बा सँगको यौन सम्पर्क कसरी चुपचाप सहन सकी मेरी दिदीले?
सदा झैं बिहानीले एक शुभ दिनको संज्ञा दिँदै थियो। म निन्द्राबाट बिउझिए पनि उठ्न अल्छी मानेर पल्टिरहेकै बेला झसङ्ग भएर उठेँ जब आमाले मेरो हरेक दिनको जिम्मेवारीको बारेमा सम्झाउँदै भन्नु भयो- ‘घाँस काट्न जानु पर्दैन? सुतेर बसी राख।’ सायद, मेरो मन त्यति बेला कुनै गहिरो सोचका ताना बुन्दै गरेको हुनुपर्छ।
स्कुल जानुभन्दा अगाडि लैनु भैंसी र एक हल गोरूलाई घाँस काट्ने जिम्मा लगभग मेरै भागमा परेको थियो। मलाई बेलुकादेखि आत्मीय मित्र झैं साथ दिएको बिछ्यौनाको न्यानोपन छोड्न मन नलागे पनि उठेर आफ्नो काम सम्हाल्नुको अर्को विकल्प थिएन। त्यसैले उठेर आमाले ठिक पारी दिएको चिया र खाजा खाएर म घाँसको डोको बोकेर खेत तिर लागेँ।
एकातिर बिहानको निन्द्रा छोड्नुको नरमाइलो र अर्कोतिर घाँस काटेर ल्याए पछि स्कुल जानु पर्ने कुराले मलाई सधैँ पिरोलिरहन्थ्यो। लाग्थ्यो, 'कहिले कहीं त मेरो घाँस काट्ने भाग अरूको भागमा परिदिएको भए पनि मेरो बिहान भरि आफ्नो मन लागेको काम गर्ने, स्कुल जाने तयारी राम्रोसँग गर्ने धोको पुरा हुन्थ्यो।’ तर सबै कुरा मान्छेले सोचेको जस्तो जीवन कसको पो हुन्छ र! आमा, सानो भाई र म, ३ जना भएको परिवारमा यो सबै अपेक्षा गर्नु व्यर्थ पनि थियो।
घरमा आमाले घर र पर को सबै काम गर्न निकै सास्ती हुन्थ्यो। तर पनि आमाले कहिले पनि ती सास्ती थकानलाई अभिव्यक्त नगरी सबै काम एक अधवैंसेले जस्तै गर्नुहुन्थ्यो। कहिले काहीं म सोच्ने गर्थेँ, ‘आमाको जस्तो मन सबैको भई दिएँ।’ त्यो मन जुन मनमा कुनै स्वार्थ छैन, न त आफ्नो जिम्मेवारीबाट पन्छिने आदत। आफ्नो मन भरि गुम्सिएका तीतापनलाई मन भित्रै थाती राखेर आफ्नो दैनिकीमा तल्लिन। सकेसम्म आफ्ना सन्तानलाई दु:ख नहोस भनेर सबै काम आफैं गरेर पनि सबैसामू केही नभएको जस्तो हँसिलो मुद्रामा प्रस्तुत हुन सक्ने कस्तो महानता। कस्तो समर्पण थियो आमाको।
घामका सुनौलो किरणले केही द्विविधाभासको संकेत दिँदै एकटकले सम्पूर्ण प्रकृतिलाई इशारा गर्दै थियो। घाँसका पालुवा र पयूँका बोटहरु पनि टक्क अडिए झैं लाग्थ्यो मानौं कुनै भयङ्कर डरको डढेलोले उनीहरुको चलायमान शक्ति खोसी स्थिर पारेको छ। म खेतमा घाँस काट्दै थिए। मेरो मन कुनै गहिरो विषयमाथि न्याय खोज्न भौंतारी रहेको थियो।
‘ओहो मेरो त स्कुल जाने बेला हुन लागेछ।’ घाँसको डोको बोकेर म घर पुग्दा भाई आँगनमा खेलिरहेको थियो। आमा भने भैंसी र गोरूलाई कुँडो खुवाउने काममा व्यस्त हुनुहुन्थ्यो। त्यत्ति नै बेला आमाले गोठबाट केही भनेको जस्तो गरे पनि उहाँको आवाज राम्रोसँग नसुनिएकोले म वास्ता नगरी घर भित्र पसेँ।
भित्र पुग्न नपाउँदै भाइले निन्याउरो स्वरमा भन्यो, ‘दिदि आज म स्कुल नजाने।’ सानो बच्चा, आफ्नो बाल संसारमा खेल्न र रमाउन पाए पछि किन स्कुल जान मन गर्थ्यो र। केही वर्षदेखि देख्दै र सुन्दै आएको घटना र परिघटनाले उसको बाल मस्तिष्कमा पनि ठुलै असर पारेको हुनुपर्छ। उसको मनमा घरका प्रत्येक सदस्यको लागि छुट्टा छुट्टै मानचित्रको सिर्जना भएको होला। जसको विकसित रुप उसको विकास र वृद्धिसँगै हामीले देख्न र भोग्न पाउने नै छौं। बिरुवा मै मलजल नगरेको वृक्षको असली फलको अपेक्षा गर्नु त कति नै बुद्धिमानी हुन्छ र!
तर सधै जसो उसलाई फकाएर स्कुल लैजानु मेरो प्रत्येक दिनको दिनचर्या नै बनेको थियो। भाइले किताबी ज्ञान जानोस् नजानोस् त्यसको कुनै पर्वाह थिएन तर उसले व्यावहारिक ज्ञान अवस्य सिकोस्। सभ्य बन्न सिकोस्, मानव बन्न सिकोस् र सबैलाई समान र सम्मान गर्न सिकोस्। मेरो भाई मात्र नभएर सबै भाई र दाईहरुले यही सिकुन्।
स्कुल जान हतार भइसकेकोले म हात मुख पनि राम्रोसँग नधोई खान खान र भाईलाई खुवाउन लागेँ। मेरो अझै आफू र भाइलाई स्कुल जाने तयारी बाँकी नै थियो। म किताब कापी झोलामा राख्दै थिएँ त्यसै बेला बाहिर पिढीमा आमा र अरू पनि कोहि बोलेको जस्तो आवाज सुनियो। सोचेँ, ‘कोही छिमेकी होलान् या बाटो हिड्ने बटुवा। कतै बाटो बिराएर आमालाई सोध्न लागेका होलान्। म आफ्नै तयारीमा अलमलिएँ।सबै तयारी सकेर झोला बोकी बाहिर निस्कँदा सुकिलो मुकिलो पोशाकमा आएका एक जना महिला र एक जना पुरुष आमासँग केही सल्लाह गर्दै थिए।
उनीहरुको वार्तालाप राम्रोसँग नबुझे पनि मैले अनुमान गर्न सक्ने थियो। उनीहरू दिदीलाई पुनर्स्थापनाबाट घर फर्काउनुपर्नेमा जोड दिँदै थिए। त्यत्तिकैमा अघिदेखि अनुत्तरित आमाको स्वर सुनियो ‘खै म के भनौं, समाज ले के भन्ला, आफन्त ले के भन्लान्?’
यसै पनि केही वर्षदेखि आमाको जीवन डढेलो लागेको वन जस्तो भएको थियो। नहोस पनि कसरी, सात जन्मसम्म सँगै साथ दिन अग्निलाई साक्षी राखी लिएको फेरोले आमालाई एकै जन्ममा कहिलै नमेटिने कलङ्क दिएको थियो। हो, बुबाको अत्याचार असह्य भएर दिदीले आफूमाथि भएको यौन हिंसाको खुलाशा गरेसँगै बुबालाई जेल र दिदिलाई कुनै सामाजिक संस्थाको शेल्टर होममा लगिएको थियो। ‘दुई वर्ष बितिसकेछ।’ यता हामी भने नितान्त एक्लिएका थियौं। बुबा र दिदीबाट मात्र नभई आफन्त र समाजबाट पनि। बेसाहारा भएका थियौं।
आफ्नै बुबासँगको जबर्जस्ती सम्बन्धका हरेक पल कस्ता थिए होलान्? कसरी कसैलाई केही नभनी चुपचाप सहन सकेकी थिई होला मेरी दिदीले? सायद, यी सबै प्रश्न हरुको जवाफ दिदीको मनमा पनि जीवन्त अनुत्तरित नै रहनेछन्। न त उसको प्रश्न सुनिदिने कोही हुनेछ न त उत्तर भनि दिने नै।
अर्कोतिर, आमाको मनमा कस्तो वज्रपात पारेको थियो होला भनेर म अनुमान मात्र लगाउन सक्छु। तर त्यो कहिलै नमेटिने चोट त आमाको मनमा ठूलो ढुंगा झैँ बसेको होला। कहिलै नफुट्ने गरि। अनि दिदीले आफ्नो जीवन कसरि व्यतित गरिरहेकी होलि र आफ्नो जीवन र भविश्यबारे के सोची रहेकी होली? खुकुरीको चोट त अचानोलाई भन्दा बढी कसलाई नै थाहा हुन्छ र। जुन समाजमा जन्मी हुर्कियो त्यही समाजमा घृणा र उपहासको पात्र मेरी दिदीले कहिले पनि बन्नु नपरोस्।
तर हाम्रो आदिम कालदेखि जरा गाडेर बसेको वैरभावी सोंच र विचारधारालाई निमिट्यान्न पार्ने काम कहिले र कसले गर्ने? त्यस्तो नगरेकै कारण दिदी शेल्टर होम र बुबालाई त्यही शेल्टर होममा काम गर्ने अधिकारकर्मीको पहलमा सजाय दिलाए पनि यता छर छिमेकले दिदी कै विरुद्धमा कुरा काट्न कुनै कसर बाँकि राखेका छैनन्। पीडित महिला भएकै कारण दिदीले दोहोरो मारमा पर्नु परेको छ। ‘चाहे जसले जे गरे पनि महिला दोषी हुन्छन रे यहाँ।’
ती अपरिचितसँगको सवालले अब आमा द्विविधामा पर्नुभयो। आफूले जन्म दिएकी छोरीलाई पनि अब सँगै राख्न समाजको अनुमति लिनुपर्ने भयो। सायद, आमाको गर्भमा दिदी हुँदा समाजले केही भनेन, जन्मेर हुर्काउँदा पनि केही भनेन। तर जब दिदी र बुबाको सम्वन्धको सवाल उठ्यो तब समाजले बुबालाई होइन दिदीमाथि नै दोष थुपार्न लाग्यो। कस्तो बिडम्बना, अनि सचेत समाजका पनि हामी कति अचेत नागरिक। पीडकलाई दिनु पर्ने दोष र सजायंको भागीदार पनि पीडित नै हुनु पर्ने कस्तो सामाजिक न्याय...स्रोत : सेतो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses