मिडियालाई घुमाइदिने को हुन् कञ्चन?

म न त मोहनलाई चिन्छु न त कञ्चनलाई नै। तर, म जुन क्षेत्रमा हुर्के त्यहाँका अधिकांश मान्छेले पनि म जस्तै कञ्चनलाई देखेका छन्। हुन त उनको नाम कञ्चन भन्ने कान्तिपुर टिभीको कार्यक्रम हेरेर थाहा पाएँ। उनको पहिचान ज्ञानेश्वर र नक्साल क्षेत्रमा धेरैका लागि जड्याहा महिलाको रुपमा छ।
उनको वास्तविकता केहो मेरो सरोकारको विषय होइन। तर, उनी सडकमा कसरी पुगिन् र उनलाई कसरी मिडियामा ल्याइयो भन्ने कुराले पनि धेरै अर्थ लाग्दैन। वास्तविकता यो होकी कोही पनि सडकमा आउनु हुँदैन र आएका हरेकको उद्धार गरिनु पर्छ। के त्यो दायित्व राज्यको हो वा गैसस वा व्यक्तिगत तवरबाट कसैको यो वहसको विषय बन्न सक्छ। तर सबै उद्धार गरिएको व्यक्तिको जीवनमा कठिनाइ आएकै कारण ती सडकमा पुग्छन् कारण जे पनि हुन सक्छ सामाजिक, आर्थिक वा कुलत आदि इत्यादि।

तर उद्धार गरिएका व्यक्ति सञ्चारको मुलधार सम्म आइपुग्दैनन् र सम्भव पनि हुँदैन। तर जो मुलधारे मिडियामा आइपुग्छन् तिनलाई एकतर्फी रुपमा प्रस्तुत गरिन्छ। कञ्चनको सवालमा पनि यस्तै भएको छ।  उनको वास्तविकता बारेमा वरिष्ठ पत्रकारमा रुपमा कहलिएका सुमन खरेलले कतै पुष्टि गर्ने प्रयास गरेनन्। उनले जुन संस्थाको पहलमा कञ्चनको अन्तर्वार्ता लिए त्यसको पृष्ठभूमी नै सन्देहको घेरामा छ । केही वर्ष अघिको कुरा हो सुन्धारा क्षेत्रमा एक जना महिला मानसिक रुपमा विक्षिप्त नांगै ढुल्ने गर्थिन् ।
उनलाई उद्धार गर्न सकिन्छ कि भनेर एक जना मित्रको पहलमा कहलिएकी समाजसेवी तिनै दीक्षा चापागार्इँलाई फोन गरियो । तर उनको जवाफले हामी अवाक भयौं। उनले उद्धार गर्ने हो भने मिडियालाई बोलाउनु पर्ने शर्त तेर्साइन्। हामीलाई एउटा सानो काम गरेर मिडियाको स्याबासी लिनु पर्ने जरुरी थिएन । हामीले पछि तिनलाई दोहोर्याएर भनेनौं पनि। तर पछि ति महिलालाई अन्य संस्थाले उद्धार गर्यो ।
यहाँ भन्न खोजिएको के हो भने समाज सेवा गर्न भनेर जन्मिएका संस्था काममुखी भन्दा पनि प्रचार मुखी हुन्छन् र यस्ता संस्थाको विश्वास गर्दा आमसञ्चार माध्यमको साख पनि दिनदिनै गिर्ने गर्छ। अनि पत्रकारिताको सिद्धान्तमा पनि विचलन आउँछ। धेरै पटक नेपालका मिडिया चुकेका छन्। स्रोतले मिडियालाई घुमाई दिन्छ। स्पिनिड अफ सोर्समा परी पछि आफूलाई वरिष्ठ भन्नेहरुको हावा धेरै पटक खुस्किएको छ। कञ्चनको अन्तवार्ता पनि यसैको उदाहरण हुन सक्छ।
कञ्चनको कारण मोहन र उनको परिवारमा समस्या आएको हुनुपर्छ। तर त्यसलाई सञ्चार माध्यमले स्थान दिन्छन् त? के उनको परिवारले यसबारेमा स्पष्टिकरण दिन्छ वा दिँदैन त्यो वहसको विषय होइन । वहसको विषय त यो हो कि मिडियाले च्याउझै उम्रिएका गैरसरकारी संस्थाको जे कुरा पनि पत्याउने।
पछिल्लो समय गरिबी, समाजिक अपहेलना, विभेदलाई प्राथमिकताका साथ मिडियाले पस्किने गरेका छन्। तर यस्तो कुरा ल्याउँदा विभिन्न कोणबाट अध्ययन गरिनु पर्छ। अनुजा काण्ड होस् वा रसेन्द्र भट्टराई काण्डको बारेमा धेरै वहस भयो तर मिडियाले सच्चिने काम गरेनन्। मैले प्रत्यक्ष देखेको अर्को उदाहरण पनि म प्रस्तुत गर्न चाहन्छु। पाँच वर्ष अघिको कुरा हो। दशैको केही दिन अघि म रंगशालाबाट आइरहेको थिए। खाद्य संस्थानको अघिलतिर बाटोमा भिड देखे। अनि के भएको रहेछ भनेर बाइक रोके। एकजना महिला बाटोमा लम्पसार परेर सुतिरहेकी थिइन्। उनको अगाडि एउटा सानो बालक पनि आमालाई उठाउने चेस्टा गर्दै थियो।
महिलालाई एकजना महिलाले पानी छर्के पछि उनी उठिन्। उनले आफु लम्जुङको बाहुनडाँडाको भएको र उपचारका लागि काठमाडौं आउँदा श्रीमानले हेला गरेको बताइन्। कमलो मन भएका सबैले उनलाई त्यहाँ आर्थिक सहयोग गरे। कसैले खानेकुरा दिए। अनि त्यहाँ करिब १० हजार जति रुपैयाँ उठ्यो महिलालाई ट्याक्सी चढाएर वीर अस्पताल पठाइयो। त्यसको करिब २० दिन पछि तिहारको मुखमा टंगालको भाटभटेनीको मुल गेट अघि भिड देखे। मैले गएर यसो हेरेको तिनै महिला र तिनै बालक त्यसरी नै बिलौना गर्दै रहेछन्। मसंग श्रीमती पनि थिइन्। म अगाडि बढेर ति महिलालाई गाली गरे। केही दिन अघिको घटना त्यहाँ भने पछि ति महिला त्यहाँबाट सुइँकुच्चा ठोकिन्। त्यहाँ भिडमा जम्मा भएका मानिसहरुले पनि मेरो कुरा सुनेपछि महिलाई हप्काए। उनी विरामी भएको भए दौडेर भाग्ने पक्कै पनि थिइनन्।
त्यसको केही महिनापछि देशको प्रतिष्ठित राष्ट्रिय दैनिकमा एउटा समाचार छापियो। धरानमा लम्जुङकी महिला नाबालकसहित अलपत्र। तस्बिरसहित छापिएको समाचार देखेपछि म अचम्ममा परे र त्यस दैनिकमा कार्यरत साथीभाइलाई सुनाए। यो त एउटा सानो उदाहरण हो। त्यसैले अब मिडियाले स्रोतलाई विश्वास गर्नु भन्दा अघि त्यसलाई पुष्टि गर्नै पर्छ। नत्र कञ्चन, अनुजाहरुको जन्म भइरहन्छ।
-पत्रकार पोखरेल हाल क्यानडामा छन्।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses