महोत्तरीमा कसरी फैलियो झाडा पखालाको महामारी ?
जलेश्वर – महोत्तरी सदरमुकाम जलेश्वरमा झाडा पखालाले तीन बर्षका बालिकाको ज्यान गयो । ५१ जना झाडापखालाको चपेटामा परे । कसरी फैलियो त यस्तो महामारी ? रातोपाटीले जान्ने कोसिस गरेको छ ।
जिल्लाकै पुरानो नगरपालिका हो, जलेश्वर । नयाँ बनेका नगरपालिकाले आफूलाई विकसित गर्दै लगेपनि जलेश्वर नगरपालिको स्वरुपमा खासै परिवर्तन आएको छैन । विकासको नाममा यहाँ खासै केही भएको देखिदैन ।
टुटे फुटेका सडक छन् । २५ सैयाको अस्पताल छ, जहाँ विरामी निको भएर फर्कन धौ–धौ हुन्छ, कारण फोहोर व्यवस्थापन छैन ।
यहाँ शिक्षा र सरसफाईका लागि वर्षेनी करोडौँ रकम पनि आउँछ । तर, सही सदुपयोग भएको पाइदैन । नगरपालिका भित्रैका वस्तीमा बसोवास गर्नेलाई सरसफाईप्रति त्यति धेरै चासो पनि छैन । शौचालय किन चाहियो ? धेरैले यो जान्ने कोसिस पनि गर्दैनन् ।
जलेश्वर–१३ को महामारी प्रभावित मुसहर वस्तीमा पुग्दा एक युवक महँगो मोबाईलमा हिन्दी गाना सुन्दै थिए । उनीसँग कुरा गर्न थालियो । तपाइँको वस्तीमा मुसहरको कति परिवार छ ? उनले जवाफ दिए, ‘५० को हाराहारीमा ।’
ती मध्ये कतिको घरमा शौचालय छ ? ती युवाले जवाफ फर्काए, ‘२ या ३ जनाको घरमा छ ।’अर्को प्रश्न उनलाई सोधियो , तपाईंको घरमा छ कि छैन ? एकछिनपछि जवाफ दिए, ‘छैन ।’
म स्वास्थ्यकर्मीको टोलीसहित अगाडी बढे । दुई जना ३ वर्ष मुनिका बालिका सडक छेउमै जुटको बोरामा सुतिरहेको देखेँ । त्यसको छेउमा केही महिलाको टोली थियो ।
वालिकाहरु महामारीको चपेटामा परेर सुतेका रहेछन् । स्वास्थ्य कार्यालयले उपलब्ध गराएको औषधी घरमै सेवन गरिरहेका रहेछन् । ती बालिकाको जिउभरी झिँगा लागेको थियो । छेउमै जुठो भाँडा र त्यसमा पनि झिँगा भन्किरहेको थियो । त्यहाँ अधिकांश बालबालिका कुपोषित छन् ।
बिहिवार बिहान झाडापखालाकै कारण मृत्यु भएको बालिका राधिका सदाको घर हेर्न पुगियो । त्यहाँको बस्ती समेत अवलोकन भयो । मृतक सदाको घरमा दुई बर्षकी उनकी बहिनी थिइन् । शरीरभर फोहर थियो ।
एकैछिनमा राधिकाकी आमा आइपुगिन् । उनी गर्भवति थिइन् । उनले दुई छोरा, देवर र सासु अस्पताल मै उपचारमा भैरहेको बताइन् ।
त्यहाँ पुग्दा यो थाहा भयो, झाडापखालाको महामारी उनकैै घरबाट सुरु भएको रहेछ । कार्तिक ८ गते जमेको पानीबाट मारिएको माछा र घोँघी ल्याएर खाएको रहेछन् । कार्तिक ९ गतेदेखि झाडा पखालाले सतायो ।
बस्तीमा ५० परिवारको लागि २ निजी र २ सरकारी चापाकल छन् । तर, अहिले ३ वटा मात्र चलेका छन् । चापाकल रहेको ठाँउमापनि उस्तै फोहोर देखियो ।
मसँगै त्यहाँ पुगेका जनस्वास्थ्य नीरिक्षक तोष कुमार ठाकुर र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका संजय साहले बस्तीमा भेटिएका सबैलाई सरसफाईमा ध्यान दिन आग्रह गर्यौँ । उनीहरुलाई पानी सफा गरेर पिउन सुझाव दियौँ । झाडा पखालाका वेला उपयोग हुने जीवनजल लगायतका औषधी पनि दियौँ ।
हाल वस्तीमै उपचारमा रहेकाहरुको स्वास्थमा सुधार भैरहेको छ । तर, सरसफाइमा अझै ध्यान नदिए महामारी पुनः फैलने सम्भावना देखिन्छ ।
स्थानिय एक महिलाले शौचालय बनाउन आफुहरु सँग जग्गा नभएको गुनासो गरिन् । उनी जस्तै बस्तीका अरुले पनि त्यही समस्या सुनाए ।
यता जलेश्वर अस्पतालमा शुक्रवारसम्म ८ जना उपचाररत रहेको छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses