लोग्ने मान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने महिलाले अर्काको लोग्ने फकाउन नहुने ?
निरुपा प्रसून मूलत: महिलाभित्र देखा पर्ने दमित प्रेम र यौनलाई अक्षरमा उतार्ने लेखिका हुन् । अभिलासा (२०६३) कविता–संग्रह, अभिषेक (२०६६) उपन्यास तथा तिम्रो लोग्ने र म (२०७१) गरी ३ वटा पुस्तक बजारमा ल्याइसकेकी निरुपा पुराना कवि चितवन शिखरवासकी छोरी हुन् । कथा–संग्रह ‘तिम्रो लोग्ने र म’ बजारमा आएपछि उनी आलोचितसमेत भएकी थिइन् । प्रसिद्ध कथाकार मनु ब्राजाकीको कथा–संग्रह ‘तिम्री स्वास्नी र म’ कै शैलीमा लेखिएको ‘तिम्रो लोग्ने र म’ र उनको लेखनका विषयमा निरुपासँग साप्ताहिकको कुराकानी :
मनु ब्राजाकीकै शैलीमा ‘तिम्रो लोग्ने र म’ लेख्नुपर्ने कुनै कारण थियो ?
त्यो कथा मैले आफू किशोरी हुँदा पहिलो पटक पढेकी थिएँ । कथाको पात्र अर्काकी श्रीमतीसँग हाकाहाकी बेडसम्म पुगेको कुरा पढ्दा मेरा कान रातापीरा भएका थिए । लोग्नेमानिस कति सजिलै यस्ता कुरा लेख्न सक्छन्, स्वास्नीमानिसले यस्तो लेख्न सक्लान् ? कसले लेख्ला यस्तो कुरा भन्ने लागेको थियो । तैपनि मैले नेपाली साहित्यमा स्नातक गर्ने बेलासम्म त्यस्तो कुरा कसैले लेखेनन् । अरुले कहिले लेख्छन् भनेर कुरेर बस्ने कि आफैले लेख्ने ? भन्ने प्रश्न मनमा आयो । त्यसपछि आफैंले लेख्न थालें ।
यति विवाद र प्रशंसा होला भन्ने लागेको थियो ?
त्यो कथा २०६८ सालको मधुपर्कमा प्रकाशित भयो । छापिनुअघि यति धेरै प्रतिक्रिया आउला भन्नेचाहिँ लागेको थिएन । नकारात्मकभन्दा सकारात्मक प्रतिक्रिया बढी पाएँ । स्वयं मनु ब्राजाकीले– ‘महिलाले महिलाका पक्षबाट कसैले यो कथा लेखोस् भन्ने चाहेको थिएँ, तपाईंले लेख्नुभयो । तपाईंलाई धन्यवाद र बधाई छ ।’ भन्नुभयो । लोग्नेमान्छेले अर्काकी स्वास्नी फकाउन मिल्छ भने स्वास्नीमान्छेले अर्काको लोग्ने फकाउन किन मिल्दैन ? चर्चामा आउन पुरानै कुरा दोहोर्याएर लेखेको भनेर केहीले आलोचना नगरेका होइनन् तर ती कुरालाई मैले गौण मानेकी छु ।
नेपाली समाजमा जति पुरुषहरूले यौनिक स्वतन्त्रताको उपयोग गर्छन् त्यति महिलाहरूले गर्न सक्छन् ?
इच्छा त उही हो, चाहे लोग्नेमानिस हुन् वा स्वास्नीमानिस । यौनिक स्वतन्त्रता जैविक हो तर आर्थिक स्वतन्त्रताले त्यो कुरामा उनीहरूलाई बाधा दिने गरेको छ । आजको युगमा आर्थिक स्वतन्त्रता प्रमुख भएर आएको छ । जोसँग हैसियत छ, उसले लोग्नेमान्छेलाई पनि केही दिन भाडामा लिएको देखिन्छ । केही महिला सौख र पैसाका लागि यौनकर्म पनि गरिरहेका पाइन्छन् । यो वर्ग सानो छ ।
धेरैजसो महिला आर्थिक रूपमा परनिर्भर छन् त्यसको असर उनीहरूको यौनिक स्वतन्त्रतामा पनि परेको छ । उनीहरू लोग्नेमानिसको इच्छा र इसारामा यौन कर्म गर्नुपर्ने बाध्यतामा छन् । मेरो विचारमा आर्थिक रूपमा सक्षम नहुन्जेल महिलाहरूको यौनिक स्वतन्त्रता कुण्ठित नै हुन्छ ।
तपाईंको कलम विशेष गरी युवावर्गको यौन र प्रेम वरपर नै घुम्ने गरेको छ, किन ?
किनभने म पनि त्यहीं वरपर छु । आफू जहाँ उभिएको हुन्छ, लेखकले त्यही लेख्ने हो । म फेन्टासी प्रेम र यौनकथा पढ्न रुचाउँछु तर लेख्दा यथार्थ नै लेख्छु ।
कसरी लेखक हुनुभयो ?
मेरो बुवा चितवन शिखरवास आफैंमा त्यो बेलाको प्रसिद्ध कवि हुनुहुन्थ्यो । उहाँका पाँचवटा पुस्तक प्रकाशित छन् । उहाँ राजा महेन्द्रको हातबाट स्वर्ण पदक र भारतीय दूतावासबाट पुरस्कृत हुनुभएको थियो । उहाँ हिन्दीमा धेरै लेख्ने भएकाले पनि नेपालमा भन्दा भारतमा परिचित हुनुहुन्थ्यो । यद्यपि मेरो लेखनमा उहाँको खासै योगदान छैन । बरु जिल्लास्तरीय प्रतियोगिताहरूमा भाग लिँदा म स्वर्ण पदक जित्थेँ, तर मानिसहरू बुवाले लेखिदिनुभएको भनेर मेरो मानमर्दन गर्थें । कान्छो दाजुले भने मेरो लेखनलाई प्रोत्साहित गर्नुभयो ।
लेखनको टर्निङ प्वाइन्टचाहिँ कुन हो ?
चितवनबाट भर्खरै काठमाडौं आएकी थिएँ कलेज पढ्न । बालकविता लेखेर पुरस्कार पाए पनि लेखिका हुन सक्छु भन्ने आत्मविश्वास थिएन । त्यति बेला महिला आयोगले अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा राष्ट्रव्यापी कविता प्रतियोगिता पनि गराएको थियो । त्यसमा मेरो कविताले विशेष पुरस्कार प्राप्त गर्यो । त्यतिबेला मेरो दाजुले चिनेजानेका मानिसहरूलाई मिठाई ख्वाउनुभएको थियो । उहाँले तिमी सबैथोक छाडेर लेख्न थाल भनेर हौसला दिनुभयो । उक्त घटनापछि म पूर्ण रूपमा लेखनमा आएँ ।
कसको लेखन मन पराउनुहुन्छ ?
लियो टोल्सटोय, अर्निस्ट ह्यामिङ्वे, बंगाली लेखक शरदचन्द्र भट्टोपध्याय, विनोदविक्रम धिताल, विजय मल्ल, दौलतविक्रम विष्ट तथा ध्रुवचन्द्र गौतम ।
आजभोलिका पुस्तक कस्ता लाग्छन् ?
केही पुस्तकमा गुदी कम हुन्छन् तर तिनको हल्ला बढी हुने गरेको छ । यद्यपि युवाहरूमा पुस्तक पढ्ने बानी बसाउन यस्ता पुस्तक आवश्यक छन् ।स्रोत : अमेरिका नेपाल
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses