गगन थापालाई पत्र : म बाँचु कि मरौँ मन्त्रीज्यू ? (भिडियो सहित)

मिति–२०७३ फागुन ८ गते
माननीय स्वास्थ्य मन्त्री गगन थापाज्यू
सादर नमस्कार
तपाई आराम हुनुहुन्छ होला र कुशलताको कामना गर्दछु । म तपाईले नचिनेको सल्यानको एउटा किसान हुँ । मेरो नाम कृष्णबहादुर बुढामगर हो । मेरो घर सल्यान जिल्लाको कालागाँउ, वडा नं ९ मा पर्छ । मन्त्रीज्यू, मैले पनि तपाईलाई प्रत्यक्ष देख्न पाएको छैन् । पत्रिकामा र टिभीमा मात्र देखेको हुँ । देख–भेट नभएपनि तपाई हामी सबैको साझा मन्त्री हुनुहुन्छ । त्यसैले आफ्नो देशको मन्त्रीलाई ठूलो विपत आइलागेकाले पहिलोपटक पत्र लेख्दैछु । यतिबेला म आफ्नी प्राणप्यारी श्रीमती मनमाया बुढामगरका साथ काठमाडौंको सिभिल अस्पतालमा छटपटाइरहेको छु ।उनी अहिले ३२ बर्षकी भईन् । डाक्टरका अनुसार उनको बोनम्यारो बिग्रिएको छ रे । फेर्नुपर्छ भनेका छन् । इन्जेक्सन दिएर फेर्न १० लाख लाग्छ रे, अप्रेशन गरेर फेर्दा १५ लाख लाग्छ रे ।हामीजस्ता दुई छाक खान नसक्ने सामान्य हैसियतका मानिसलाई रोगब्याधीले नसताए हुन्थ्यो नी । तर के गर्नु दैव हामीमाथि नै लाग्दो रहेछ ।हामी सल्यानका बाँझा डाँडा–पाखाका कुटो कोदालो गरेर ३ बच्चालाई पाल्दै, गाँउमा खोले सिस्नु खाएर आनन्दले दुःख सुख बसेका थियौँ । खर्चको अभाव टार्न, बच्चाबच्ची पढाउनका लागि बर्षमा तीन÷चार महिना भारतमा गएर भारी बोक्ने गरेको छु । खेतीपातीबाट ४ महिना भन्दा बढी खान पुग्दैन ।उनी बिरामी भएको ४ महिना भयो । डाक्टरले ढाडको हड्डीभित्र मासी छैन्, बदल्नुपर्छ भनेका छन् ।शुरुमा उनको नाकबाट निरन्तर रुपमा रगत जाने गरेको थियो । आर्थिक अभाव थियो, उपचार गराउन सकिएन् । पछि हात, गोडा, जिउ सबै पहेँलो हुन् थाल्यो । रुकुम अस्पतालमा उपचार गराउन लगियो । अस्पतालले यहाँ सकिँदैन नेपालगञ्ज लैजाउ भन्यो । त्यसपछि नेपालगञ्ज ल्याइयो, त्यहाँपनि उपचार हुन् सकेन । नेपालगञ्ज अस्पतालमा पाँच पोका सेतो र रातो रगत चढाइयो, त्यहाँ बिरामीलाई रेगुलर रगत चढाइरहनुपर्छ, काठमाडौं लैजाउ भन्यो । पछि पनि रगत चढाँउनुपर्छ भनेर दुई पोका रातो र ४ पोका सेतो रगत चढाइँयो ।त्यसपछि काठमाडौं आएर वीर अस्पतालमा देखाइयो । वीर अस्पतालले पनि नसकेर सिभिल अस्पतालमा पठाइदिएको छ ।हामी काठमाडौं आएको डेढ महिना भइसक्यो । अहिले हामी गेष्ट हाउसमा बसिरहेका छौँ । खान बस्न मात्रै दिनको ९ सय देखि हजार रुपैयाँ लाग्ने गरेको छ । अहिलेसम्म ऋण गरेको ५ लाख रुपैयाँ खर्च भइसक्यो । बुवा र दाईले गाँउबाट ऋण गरेर पैसा पठाइरहनुभएको छ ।हाम्रा १२ बर्षको एक छोरा, १० र ४ बर्षका दुई छन् । घरमा बुद्ध बा र सानीआमा हुनुहुन्छ । कान्छी छोरी मावल पठाएको छ । दाजुले छोरा छोरी हेरीदिनुभएको छ ।अब गाँउमा ऋण माग्ने ठाँउ पनि सकियो, पैसा आउने संभावना छैन् । ऋण कसरी तिर्ने अर्को तनाव छ । अप्रेशन गर्न १५ लाख मैले कहाँबाट जुटाउनु ? यती धेरै पैसा मेरो कल्पना भन्दा पनि निकै परको रकम हो । औषधी उपचार गर्ने खर्च नभएकोले घरतिर फर्किनुबाहेक अरु कुनै विकल्प छ्रैन् ।म एउटा सर्वसाधारण नागरिक हुँ, म कुनै राजनीतिक दलमा लागेको छैन् । राजनीतिक पार्टीमा लाग्नेहरुलाई त जुन पार्टीको हो त्यसले सहयोग गर्छ भन्ने सुनेको छु । तर मलाई सहयोग गर्ने कोही पनि छैन् । नेपाल सरकारले केही सहयोग गरिदिए हुन्थ्यो ।कसले आफ्नी श्रीमतीले उपचार अभावमा मृत्युवरण गरेको हेर्नसक्छ र ? तर मन्त्रीज्यू म त्यस्तो विवस लोग्ने बनेको छु, उनको उपचार गराउने मैले कुनै बाटो भेट्न सकेको छैन् । अब मेरो अन्तिम आशा नै तपाई भएकोले यो पत्र लेखेको छु ।
उही तपाईको जनता
कृष्णबहादुर बुढामगर, सल्यान, कालागाँउ ९,
हाल सिभिल अस्पताल, बानेश्वर काठमाडौं ।पूर्ण विवरण तलको लिंकमा क्लिक गरि भिडियोमा हेर्नुहोस
<<‘म बाँचु कि मरौँ मन्त्रीज्यू ?>>

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , , ,

0 comments

Write Down Your Responses