक्षी छन् । तर, सबैको माया पाउँदा-पाउँदै उनले किन आत्महत्या गरिन् ? मलाई थाहा भएन ।’
तस्वीर हेर्दा उब्जिने प्रश्नः यसरी पनि आत्महत्या हुन्छ ?
प्रिया झ्यालमा जसरी ‘झुण्डिएर मरेकी’ भनिएको छ, तस्वीरमा उनले खुट्टा टेकेको दृश्य प्रष्ट देख्न सकिन्छ । यसले उनको मृत्युमाथि शंका उब्जिएको माइतीपक्षको दाबी छ । प्रियाका माइती पक्षले आफ्नी छोरीको हत्या भएको आरोप लगाएका छन् भने घरपट्टकिाले उनले आत्महत्या गरेको दावी गरेका छन् ।
यो घटनाको निश्पक्ष अनुसन्धान गर्नुपर्ने माग गर्दै माइती पक्षले सातदोबाटो प्रहरी कार्यालयमा धर्ना दिइरहेका छन् । प्रहरीले विप्लवलाई कागज गराएर बोलाएका बेला कार्यालयमा उपस्थित हुने गरी छोडेको छ । मृतकको पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन ।
घटनास्थलको तस्वीर अनलाइनखबरलाई प्राप्त भएको छ । करिब साढे पाँच फिट अग्लो झ्यालको ग्रीलमा झुण्डिएकी प्रियाले दुबै खुट्टा आधा भुईंमा टेकेकी छिन् । उनले झ्यालको ग्रील र पर्दामा समात्न सक्ने अवस्था पनि देखिन्छ । नजिकै रहेका स्टुल र टेबल पंखा ढलेका छैनन् । के उनले सरक्कै आत्महत्या गरेकी हुन् ? तस्वीरले यसै भन्छ ।
प्रियाका बुबा प्रद्युम्नले आफ्नी छोरीले यो अवस्थामा आत्महत्या गरेको हुनै नसक्ने अनलाइनखबरलाई बताए । ज्वाइँले छोरीको हत्या गरेर झ्यालमा झुण्ड्याएको उनको आशंका छ ।
‘पोष्टमार्टम रिपोर्ट आइसकेपछि ज्वाइविरुद्ध किटानी जाहेरी दिनेछु,’ उनले भने ।
तर, प्रियाकी सासू रिना सुवेदीले भने बुहारीले आत्महत्या नै गरेको दाबी गरिन् । आत्महत्या गर्नुपर्ने कारण भने आफूलाई थाहा नभएको उनले बताइन् । उनले आफ्नो छोरो हत्यारा हुनै नसक्ने दाबी गरिन् ।
के भन्छन् विशेषज्ञ ?
दुबैतर्फका कुरा सुनिसकेपछि हामीले वरिष्ठ फरेन्सिक विशेषज्ञ तुलसी कँडेललाई सोध्यौं, के खुट्टा टेकी-टेकी मानिसले झुण्डिएर मर्न सम्भव छ ? उनले यस्तो जवाफ दिएः
‘खुट्टा टेकेको अवस्थामै पनि झुण्डिएर आत्महत्या गर्न असम्भव छैन । आत्महत्या गर्नका लागि तुर्लुङ्ग झुण्डिनुपर्छ भन्ने हुँदैन । कुर्सीमा बसी-बसी आत्महत्या गरेका उदाहरण पनि छन् । नजिकै समात्न र टेक्न सक्ने अवस्था हुँदाहुँदै पनि आत्महत्या हुन सक्छ । झुण्डिएर मर्न कम्तिमा डेढ मिनेटदेखि बढीमा पाँच मिनेट लाग्छ । तर, आत्महत्या हो कि होइन भनेर टुंगोमा पुग्न पोष्टमार्टम नै मुख्य आधार हो ।’पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<तस्वीर हेर्नुहोस्, के यसरी ‘आत्महत्या’ हुन सक्छ ?>>
स्रोत : अनलाइन खबर
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
1 comments
Write Down Your Responses

15 February 2017 at 23:57
Atmahatta ho bhane aafai jhundida khutta faltha tyo table dhalnu parne hoina rw...? Table tw dhaleko pani xoina n khutta tekerw kasari atmahatta garna sakinsa rw .. tyo mathi marne dhami poni diyako roixa...