विद्रोह हुन सक्ने पूर्वराजाको चेतावनी

काठमाडौं –पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीति गरिए उपेक्षितहरुमा विद्रोह जन्मिन सक्ने चेतावनी दिएका छन् । ‘हाम्रो दर्शनले हामीलाई सधैं अगाडि बढ्न निर्देशित गर्छ तर व्यवहारमा निषेधको राजनीति अघि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँछ’, बिहिबार राजधानीको बनकालीमा आयोजित अन्तराष्ट्रिय विराट हिन्दु महासम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजाले भने, ‘असन्तुलनले उपेक्षा जन्माउँछ र उपेक्षितहरुमा बिद्रोह जन्मिन सक्छ ।’

गणतन्त्र आएसँगै पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका ज्ञानेन्द्रले राजनीतिक दलहरुलाई आफूहरुलाई उपेक्षा नगर्न खुलेआम चुनौति दिए ।
उनले आजको स्थिति र हिन्दु दर्शनबीच आफूलाई राखेर हेर्न सकिएको खण्डमा यर्थाथलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुने समेत सम्बोधनका क्रममा बताए ।

‘बहुजन हिताय, बहुजन सुखाय’को मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकाल्प नभएको भन्दै ज्ञानेन्द्रले सनातनी ओमकार परिवारहरु यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुट्नु पर्नेमा जोड दिए ।

हिन्दुधर्मको दर्शन र महत्वकोबारेमा सम्बोधनको अधिकांंश समय खर्चिएका उनले हिन्दु धर्म एवम् दर्शन विश्वकै महान र उदार रहेको बताए ।

‘आध्यात्मिक जीवन पद्धति विश्वकै निम्ति अनुकरणीय छ। सनातन मान्यता, मौलिक विशेषता र आफ्नै प्रकारको उदार आस्था हिन्दु धर्मको सार हो’, ज्ञानेन्द्रले भने ।

आत्मउन्नती, परमार्थर परमपूण्य मात्र नभई धर्मले राष्ट्र, समाज एवम् सामाजिक सद्भावको आवश्यकतालाई पनि उजागर गर्ने भन्दै उनले राष्ट्रको आस्था, अखण्डता, एकता र सहिष्णुतालाई अभिबृद्धि गर्न र आन्तरिक एवम् अन्तर्राष्ट्रियकरण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
देशलाई नयाँ दर्शनको नयाँ बाटो नचाहिएको भन्दै उनले नयाँ सोच भने चाहिएको बताए ।

‘पुरानै बाटोमा हामी अघि बढौं । नयाँ दायित्व होइन तर त्यस्तो शक्ति होस् जसले भइरहेकोलाई सजिलै फैलाउन सकियोस्’, उनले भने, ‘भविष्य भनेको एउटा सेतु होस् जसमा आस्था र विकासको जरा मानविय अनुभव र आत्मियताले भरिभराउहोस् ।’

कहिल्यै पराजित नभएको नेपालमा पछिल्लो समय भने धर्म र आस्थामा क्षयीकरण हुने क्रममा रहेको उनले औंल्याए ।

उनले भने, ‘राष्ट्रको समग्र परिस्थिति र बितेका केहि वर्षको राजनीतिक गतिविधि समेतलाई दृष्टिगत गर्दा चरम बाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तब्यहीन यात्रा हाम्रा लागि अभिशास सिद्ध भएका छन् ।’

उनले यस्तो अवस्थाको सिर्जना हुनुमा को जिम्मेवार रहेको भन्दै प्रश्न समेत गरे ।

संस्कृति तथा राष्ट्रियता प्रतिको संवेदनशीलतालाई बुझेर सबै मिले अघि बढेको खण्डमा भने दिगो शान्ति, स्थिरता र स्वाभिमानको रक्षा गर्न सकिने सो अवसरमा उनले बताए ।

महासम्मेलनमा विभिन्न देशका स्वामी, सन्त महन्तलगायतको उपस्थिति रहेको थियो भने उनीहरुले नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्नेमा जोड दिए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses