एसएसपीलाई नै हतकडी लगाउने डीआइजी सिलवालका १७ वटा चर्चित घटना यस्ता छन्
नेपाल प्रहरीको रोलक्रमअनुसार भावी आइजीपीका रुपमा हेरिएका छन्, डीआइजी नवराज सिलवाल । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) का प्रमुख समेत रहेका उनी प्रहरी संगठनभित्रै ‘हिरो’ छन् । अपराध अनुसन्धानमा पोख्त मानिएका सिलवाल अहिले सुन काण्डमा मुछिएका आफ्नै सहकर्मी एसएसपीलाई हतकडी लगाएर चर्चामा शिखरमा छन् । उनले सीआइबीको नेतृत्व गरेपछि प्रहरीले हासिल गरेको उपलब्धिलाई दैनिक नेपालले खोतल्ने प्रयत्न गरेको छ । उनको सफलता उनकै शब्दमाः
एसएसपीलाई नै हतकडी
पछिल्लो समय नेपालमा सुन तस्कर निकै बढ्यो । झन् काठमाडौंमा अन्तर्राष्ट्रिय बिमानस्थलबाटै ३३ किलो सुन तस्करी व्यापक भएपछि संसदमा समेत त्यो विषयले चर्को स्थान पाएको थियो । प्रहरीमाथि निकै दवाव पनि परेको थियो ।
प्रहरीले जहिले पनि सुन तस्करमा प्रयोग भएका भरियाहरुलई मात्रै पक्रने गरेको आरोप लाग्दै आएको थियो । तर, प्रहरीले आफ्नो अनुसन्धान जारी राखेको थियो । विदेशबाट ठूलो परिमाणमा आउने सुन प्रहरीका केही अधिकृत र कर्मचारीकै मिलेमतोमा नेपाल भित्रिरहेको छ भन्ने सूचना हामीले पाएका थियौं ।
सोही अनुसार मैले अनुसन्धान व्यूरोबाटै एसपी मिरा चौधरीको नेतृत्वमा छुट्टै टोली निर्माण गरेर सुन तस्करको निगरानी गर्न खटाएँ । अनुसन्धानकै क्रममा अहिले पक्राउ परेका एसएसपी श्याम खत्रीनै त्यसको शंकामा परे ।पछि उनलाई हेडक्वाटरमा तानियो । अहिले सम्पूर्ण प्रमाणहरु जुटाएर हेडक्वाटरबाटै पक्राउ गरेका छौं । उनीमाथि अहिले जिल्ला अदालतले अनुसन्धानका लागि चार दिन थानामा राख्ने आदेश दिएको छ ।अझैपनि प्रहरीकै अधिकृत लेभलका व्यक्ति र कर्मचारी यसमा संलग्न भएको पाएका छौं । उनीहरुमाथि पनि हामीले अनुसन्धान गरिरहेका छौं । उनीहरुलाई पनि पक्राउ गर्ने काम जारी रहने छ ।
सेतो कपडामा, कालो धन्दा
देशका विभिन्न ठाउँमा नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु पनि स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा छन् भन्ने सूचना प्राप्त भयो । त्यही सूचनाका आधारमा मलाई यो समस्या समाधान गर्नुपर्छ भन्ने लाग्यो ।हामीले नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकलाई प्रक्राउ गर्न ‘अपरेशन क्वाक’ सञ्चालन गर्योँ । यो ‘अपरेशन क्वाक’ अन्तर्गत देशका विभिन्न ठाउँबाट नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सकहरु धमाधाम पक्राउ हुन थाले । यसले सफलता प्राप्त गर्दै गयो । गत वर्ष २०७२ माघदेखि सुरु गरेको यस अभियानका क्रममा २०७३ असारसम्ममा ५८ जना नक्कली प्रमाणपत्रधारी चिकित्सकहरुलाई पक्राउ गर्न हामी सफल भयौं ।अझै पनि यस कार्यमा निरन्तर निग्रानी तथा अनुसन्धान भइरहेको छ । मैले यो ‘अपरेशन क्वाक’ सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको नै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा देखिएका विकृति तथा ठगीजन्य क्रियाकलापहरू नियन्त्रण गर्नु नै हो ।नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू मात्रै भेटिएनन् । अन्य चिकित्सकको एनएमसी दर्ता नं. प्रयोग गरी चिकित्सकीय सेवा प्रदान गर्नेहरुलाई पनि हामीले पक्राउ ग¥यौं । यी दुबै बिरूद्ध शिक्षा ऐन अन्तर्गतको मुद्दा दर्ता गरिएको छ ।सरकारको अधिनमा रही हामीले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्संग पनि समन्वय गर्ने कार्य गरेका थियौं । जसले गर्दा अभियान थप प्रभावकारी भयो । नागरिकमा परेको असर र आगामी दिनहरुमा चिकित्सा क्षेत्रमा हुन सक्ने विकृति हटाउन र सुरक्षित स्वास्थ्य क्षेत्रको निर्माण गर्न यो अभियानले महत्वूपर्ण भूमिका खेलेको छ ।
नक्कली पाइलट
विश्वमा धेरै विमान दुर्घटना हुने देशमा नेपाल पनि पर्छ । त्यसका थुप्रै कारणहरु हुन सक्छन् । कतिपय अवस्थामा विमान चालकको पनि कमजोरी देखिएका छन् । विमानहरु दुर्घटना भइरहेका बेला नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी विमान चालक भएका व्यक्तिहरु नेपाल वायु सेवामा छन् भन्ने सूचना मलाई प्राप्त भयो ।त्यही सूचनालाई आधार मानी नेपाल नागरिक उड्यन प्राधिकरणसंग समन्वय गरेर हामीले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेँ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरि विमान चालक भएकाहरुलाई पक्राउ गर्न नै मैले ‘अपरेशन ह्वाक’ सञ्चालन गरेका हौँ ।यो अपरेशनले पनि सफलता प्राप्त गर्दै गयो । यसक्रममा विभिन्न मितिमा विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी वायु सेवामा कार्यरत विमान चालक तथा तिनलाई सहयोग गर्ने व्यक्तिहरु पक्राउ परे ।साथै नक्कली प्रमाणपत्र बनाउन सहयोग गर्ने व्यक्तिलाई समेत कानुनी कठघरामा उभ्याउन सफल भइयो । यसक्रममा नक्कली प्रमाण पत्र पेश गरी पाइलोट कोर्स पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत इजाजत पत्र प्राप्त गरेका दुई जना पक्राउ गरेको थिएँ ।
कल वाइपास धन्दा
नेपालमा कल बाइपास गर्ने कार्यमा पटक–पटक देशी दता विदेशी व्यक्तिहरु पक्राउ पर्दै आएका छन् । हामीले कल बाइपासलाई नियन्त्रण गर्नका लागि ‘अपरेशन भ्वाइस फक्स’ सञ्चालनलाई प्रभावकारी बनायौँ ।
कल बाइपासमा संलग्न राष्ट्रिय तथा अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने सोच मैले बनाएँ । सोही अनुसार अबैध कल बाईपास गर्ने राष्ट्रिय अन्तराष्ट्रिय गिरोहलाई कानुनी दायरामा ल्याउने सिलसिलामा काठमाण्डौ उपत्यका लगायत बाहिरका विभिन्न जिल्लाहरुमा संचालनमा रहेका अवैध कल बाईपास सेन्टरमा छापामार्न मातहतका निकायलाई निर्देशन दिएँ ।यस ‘अपरेशन भ्वाइस फक्स’ अन्तर्गत अवैध कल बाइपास विरुद्ध ब्यूरोबाट हालसम्म ९४ स्थानहरु गरेको कारवाहीमा ११० जना नेपाली र ३१ जना विदेशी गरी १४१ जनालाई पक्राउ परेका छन् । कल बाइपासमा संलग्न यति धेरै व्यक्ति पक्राउ हुनु उपलब्धी हो । उनीहरु विरुद्ध अदालतमा मुद्दा समेत दायर गरिएको छ । प्रतिवादीहरु विरुद्ध ११ अर्ब ६८ करोड ३८ लाख १८ हजार ८७४ को बिगो मागदाबी पनि गरिएको छ ।
यो अभियान अन्तर्गत एकै व्यक्तिले विभिन्न ठाउँमा अबैध कल बाइपास सञ्चालन गरेको पनि पाइएको छ । यस कार्यमा एउटै व्यक्ति पटक पटक कल बाइपासमा संलग्न भएको पनि अनुसन्धानका क्रममा भेटिएको छ । हामीले अबैध कलमा प्रयोग हुने नेपाल दुर सञ्चार कम्पनीका २२ हजार १३६ सीमकार्डहरु र आधुनिक उपकरणहरु समेत बरामद गरेका छौं । मैले यो कार्यलाई अझै ध्यान दिइरहेको छु ।
चोर्नका लागि युरोपदेखि नेपालसम्म
एटीएम कार्ड ठगी कार्य भइरहेको छ भन्ने सूचनाको आधारमा मैले यसलाई रोक्न योजना बनाएँ । विभिन्न मध्यमबाट अनुसन्धान गर्नेक्रममा यसै वर्ष साउन महिनामा एटिएम कार्ड ठगिमा संलग्न रोमानिया नागरिकलाई लाजिम्पाटको एक होटलबाट पक्राउ ग¥यौं । उनी र होटलको खानतलासी गर्दा उनीबाट एटिएम कार्ड, रकम, ल्यापटप लगायत बरामद ग¥यौं । उनले विभिन्न देशहरुबाट एटिएमबाट रकम ठगी गरेको पाइयो । त्यसपछि एटिएम कार्ड ठगीको रहस्य खुल्यो ।
यसक्रममा विभिन्न मितिमा पाँच जना विदेशी नागरिकलाई हामीले कागजात सहित पक्राउ ग¥यौं । यस कार्यमा संलग्न भएका विदेशी नागरिकहरुबाट सीम कार्ड, विभिन्न व्यक्तिहरुका एटिएम कार्ड र ल्यापटप बरामद गरेका छौं । जसको माध्यमबाट हामीले विदेशी नागरिकहरुले नेपालमा आएर गर्ने एटिएम कार्ड ठगीको बारेमा थप जानकारी पाएका थियौं ।
एटिएम ठगी गरेर बैंक खाताबाट रकम झिक्ने कार्य गर्नका लागि यस कार्यमा संलग्न केही विदेशी नागरिकहरु पटक–पटक नेपाल आएको तथ्य पनि खुल्यो । त्यसपश्चात यस कार्यमा संलग्न विभिन्न समुहहरुलाई पक्राउ गरि बैंकिङ कसुर सजाय ऐन अन्तर्गत कार्वाही समेत गरेका छौं ।
एटिएम कार्ड ठगीमा विशेषगरी पूर्वी युरोपेली मुलुक टर्की, बुलगेरिया तथा रोमानियाका नागरिकहरु संलग्न भएको हामीले पायौं । उनीहरु अत्याधुनिक कार्ड स्किमिङ डिभाइस, हिडेन क्यामरा प्रणाली, व्ल्यांक कार्ड तथा कार्ड राइटर लगायतका उपकरणहरु साथैमा लिई पर्यटक भिषामा नेपाल आउने गरेको तथ्य पनि भेटियो । उनीहरु एटिएम सेक्यूरेटी कमजोर भएका देशहरुमा गएर यस्तो क्रियाकलापमा संलग्न हुने गरेको पनि भेटियो ।
किर्ते कागजमा विदेश पठाउनेहरु जेलमा
मैले केन्द्रीय अनुसन्धान व्युरो प्रमुखको जिम्मेवारी सम्हाली सकेपछि विशेष गरि अन्य थुप्रै अपराधिक क्रियाकलापहरु पनि नियन्त्रण भएका छन् । आफ्नो जिम्मेवारीलाई कसरी उपलब्धिमुलक बनाउन सकिन्छ र सफलता प्राप्त गर्न सकिन्छ भन्ने बारेमा मेरो बढी ध्यान जान्छ ।
मैले अनुसन्धानकै क्रममा सरकारी कागज किर्ते गरी अनुचित क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई पनि पक्राउ गरेर कानुनी कठघरामा उभ्याएको छु । किर्ते कागज बनाई विदेश लैजाने कार्यको पनि मैले पर्दाफास गरेको छु । विभिन्न विशिष्ट व्यक्ति तथा सांसदहरुको विदेश भ्रमण सम्बन्धि कार्यमा असन्वन्धित व्यक्तिहरुबाट अनुचित आर्थिक लाभ लिई सहयोगीको रुपमा किर्ते कागज बनाएर विदेश लैजाने कार्य भइरहेको रहेछ । उनीहरुलाई मैले अदालतमै पेश गरेँ ।
२० बर्ष भाग्दा हत्याराहरुले पनि सुख पाएनन्
अदालतबाट सजाय सुनाइएका तर, सजाय भुक्तानी नगरेर फारर रहेका कैयौं फरार प्रतिबादीलाई पनि पक्राउ पार्न हामी सफल भएको छौँ । वषौं अघिदेखि अनुुसन्धान व्युरोमा थन्किएर कार्वाही नभएका फाइलहरु पल्टाएर मैले लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको छु । जस्तैः
जबरजस्तीकरणीपछि महिलाको हत्या गर्ने २० वर्षपछि पक्राउ
२० वर्षअघि २०५३ सालमा महिलालाई जबरजस्तीकरणी गर्ने र पछि हत्या गर्ने अभियुक्तलाई पक्राउ परेका छन् । बाराको डुमरवाना गाविस–६ खोरगाउँ घर भएका ५० वर्षीय प्रेमबहादुर बुढाथोकी पक्राउ परेका छन् ।उनले २०५२/५३ सालमा ६ जना महिलाको जबरजस्ती गरी हत्या गरेका थिए पनि अन्य ३२ जना महिलालाई जबरजस्तीकरणी गरेका थिए । हामीले त्यो व्यक्तिलाई भारतको नयाँ दिल्लीमा बसिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेर अनुसन्धान र कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्वरीमा बुझायौं ।
लागूऔषध मुद्दाका फरार अभियूक्त १५ वर्षपछि पक्राउ
केही दिनअघि मात्रै १५ वर्षअघि लागूऔषध मुद्दामा सजाय सुनाइएका फरार प्रतिबादी लमजुङ्ग ढोडेनी वडा नम्बर २ का ७१ वर्षीय गजबहादुर गुरुङलाई पक्राउ गरेका छौं । लागुऔषध मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले २०५८ साल फाल्गुन २१ गते १५ बर्ष कैद र रु. ५ लाख जरीवानाको फैसलाले सुनाइएको थियो । फैसला कार्यान्वयन तथा कैद भुक्तानको लागि उनलाई केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइसकेका छौं ।
दुई दशकदेखि फरार रहका कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ
झुट्टा विवरणको आधारमा बास्तविक नाम ढाँटी २१ वर्ष पुरानो कर्तज्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पनि पक्राउ गरेका छौं । यो मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका हुन् । मनाङ ङामल गाविस ७ घर भई हाल काठमाण्डौं महानगरपालिका १६ बस्ने सण्डुप घले, टाँसी गुरुङलाई गत वर्षको चैत्र महिनामा पक्राउ गरिएको हो ।
उनीहरुले २१ वर्षअघि २०५२ असोज २७ गते दुई जना इटालियन महिलामाथि आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र संगै रहेका इटालिन पुरुषलाई छुरा हानी हत्या गरेका थिए । अभियूक्त दुवै जनालाई अदालतको आदेशमा थुनामा पठाइएको छ ।त्यस्तै, १५ वर्षअघि हत्यामा संलग्न मुख्य अभियुक्त रामेछाप खनियापानीका विवेक दानबहादुर तामाङलाई पनि पक्राउ गरेर अदालत बुझाएका छौं । विवेकको नेतृत्वमा २०५८ सालमा भक्तपुरमा एक जनाको चच्कु हानेर हत्या गरेको थियो ।
त्यस्तै, कर्तज्य ज्यान मुद्दामा १३ वर्षअघि फरार अभियुक्त काठमाण्डौं महानगरपालिका वडा नम्बर ६ बस्ने श्रीबिर लामा, सोही ठाउँ बस्ते देवराज लामा र राकेश लामालाई पनि हामी पक्राउ गर्न सफल भएका छौं । उनीहरुले २०६० सालमा बदलाको भावना लिएर होली खेल्ने निहुँमा धारीलो हतियार प्रयोग गरेर हत्या गरेका थिए ।
शरीर बन्धकमा संलग्न व्यक्ति पक्राउ
अपहरण तथा शरीर बन्धकमा संलग्न भएका व्यक्तिहरुलाई पनि पक्राउ गरी कार्वाही प्रक्रियामा ल्याएको छु । तनहु घर भएका ३७ वर्षीय भोजबहादुर थापा अपहरण र शरीर बन्दक गरि क्युरियो सामानको संग्रह गरेको कुसुरमा गत भदौ महिनामा पोखराबाट पक्राउ परेका हुन् । यस कार्यमा संलग्न उनी सहित सात जनालाई यसअघि नै पक्राउ गरिसकेका थियौं ।
उनीहरुले तान्त्रिक विधिद्वारा हड्डी जगाई चमत्कारिक तरिकाले आर्थिक लाभ प्राप्त गर्न १६ वर्षीय युवतीको बली दिने योजना सहित एक युवतीलाई बन्धक बनाएका थिए । तर, बन्धक राखिएको ठाउँबाट युवती भने फरार भएकी थिएन् ।
विदेशी विनिमय मुद्राका प्रतिवादी पक्राउ
बैदेशिक मुद्रा अपचलन गर्ने एक व्यापारीलाई पनि हामीले गत वर्षको फागुनमा पक्राउ गरे कानुनी कठघरामा उभ्याएका छौं । यस कार्यमा संलग्न पर्सा घर भई काठमाण्डौंको सामाखुशीमा व्यापार गर्दै आएका पदमबहादुर राउत पक्राउ परेका छन् । उनले तातोपानी नाका हुँदै सामान ल्याउने नाममा भन्सार कार्यालयको नक्कली कागजात बनाई विभिन्न बैंकबाट रुपैयाँ निकाले ३ करोड ३४ लाख ६० हजार २३८ रुपैयाँ अपचलन गरेका थिए । उनलाई विदेशी मुद्दा विनिमय ऐन २०१९ बमोजिमको कसुर ठहर गर्दै काठमाण्डौं जिल्ला अदालतले जरिवाना सहित कैद सजाय सुनाएको छ ।
बैंकिङ कुसुरका अभियुक्त पक्राउ
अनुसन्धानकै क्रममा मैले लामो समयदेखि बैंङ्गिक कसुरमा संलग्न रहको व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । किर्ते कागजजात बनाएर विभिन्न बैंकहरुबाट कर्जा लिने फरार भएका छ जना विभिन्न मितिमा पक्राउ परेका छन् । यस कार्यमा बनेपा प्रधान कार्यालय रहेको पशुपति विकास बैंकका कर्मचारीहरु पनि संलग्न भएका थिए । पक्राउ भएका सबैलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार कार्वाही पनि भएको छ ।
बाल यौन दुराचारी पक्राउ
अनुसन्धानकै क्रममा हामीले बाल यौन दुराचारीलाई पनि पक्राउ गरेका छौं । बाल यौन दुराचारीको सुक्ष्म रुपमा अध्ययन गर्ने क्रममा प्राप्त गोप्य सूचनाका आधारमा काठमाण्डौं ठमेलस्थित एक होटलबाट गत भदौमा एक अमेरिकी नागरिक र उनका सहयोगी एक नेपाली युवकलाई पक्राउ गरेका थियौं । उनीहरुबाट पाँच जना बालकहरुलाई पनि उद्दार गरेका थियौं । उनीहरुलाई मानव बेचविखन तथा ओसार पसार र बाल यौन दुराचार मुद्दा अन्तर्गत कार्वाही भइरहेको छ ।
नक्कली जग्गाधनीको संगठित गिरोह पक्राउ
नक्कली जग्गाधनी बनी जग्गा विक्री गर्ने गिरोह पनि पक्राउ परेको छ । किर्ते कागजात बनाई जग्गा आफ्नो नाममा बनाउने र दोस्रो व्यक्तिलाई विक्री गरेर ठगी गर्ने तीन जनालाई हामीले यसै वर्ष पक्राउ गरेका छौं । २०६६ देखि यस्तो कार्यमा लागिरहेका गिरोहका अन्य व्यक्तिहरुलाई पनि खोजी गर्ने कार्य अझै जारी छ । उनीहरुले करोडौं रकम ठगी गरेको पाइएको छ । उनीहरुमाथि अझै अनुसन्धान भइरहेको छ ।
नयाँ शैली अपनाई युवतीलाई ठगी गर्ने समूह पक्राउ
नयाँ शैली अपनाई युवतीहरुलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने व्यक्ति तथा समूहलाई पनि पक्राउ गरेका छौं । आफू सम्पन्न व्यक्ति भएको भन्दै प्रेम गर्ने र विवाह गरेर विदेशमा समेत लैजाने प्रलोभन देखाएर युवतीलाई ठगी गर्न दुई जनालाई हामीले पक्राउ गरेका छौं । अनुसन्धानका क्रममा उनीहरुले पीडित युवतीहरुसंग आर्थिक तथा शारिरीक शोषण समेत गर्ने र पछि सम्पर्क विहीन हुने गरेको पाइएको थियो । पक्राउ परेकाहरुमाथि ठगी मुद्दाअन्तर्गत कार्वाही अगाडि बढिसकेको छ ।
यस्तै एनजिओको आवरणमा ठगी गर्नेहरुलाई पनि हामीले पक्राउ गरेका छौं । यस्तै, विदेशीको क्रेडिट कार्ड डिटेल चोरी गरी अनलाइन खरिद गर्ने गिरोह पनि मेरो फन्दामा परेका छन् । विभिन्न अपराधिक समूहबाट अपहरणमा परेकाहरुलाई पनि उद्दार गर्न हामी सफल भएका छौं ।यसरी विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्ति तथा गिरोहलाई मैले कानुनी कठघरामा उभ्याउने प्रयास गरेको छु । आन्तरिक शुद्धिकरण, प्रभावकारी अपराध अनुसन्धान, सिमाअपराध नियन्त्रण, साना हतियार र गुन्डागर्दी नियन्त्रणलाई मैले पहिलो प्राथमिकता दिँदै आएको छु । अहिले अपहरण, फिरौती असुली, हत्या जस्ता जघन्य अपराधमा धेरै कमी आइसकेको मैले पाएको छु ।
चोरी सिकारी नियन्त्रणमा योगदान गरेकोमा अवार्ड
सन २०१० देखि नेपालमा चोरी शिकार बिरुद्द विभिन्न अपरेशनहरु सञ्चालन गरी गैंडामा शुन्य चोरी शिकार बर्षहरु मनाउन उल्लेनीय योगदान पु¥याएकोमा केन्द्रीय अनुसन्धान व्युरोले अवार्ड पनि प्राप्त गर्न सफल भयो । साथै त्यसको निरन्तरता र अन्य वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा उल्लेखनीय योगदानको कदर स्वरुप व्युरोलाई ‘एनिमल वेलफर इन्स्टिच्युट युएसए’ ले केन्द्रीय अनुसन्धान व्युरो सन २०१६ को क्लार्क आर.बभिन वाइल्डालाइफ ल इन्फोर्समेन्ट अवार्ड दिएको हो । बन्यजन्तुसंग सम्बधित अपराधमा संलग्नहरुलाई मैले खोजी पक्राउ गर्यों । देशभरका विभिन्न ठाउँबाट वन्यजन्तु बेचविखत तथा ओसार पसारमा संलग्न थुप्रै व्यक्तिहरु पक्राउ हुने क्रम अझै जारी छ ।स्रोत : दैनिक नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses