प्रधानमन्त्री प्रचण्डलाई खुलापत्र
सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार ! तपाईं सन्चै हुनुहुन्छ भन्ने आशा गर्दछु र स्वस्थताको कामना पनि गर्दछु । तर तपाईं जतिसुकै खुसी भए पनि देश विसन्चो र नाजुक स्थितिमा पुगेको जानकारी गराउँछु । तर तपाईंहरु देश विदेश शयर गर्दागर्दै दसौँ वर्ष बिताइदिनु भएको छ । यसरी देश अधोगतितिर लागेकोमा हामी नागरिकलाई चिन्ता छ । प्रधानमन्त्रीज्यू तपाईंसँग अलौकिक क्षमता रहेछ । एकै छिनमा अनुहारको रङ फेर्नु हुन्छ । भावुक हुनुहुन्छ, एकै छिनमा हाँस्नु हुन्छ । जनताको पीडा तपार्इंहरु जस्तो महलमा बस्नेलाई के थाहा । हेलिकप्टरबाट भूकम्प पीडितलाई राहत वितरण गर्नेभन्दा गर्वले छाती ढक्क फुलेको थियो । बुरुकबुरुक उफ्रिन मन लागेको थियो । तर ती सबै कुरामा सीमित भयो । शहरतिर के कति बाड्नुभयो ? पहाडमा तपाईंको राहत आउला भनेर बस्नेहरु पर्खाइमा थाके । पीडितहरु चिसो तातो नभनी जसोतसो बाँचेकै छन् । तपाईं सरकार प्रमुख भएपछि अनुगमन टोली बनाउनुभएको थियो । भूकम्पको राहतमा आएका टेन्टले मन्त्रीहरुको गाडी छोपिएको देखियो । तपाईंहरु लाचारी भएर टुलुटुल हेरिरहनु भयो अनि मीठा मीठा भाषण दिनुभयो, जनता भने आश गर्दै बसिरहे । अब राहत कति पुग्यो, कतिले राहत पाए भनेर तपाईं नसोध्नुस् । भूकम्प ग्रसित क्षेत्रका जनता कति मरे, कति जिवित छन् त्यसको रेकर्ड अनुसार आफ्ना कार्यकर्तालाई जागिर दिनुहोला । जनयुद्धको समयमा यहाँले हामीजस्ता गरिब, मनकारी व्यक्तिलाई चिन्नुहुन्थ्यो । तर अहिले ती अनुहार ठम्याउन सक्नु हुन्न । किनभने तपार्इं अहिले शिखरको चुचुरोमा पुगिसक्नुभएको छ । हिजो जनयुद्धकालमा गरिबको घरमा खाएको गुन्द्रुक र ढिँडोको ऋणको भार चुक्ता गर्न पनि सक्नुभएन । जनयुद्ध कालमा आफ्नो ज्यान खुकुरीको धारमा राखेर पाल्ने ती गरिब निमुखा जनतालाई कसरी सजिलै बिर्सिन सक्नुभयो । तपाईंहरुका कार्यकर्ता आएपछि खानपानदेखि सुरक्षा र बास्थान दिने जनताले त्यतिबेला माओवादीलाई बस्न दिएको भन्दै सुरक्षा फौजले हातपात र अपमान गरेका घटना जनतामा अझै ताजै छन् । यस क्रममा कतिलाई आतङ्ककारी भनेर सर्वसाधरणलाई पनि गोली ठोके । यी दुःख जनताले अझै बेहोर्नु परिरहेको छ । यी सबै कुराको लेखाजोखा तपाईंले गर्नुपर्छ । जनयुद्धको सुप्रिम कमान्डरका नाताले त्यसको जिम्मेवारी तपाईंले लिनुपर्छ । अहिले गाउँघरतिर रक्सीभट्टी, चिया पसलमा तपाईंको खुब चर्चा गर्छन् । कतिले तपईंले गरेको सकारात्मक परिवर्तनका बरेमा चर्चा गर्छन् त कतिले जनयुद्धको नाममा सङ्कलन गरेको रर्बौंको कालोधन स्विस बैङ्कमा जम्मा गरेको छ भन्छन् । कति साँचो हो र कति झुटो हो, त्यो त हजुर आफै नै जान्नुहोला । यस्ता आरोबाट कहिल्यै हार खानुहुन्न भन्नेहरु पनि छन् । केही समय अगाडि यहाँ हेलिकप्टर लिएर दोलखा ध्याङसुकठोर अर्थात मेरो गृह जिल्लामा गुम्बा उद्घाटन गर्न पुग्नुभएको थियो । म यो कुराले अत्यन्त खुसी भएको थिएँ । प्रधानमन्त्रीको भ्रमणले केही सकरात्मक कुराहरुको सम्बोधन होला भन्ने आसा पनि गरेको थिएँ । तर त्यहाँ पनि चिल्ला कुरा सुन्नुबाहेक केही भएन । समृद्ध नेपाल बनाउने सपना बाँडेर हिँड्नुभएछ । त्यहाँ तपाईंलाई हेर्न र स्वागत गर्न दुधे बालकदेखि सय वर्षसम्मका वृद्धाहरु उपस्थिति थियो । पञ्चनब्बे वर्षकी मेरी हजुरआमा पनि स्वागतका लागि फूलमाला लिएर आउनुभएको थियो । तर उहाँहरुले के पाउनुभयो जनयुद्ध अघि र गणतन्त्रपछिको नेपालमा ? जनयुद्धकालमा क्षति भएका भवनहरु मसानघाट जस्ता छन् । गाविस भवन, बैङ्कका भवन, प्रहरी चौकी आदि सबै गाई बाँध्ने गोठ र कुखुरा पाल्ने खोरमा परिणत भएका छन् । जनयुद्धभन्दा अगाडि आधा घण्टाको पैदल हिँडेपछि बैङ्क सेवा लिन सकिन्थ्यो । अहिले बसमा जाँदा तीन घण्टा लाग्छ, पैदल हिँड्नु परे पन्ध्र घण्टा जति लाग्छ । आखिर केका लागि थियो जनयुद्ध ? तपाईंलाई हेर्न ती बालकदेखि वृद्धा त्यतिकै आएका थिएनन्, तपाईंबाट उनीले धेरै अपेक्षा गरेका थिए । तपाईं जस्ता शीर्ष नेताबाट आशा राख्नु स्वभाविक नै हो । किनकि तपाईं र तपाईंको पार्टीको आह्वानमा भएको जनयुद्धमा उनीहरुले जागिरे छोरा गुमाए, दुधे बालकहरु टुहुरा भए, कति दिदीबहिनीहरुको सिउँदो पुछिएको थियो । हिजो काङ्ग्रेस एमालेले रजाइँ गरेर देश बर्बाद बनाए । देशमा भएका प्राकृतिक स्रोत साधन कौडीको मोलमा बेचेयो । देशका कलकारखाना निजीकरण गर्दै पूर्ण रुपमै बन्द गरे । देशलाई परनिर्भर बनाए । बेला बेलामा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा तपाईं यस्तै भनिरहनु हुन्थ्यो । नेपाललाई हङ्ककङ, स्वजरल्यान्ड, चाइना अमेरिका बनाउने सपना देख्नुहुन्छ तर देश अफ्रिका हाइटी भइसकेको स्थिति अझै बुझ पचाउनु हुन्छ । तपाईंका कार्यकर्ता जुन जनयुद्धमा परेका थिए । घाइते भएका थिए आज पनि तपाईंको पार्टी र तपाईंलाई सम्झिरहेका छन् । अहिले एकीकृत माओवादी प्रचण्ड, बाबुराम, किरण, विप्लव विभिन्न पार्टीमा टुक्राटुक्रा भई विभाजन भएको छ । यसले के देखाउँछ भने तपाईंहरुको व्यक्तिगत स्वार्थका कारण देश बीसौँ वर्ष पछाडि धकेलिएको छ । समृद्धिको कुरा गर्दा देशमा भएका उघोगधन्दा प्रायः बन्द भएका छन् । बाँकी भएका उद्योगमा पनि कार्यकर्ता भर्तीकेन्द्र भएका छन् । त्यस्ता कलकारखानामा राजनीतिक आडमा विभिन्न हड्तालले बन्द हुने अवस्थामा पुगेका छन् । प्रधानमन्त्रीज्यू तपाईंमाथि नेपाली जनताले ठूलो लगानी गरेका छन् । त्यसैले जनताले तपाईबाट धेरै आशा गरेका छन् । देशमा कसैले जनताका लागि केही गर्छ भने प्रचण्ड र उनको नेतृत्वले गर्छ भन्छन् । तर ददुर्भाग्य, दुईपटक सत्तामा पुग्दा पनि केही हुन सकेन । अब जनतालाई कसरी विश्वास दिलाउनु हुन्छ ? सर्वसाधारणलाई कसरी न्याय गर्नुुहुन्छ ? पीडितको आँशुको मोल कसरी तिर्नु हुन्छ ? दोस्रो पटक प्रधानमन्त्री बन्नुभएको छ । अझै पनि जनताले आशा मारेका छैनन् । जनताले रोपेको फल टिप्ने बेला भएकाले जनताले आशा गर्नु जायज छ । यसपटक पनि केही गर्न सक्नुभएन भने हामीले कोबाट अपेक्षा गर्ने ? प्रचण्ड आफैमा प्रचण्ड हैन जनताको साथ र सहयोगले बनेको प्रचण्ड हो । अब पनि जनताले चाहेजस्तो प्रणाली र पद्धति आएन भने कहिल्यै आउने छैन । काम गर्न साहस गर्नुस्, जनतासँग खाएको वाचा पूरा गर्नुस् । त्यसैले कुरा हैन काम गरेर देखाउनुस् प्रधानमन्त्रीज्यू ।स्रोत : रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses