भुइँचालोले खुट्टा खोसेपछि पौडी विजेता बनेर जापान...हेर्नुहोस यस्तो छ १८ वर्षे रमेश खत्रीको कथा

ह्वीलचियर यस्तरी कुदेर नजिकै आयो, मानौं बस छुट्नेवाला थियो।
‘विस्तारै आए पनि त हुन्थ्यो,’ म अलिक सहानुभूतिशील बन्न खोजेँ।
त्यो हँसिलो र उज्यालो अनुहारबाट उल्टो प्रश्न आयो, ‘धेरै बेर त कुर्नुपरेन नि?’
यत्तिको उत्साह, यत्तिको उर्जा र जीवनप्रति यत्तिको हौसला हत्तपत्त सामान्य तन्नेरीहरुमा पनि पाइन मुश्किलै पर्छ। झन् त्यसमाथि १८ वर्षे रमेश खत्रीको त कुरै बेग्लै छ। कुरा गर्दागर्दै पनि उनी त्यो ह्वीलचियरको अघिल्लो भाग घरिघरि उचाल्थे, पाङ्ग्रा समातेर यताउता नचाउथे।
‘हेर्नुस्न, सिकेर त आइयो,’ उनले सातादिनअघि मात्र जापानबाट तालिम लिएर फर्कदाको हौसला प्रकट गरिहाले, ‘गर्मी नआउन्जेल यता पौडन नपाइने भएकाले छटपटी लागिरहेको छ।’दैलेख, बाँसे–३ का रमेशको भोगाइ एउटा रोचक सिनेमाभन्दा घटी छैन। सदरमुकामदेखि ४–५ घन्टा दुरीमा घर भएका उनको वाल्यकाल सरकारी स्कुलमा पढ्ने र गोठालो जानेमै बित्यो। उनलाई होश भएकै बेलादेखि पिता भारतमा मजदुरी गर्न जान्थे।
करिब पाँच पुस्तापहिले अछामबाट बसाइ सरेर आएका उनीहरुको गाउँमा खेती त छ। तर, खानबाहेक अर्थोकलाई पुग्दैन। गाउँभरिका मानिसजस्तै उनका हजुरबा पनि बाँचुन्जेल भारतै जाने गरेका थिए।
‘अझ हजुरबा त बम्बइसम्म पुग्नुभएको थियो रे,’ उनले भने, ‘बुवा चाहिँ उत्तराखण्डतिरै मजदुरी गर्दै आइरहनुभएको छ।’
यस्तो अवस्थामा आमा, भाइ बहिनी सबैलाई गाउँमै छाडेर १४ वर्षको उमेरमा रमेश काठमाडौं आइपुगे। २०६९ साल।
‘बुवाको पनि उमेर ढल्कँदै गएपछि राम्रो कमाउन सकिरहनुभएको थिएन,’ रमेश भन्छन्, ‘भाइबहिनीलाई कपीकलम किन्ने पैसा पनि अभाव भएपछि म आफैँ केहि गर्छु भनेर गाउँ छाडेको थिएँ।’
त्यतिबेला पढ्दापढ्दैको आठ कक्षा छाडेर रमेश काठमाडौं आइपुगेका थिए। चढेर आएको बसका कण्डक्टरले नै बालाजुको भुमेश्वरी गेष्टहाउसमा काम लगाइदिए।
सुरुमा पाँच छ हजार रुपैयाँ मात्र कमाइ हुन्थ्यो। गेष्टहाउसका निम्ति पाहुनाहरु खोजेर ल्याउन पारंगत हुदै गएपछि यो आम्दानी बढ्न थाल्यो।
‘महिनाको बिस पच्चीस हजारसम्म कमाउन थालेँ,’ उनी भन्छन्, ‘गाउँमा भाइलाई बोर्डिङमा भर्ना गर्न लगाएँ।’दुई वर्षसम्म यसरी काठमाडौं बसेपछि उनलाई घरको न्यास्रोले समातेछ। दशैंको छेक पारेर दैलेख पुगे। गाउँमा पुगेपछि बाले आफुसँगै भारत जाने कर गरेछन्। आफन्त कोहि नभएको विरानो काठमाडौंभन्दा भारतमा आँखाको सामुन्ने राखेर सँगसँगै मजदुरी गर्ने पिताको इच्छा उनले नकार्न सकेनन्। उनी पितासँगै भारत हेलिए।
‘त्यहाँ मेहनत बढी थियो, कमाइ थोरै,’ रमेशले थपे, ‘बरु काठमाडौं नै आनन्द लागेर छ महिनामै फेरि यतै फर्केँ।’
२०७१ सालको चैत। उनी बसबाट ओर्लिएपछि सरासर उही बालाजुको भुमेश्वरी गेष्टहाउस पुगे।
काम गर्ने मान्छे फेरि फर्केर आएपछि कसले पो नाइ भन्ला? त्यो धरहराजस्तो सुइरिएको आठतल्ले एउटै विल्डिङमा चारवटा होटल चलेका थिए। उनले काम गर्ने भुमेश्वरीका मात्रै पनि ५० भन्दा बढी कोठा थिए।
‘रुम चाँडै प्याक भयो भने चाँडै सुत्न पाइन्थ्यो,’ उनी भन्छन्, ‘नत्र रातभरि गेष्ट खोज्न भौतारिरहनुपर्ने।’
पुराना सम्पर्कहरु सबै टुटेकोले दोश्रोपटक काठमाडौं आएपछि उनले राम्ररी आम्दानी गर्न सकिरहेका थिएनन्। यसैबीच होटलमा सँगै काम गर्ने साथी जोनसँग घर जाने योजना बनाए। नेपाली नै भए पनि अंग्रेजी नाम राखेका जोन को हुन्, कताबाट आएका हुन् भन्ने केहि थाहा नभए पनि उनीहरु बीच काठमाडौंमा राम्रो हिमचिम थियो।
दैलेख जानका निम्ति उनीहरु बैशाख १२ गते विहानै टिकट काट्न निस्के। टिकट बेलुकी चार बजेको पाइयो। त्यतिखेरै रत्नपार्क पुगेर भाइबहिनी र आमाको निम्ति उपहार र कपडाहरु किने।
बेलुकीको बस भएकाले खाना खानको निम्ति दिउँसोतिर गेष्टहाउसै पुगे। गेष्टहाउसमै काम गर्ने पेम्बा लामा पनि भान्छामै थिए। पेम्बाले खाना पस्कँदै गर्दा रमेशले हात धोए।
‘खाना मुछेर पहिलो गाँस हालेका मात्र के थियौं एक्कासी डांगडुंग आवाज आउन थाल्यो,’ रमेश भन्छन्, ‘पेम्बा त अलिक फुच्चे र बाठो भएकाले खुर्र्र दौडेर अगाडि गइहाल्यो। मैले त केहि भेउ नै पाइँन।’
उनले हेर्दाहेर्दै घरका एकपछि अर्का पिल्लर ढल्दै र छतले किच्दै लैजान थाल्यो।
‘नङले जुम्रा किचेजस्तो घरले मान्छेलाई किचिरहेका थिए,’ उनले त्यो विभत्स दृश्य वर्णन गरे, ‘मैले हेर्दाहेर्दै दुई तीनजना थिचिइसकेका थिए।’
अचानक झसंग भएपछि आधा होश र आधा बेहोशीमै रमेश दौडन खोजेछन्।
‘भर्‍याङ नजिकै कुनै मानिसको रगत बगेको रहेछ,’ उनले भने, ‘म त्यसैमा चिप्लेर पछारिएँ।’त्यतिबेलै एउटा विशाल बिम ढल्दै आएर उनको टाउकोभन्दा दुई इन्च मात्र पर लड्यो। भाग्य संयोगले त्यसपछि माथिबाट थपिएका भारहरुलाई त्यही बिमले रोकिदिएछ।
‘मेरो माथि त्यो घरका थप संरचनाहरु भत्कँदै र लड्दै पत्र लागिरहेका थिए,’ भन्छन्, ‘म दोश्रो तल्लामा थिएँ भने मेरो माथि बाँकी छवटा तल्लाको पत्र थियो।’
रमेशमात्र होइन त्यो थुप्रोमा पेम्बा र जोन पनि थिचिएका थिए। आफुहरु तीनैजनाले कराउन थालेको रमेश सम्झन्छन्।
‘एकछिनसम्म त हामी मात्र होइन धेरै मानिस चिच्याएको आवाज आइरहेको थियो,’ भन्छन्, ‘एकैछिनपछि त सबैका आवाज शान्त भए।’
रमेश अर्धवेहोसीमा पुगे। दुवै खुट्टा नराम्ररी किचिएकोले चलहल गर्नैनसक्ने अवस्था थियो।
खुट्टामा भइरहेको पिडा असाध्यै चर्को थियो। मुखभरि पसिना र नाकभरि सिंगान।
‘भर्खरै हालेको पहिलो गाँस मुखैमा रहेछ,’ रमेशले भने, ‘चिच्याउन गाह्रो भएपछि त्यो गाँसलाइ छेउमा थुकेँ।’
त्यसपछि बचाउ बचाउ भनेर चिच्याउन सुरुगरेछन्। बाहिरबाट कसैले सुन्ला र बचाउला भनेको त उल्टो भित्रैबाट पो ‘तपाइँ को हो?’ भनेको आवाज आयो।
रमेशले ‘को हो?’ भनेर सोधे। उताबाट ‘म जोन हो’ भन्यो। ‘तँ को हो?’ भनेर उनले सोधे। ‘म रमेश हुँ’ भने। उता पेम्बाको आवाज आयो ‘म पनि छुँ। मलाइ एकदम गाह्रो भइरहेको छ दाइ।’
त्यसपछि विस्तारै सबैले बोल्न छाडे। रमेशले चाहिँ चिच्याएर ‘बचाउ बचाउ’ भनिरहेँ।
बाहिर मानिसहरु आएर केहि गर्न खोजेजस्तो गर्थे। तर, फेरि हल्लन सुरुभएपछि दौडेर अन्त भागिहाल्थे।
‘त्योबेलाको पीडा त भन्नै सक्दिनँ,’ रमेशले भने, ‘अहिले पनि भूतको सिनेमा हेरेजस्तो हुन्छ।’वरपर सबैतिर आफुजस्तै मान्छे देखेपछि रमेशले विस्तारै चित्त बुझाउदै गए। विशेषगरेर भुइँचालोमै दुवै खुट्टा गुमाएका उनकै उमेरका सन्देश बस्नेतलाई देखेको क्षण उनीहरु दुवै एकअर्कालाई हेर्दै भक्कानिएर रोएका थिए। तर, अरुबेला भने रमेशले धैर्यता राख्न खोजे।
‘त्यसभन्दा पहिले घरबाट ममी बुवाहरु आउँदा पनि अप्ठेरो भएको थियो,’ उनी भन्छन्, ‘उहाँहरु असाध्यै कहालिनुभएको अवस्थामा मैले जसरी भए पनि आफुलाई थाम्ने र उहाँहरुको हिम्मत बढाउने कोशिस गरेको थिएँ।’ उनले फेरि थपे, ‘किनभने म मेरो ममी बुवालाई रुवाउन चाहन्थिनँ।’
उनलाई त बरु भाइबहिनीको पो बढी पीर लाग्यो। बुवाको पनि बुढेसकाल लाग्न थाल्दा अब उनीहरुका निम्ति मैले पनि केहि गर्न नसकुला भनेर छटपटिए।
रमेशका अनुसार यतिबेला उनको १३वर्षे भाइलाई फेरि बोर्डिङबाट निकालेर गाउँकै सरकारी स्कुलमा भर्ना गरिएको छ। १० वर्षिया वहिनी पनि चार कक्षामा त्यहीँ पढ्छिन्।
खुट्टाको घाउ सुक्दै गएपछि अस्पतालको बसाइपनि सकियो। उनलाई केटाकेटीको पोषणसम्वन्धि कार्यक्रम चलाउने सुनाकोठीस्थित एउटा संस्थामा लगेर राखियो। त्यहाँ तीन महिना बसेपछि बालुवाटारस्थित एनएचइडिएफ नामको संस्थामा उनले आश्रय पाए। यसरी भुइँचालोको एक वर्ष वित्यो।
गएको वैशाखमा उनलाई जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्र ल्याइयो। यहाँ उनीजस्तै अवस्था भएका थुप्रै साना साना भाइबहिनीहरु स्कुल पढ्थे। कुराकानी गरेपछि उनले पनि त्यो स्कुलमा भर्ना पाए। स्कुल छेवैमा रहेको केन्द्रको छात्रावासमा उनले बसोबासको सुविधा पनि पाए। खानपिन र अन्य सहयोगको बन्दोबस्त चाहिँ यहीँको अर्को संस्था वोधिसत्व इन एक्सन (विआइए)ले गरिदियो। यो संस्थाले अपाङहरुलाई शिप सिकाउने काम गर्छ। मुढा, मूर्ति, थान्का, मालाजस्ता कुराहरु आफूले पनि बनाउन सिकिरहेको रमेश सुनाउछन्।
यसरी कुनै समय पढाइ छाडेर कमाउनका निम्ति काठमाडौं आएका रमेशलाई नियतिले फेरि विद्यार्थी बनाइदिएको छ। उनी आठ कक्षामा पढिरहेका छन्।
‘यहाँ दस कक्षासम्म पढाइ हुन्छ,’ उनी भन्छन्, ‘पछाडि अर्को भवन बनाएर यसलाई उच्चमाध्यमिक तहमा लैजाने कुरा सरले बताइरहनुभएको छ।’
अर्थात् बाह्र कक्षासम्म पढ्न अब रमेशलाई संभवत समस्या हुँदैन। तर, उनको इच्छा चाहिँ त्यसपछि पनि पढिरहने छ।
पढेर के गर्ने इच्छा छ?
‘इच्छै त बनाएको छैन,’ उनी भन्छन्, ‘तर, सकून्जेल धेरै पढ्ने अठोट चाहिँ लिएको छु।’पढाइ गरेपछि उनलाई घर हेर्नसक्नेगरी सक्षम बनौंजस्तो लाग्न थालेको छ। ‘मलाइ फिजियोथेरापीबारे राम्रो विशेषज्ञता लिने इच्छा छ,’ उनले थपे, ‘यो इच्छा पनि आफैँलाई परेपछि मनमा पलाएको हो।’
खुट्टा नरहेपछि फिजियो थेरापीले उनलाई धेरै राहत दिएको रहेछ। ‘अपांगहरुलाई यसको अभावमा कति दुःख हुन्छ भन्ने मैले बुझेको छु,’ रमेश भन्छन्, ‘त्यसैले राम्रो थेरापिस्ट बन्न सकेँ भने आफुजस्तालाई सेवा पनि गर्नसक्छु खर्चधान्ने बाटो पनि निस्कन्छ।’
यसरी पढेलेखेर सक्षम नागरिक बन्नुबाहेक रमेशको अर्को इच्छा चाहिँ खेलकूद नै हो।
खगेन्द्र नवजीवन केन्द्र आएपछि उनले यहाँ ह्वीलचियरमा बसेर बास्केटबल खेल्ने ठाउँ र संगत पाएँ। अहिले त्यो खेलमा पनि उनीहरुले धेरै पुरस्कारहरु जितिसकेका छन्।
‘त्यसैगरि ह्वीलचियर रेसमा पनि मैले बारंबार पदक पाइसकेको छु,’ उनी भन्छन्, ‘अब त समयसँगै मेरो अभ्यास पनि बढ्दै गएकाले आगामी प्रतियोगीताहरुमा अझ सुधार हुने पक्का छ।’
रमेशको मुख्य विशेषता त फेरि अन्तै छ। स्विमिङ...शिक्षण अस्पतालमा खुट्टा काटिएपछि पनि झण्डै पाँच छ महिना नक्कली खुट्टा लगाउने तयारीमै बित्दै थियो। त्योताका हरेक विहान आइओएमले बन्दोबस्त गरेको बस चढेर उनीहरु भृकुटीमण्डप आउनु पथ्र्यो। त्यहाँस्थित अपांग कोषमा उनीहरुलाई तालिमको व्यवस्था गरिएको थियो।
त्यतिबेला आफुजस्तै सन्देश बस्नेतसँगको संगत अझ बढ्यो।
‘हामी ह्वीलचियर गुडाउँदै वरपर डुल्न खोज्थ्यौं,’ रमेशले भने, ‘यस्तै क्रममा एकदिन छेवैको महेन्द्र पुलिस क्लबमा पुग्यौं।’
प्रहरी पितालाई माओवादीले हत्या गरेपछि सन्देश वीरेन्द्र प्रहरी स्कुलमा पढ्दै आएका थिए। बैशाख १२ गतेको भुकम्पले त्यसै स्कुलको छात्रावास ढलेपछि सन्देशले दुवै खुट्टा गुमाए।
‘सन्देशको साथ लागेरै म त्यो दिन महेन्द्र पुलिस क्लब पुगेको थिएँ,’ रमेश भन्छन्, ‘त्यसैदिन मैले पानी पनि झलमल्ल टल्किने स्विमिङ पुल देखेँ।’
पौडी पोखरी देखेर रमेशको मन केटाकेटीका मिठा सम्झनाहरुमा डुल्न थाल्यो। उनले गाउँको छाम्का खोलालाई झलक्क सम्झे। गाउँबाट त्यहाँ पुग्न आधा घन्टाको बाटो लाग्थ्यो। गोठालो गएका बेला उनीहरु माछा मार्न र पौडन त्यो खोलामा पुग्थे। दस बाह्र जना साथीको समूह नै थियो।
‘गाइ र बाख्राका बथानलाई दिउँसो वनतिर लखेटेपछि फुर्सद् मिल्थ्यो,’ सम्झदै बताए, ‘त्यसपछि हामी हुलै उफ्रँदै र कुद्दै छाम्का खोला पुग्थ्यौं।’
छाम्कामा पुगेपछि पौडि खेल्ने मात्र होइन माछा मार्ने काम पनि हुन्थ्यो। ‘दुवालो बुझेका बेला थुप्रै माछा परेको छ भने घर लिएर जान्थ्यौं,’ उनी भन्छन्, ‘त्यस्तो बेला घरमा बुवा ममी पनि खुशी हुनुहुन्थ्यो।’
त्यो बेला रमेशले पौडने भनेको जसरी पनि पानीमा उत्रनु र रमाउनु हुन्थ्यो। तर, हिजोआज यसका पनि कति धेरै तरिकाहरु हुँदारहेछन् भन्ने थाहा पाएर रमेश दंगपरेका छन्।
गाउँको खोलामा यसरी पौडी खेल्दा एउटा वर्खामा चाहिँ साह्रै नमिठो घटना भयो। खोलामा पानी बढेको थियो। सँधैजस्तै को अगाडि जाने भनेर प्रतिस्पर्धा सुरुभयो। सबै झ्वाम्म हाम्फाले। साथी विकास बुढाले चाहिँ हाम्फालेकै ठाउँमा चुच्चो ढुँगा रहेछ। तै त्यसमा खुट्टा मात्र पर्यो र नराम्ररी काटियो। धेरै नै रगत निस्केपछि उनीहरु कहालिए।
‘त्यसपछि डर लाग्यो,’ उनले बताए, ‘गाउँका सबैलाई जित्ने भएतापनि मैले पौडी खेल्न जानै छाडिदिएँ।’
त्यसदिन महेन्द्र पुलिस क्लबको स्विमिङपुल छेउ उभिएकै बेला रमेशलाई फेरि पानीमा हाम्फालौं जस्तो भयो।
‘तर, अब त मसँग खुट्टा पनि छैनन् भन्ने सोचाइ आएर झस्केँ,’ उनले भने, ‘तै पनि पौडन सक्छु भन्ने आँट पलाएर आयो र मैले त्यहाँ इच्छा राखेँ।’ आफुजस्तो मानिसलाई पौडन दिने कि नदिने भनेर ‘माथि’ एकपटक सोध्नुपर्ने जानकारी त्यहाँका कुरुवाले रमेशलाई दिएछन्। त्यसबाहेक संस्थाबाट एउटा चिठ्ठी पनि लिएर आउन अह्राए।
रमेश पनि हरेस खानेवाला थिएनन्। अर्को दिन संस्थाबाट चिठ्ठी लिएरै गए।
त्यो दिन चाहिँ ‘जाउ जाउ खेल’ भनिदिएछन्।
रमेशले सबैभन्दा पहिले ह्वीलचियर गुडाउँदै लगेर सावर लिने ठाउँमा अडिए। एकजनाले नुहाउने ठाउँमा कुर्सी राखिदिए। उनी ह्वीलचियरबाट आफै निस्केर नुहाए। त्यसपछि फेरि ह्वीलचियर चढेर पानीको नजिकै गए।
‘पौडी पोखरीको पानी देखेर आनन्द लाग्यो। मैले गाउँको खोला सम्झेँ। गाउँको असाध्यै याद आयो। त्यो मजाले पौडी खेलेको क्षण सम्झेँ। अब चाहिँ म सक्छु कि सक्दिन भन्ने मनमा भइरहेको थियो। एक्कासी मनमा के आयो कुन्नी, म झ्वाम्म ह्वीलचियरबाटै पानीमा हाम्फालेँ...’
हाम्फाल्ने बित्तिकै सबैभन्दा पहिले एकछिन शरिरलाई त्यत्तिकै पानीमा छाडेछन्। लगत्तै ‘कुकुरे बाउत’ (बटरफ्लाइ) शैलीमा पौडने कोशिस गरे।
‘दुवै तिघ्राले पानीलाई सकभर हिर्काइरहेकै थिएँ,’ भन्दैगए, ‘तर पनि डुब्ला डुब्ला जस्तो भइहाल्यो।’
त्यसपछि उनले गाउँले ‘अंगाला बाउत’ (फ्रिस्टाइल) शैलीमा हातलाई लम्काए।
‘दाह्रा किटेर हातलाई फिट्दै शरिरलाई पनि सतहमै राख्ने कोशिस गरेपछि डुबिनँ,’ उनले भने, ‘दुवै हातमा न्वारनदेखिको बल लगाउँदै छाप्लाङ छुप्लुङ पार्दा एकछिन त गाह्रो भयो तर यसो हेरेको मेरो शरीर त निकै अगाडि बढिसकेको रहेछ।’
एकैछिन् पछि त रमेशले धेरै बल पनि गर्नु परेन। शरिर तैरिन थालिहाल्यो।
‘म पौडिन सक्छु...’ उनलाई यो कुरा चिच्याएर भनौंजस्तो लाग्यो तर बोलेनन्।
‘खुट्टा नहुँदा मलाई जमिनमा गाह्रो परेपनि पानीले धेरै भेदभाव गरेन,’ उनले भने, ‘म यस्तै शरिर लिएर (यथाअवस्थामै) दुरी तय गर्न सक्छु भन्ने कल्पना गर्दा पनि असाध्यै खुशी लागिरह्यो।’
त्यसदिन उनलाई पोखरीको गहिरो भागमा जान दिइएन। तर, त्यसले अब के फरक पथ्र्यो र? उनले तोकिएकै ठाउँमा पौडिरहे। त्यहाँ भएभरका मानिस ट्वाल्ल परेर उनैलाई हेर्न पो थाले।
‘गाउँको खोलामा दिनभरि पौडी खेल्दा पनि नथाक्ने ज्यान त्यो दिन चाहिँ किन हो एक घन्टाभन्दा बढी खेल्नै सकिएन। मलाइ डर जस्तो पनि भयो। थकाइ पनि लाग्यो। त्यसपछि पोखरीबाट निस्केँ।’
महेन्द्र पुलिसक्लबमा त्यसदिन पौडेपछि उनको स्विमिंग रहर त्यत्तिकै थामिएको थियो। गत वैशाखमा खगेन्द्र नवजीवन केन्द्रमा आएपछि चाहिँ त्यो फेरि जाग्यो। त्यहाँकै ‘स्पाइनल कर्ड इन्जुरी स्पोटर््र्स् एशोसिएसन’ले ल्याएको एउटा सूचनाबाट यस्तो भएको थियो।
युवा तथा खेलकूद मन्त्रालय र नेपाल पारालम्पिक कमिटिसँग मिलेर उसले ‘चौथो राष्ट्रिय अपांग पौडी प्रतियोगीता’ आयोजना गराउन लागिरहेको थियो। त्यसको निम्ति ह्वीलचियर प्रयोग गर्ने दस बाह्र जनालाई जोरपाटी छेउकै शेर्पा पार्टी प्यालेसको स्विमिंग पुलमा अभ्यासको मौकासमेत दिइएको रहेछ।
रमेशले ‘मलाइ पनि स्विमिंग आउँछ’ भनेर हात उठाइहाले। अनुमति मिल्यो।
अर्कोदिन विहानैदेखि उनी अभ्यासमा जान थाले।
अभ्यासमा गएको पहिलो दिनै पुलिस क्लबमा भन्दा पनि अझ राम्ररी पौडी खेलेको अनुभव उनलाई भयो। करिब एक महिना त्यहाँ लगातार तालिमको अवसर मिल्यो।
त्यसपछि सातदोबाटोस्थित इन्टरनेशन स्विमिंग कम्प्लेक्समा जुन १७ तारिख लगियो। त्यसदिन आयोजित अपाङहरुको राष्ट्रिय प्रतियोगीता हेर्न खूद राष्ट्रपति विद्यादेवी भण्डारीको समेत उपस्थिती थियो।
‘त्यहाँ मजस्तो खुट्टा नभएको मात्र होइन मेरुदण्डका घाइते, दृष्टिविहिनलगायतका खेलाडीहरु थिए,’ रमेश भन्छन्, ‘मैले चिताएको पनि थिइँन। त्यो प्रतियोगीतामा त म प्रथम भएछु।’
२५ मिटर लामो पौडी पोखरीलाई रमेशले २३ सेकेण्डमा पार गरेका थिए। दोश्रो हुने मेरुदण्डका घाइते राम तामाङलाई त्यही दुरी तय गर्न झण्डै ३५ सेकेण्ड लागेको थियो।
त्यसपछि रमेश राष्ट्रपति भण्डारीका सामू उभ्याइए।
‘उहाँले प्रमाणपत्र दिने बेलामा मलाइ ‘ल राम्रोसँग खेल्नु’ भन्नुभएको थियो,’ रमेशले थपे, ‘मैले पनि ‘हस्’ भनेर जवाफ दिएँ।’
राष्ट्रपति भण्डारीको स्वर आफुलाई असाध्यै मिठो लागेको रमेश सुनाउँछन्।
‘अहिले पनि मेरो कानमा गुञ्जिएजस्तो हुन्छ,’ उनले थपे, ‘उहाँले मायालु नजरले हेर्नुभएको थियो।’
त्यसपछि चाहिँ रमेशलाई पौडिनका निम्ति समस्या भएन। जोरपाटी नजिकैको मशल्स क्लबमा उनले आफुलाई तिखार्ने मौका पाए। दिनभरि स्कुलमा पढेपछि हरेक बेलुकी उनी त्यहाँ पुग्थे। यसरी अभ्यास गरिरहेकै बेला एकदिन पारालम्पिक कमिटिका अध्यक्ष सरोज श्रेष्ठले उनलाई गजबको खबर सुनाए।
‘पौडीमा दक्षता अझ बढाउनका निम्ति जापान जाने मौका थियो,’ उनले भने, ‘मेरोनिम्ति खुशीको सिमानै रहेन।’
रमेशसँगै ब्राजिलमा गत पारालम्पिक खेलिसकेकी महिला पौडी खेलाडी लक्ष्मी कुँवर र मेरुदण्डका घाइते नेपाली सेनाका अर्का एक पौडीबाज राजु कटुवाल पनि जापान जानकानिम्ति छनौटमा परेका रहेछन्।डिसेम्बर एक तारिखका दिन उनी पहिलोपटक विदेश जाँदै थिएँ। असाध्यै रमाइलो लागिरहेको थियो। उनी आवद्ध संस्था विआइएले धुमधामको साथ विदाइ गर्यो। पहिलो उडान काठमाडौंबाट बैंककको थियो। त्यसपछि चढेको विमानले जापान लग्यो।‘जीवनमा यसरी खेलाडीको रुपमा विदेशको भ्रमण गर्छु भनेर कहिल्यै चिताएको पनि थिइँन,’ रमेश त्यो क्षण सम्झँदै भन्छन्, ‘यात्रा अवधिभरि मेरो छाती ढक्क फुलेको थियो।’
जापान पुगेपछि उताको भाषा नबुझिने भएकाले उनले धेरै कुरा त थाहै पाएनन्। जे होस् उनीहरुलाई टोकियोबाट फेरि एक घन्टाको उडानपछि ओशाका लगिएको थियो। तालिमको काम त्यहीँ सम्पन्न भयो। बसेकै
होटलमा तातोपानी भएको स्विमिंगपुल थियो। सुरुमा त्यसैमा तालिम गराइयो। त्यही होटलमा उनीहरुसँगै जापानका पनि दस बाह्रजना उस्तै खेलाडीहरु थिए। कसैको हात नभएको, कसैको खुट्टा नभएको।
‘हामी पाच छ दिन सँगसँगै पौडियौं,’ भन्छन्, ‘विहान विहान होटलमै पौडी तालिम दिएपछि दिउँसो चाहिँ हामीलाई एउटा पुलिस क्लबमा लगिन्थ्यो।’ क्लबको स्विमिंग पुल चाहिँ होटलको भन्दा ठूलो थियो। पचास मिटर लामो। यसरी खेलाउँदा बढी जोड चाहिँ ‘टेक्निक’ सिकाउने तिर दिइन्थ्यो। स्विमिंग गर्नुअघि कुन फिजियो चाहिन्छ, गरिसकेपछि कुन फिजियो चाहिन्छ भनेर सिकाइन्थ्यो।
‘त्यहाँ फरक फरक जापानी गुरुहरुले यो सिकाउनु हुन्थ्यो,’ उनले भने, ‘सरोज सरले हामीलाई नेपालीमा अथ्र्याइदिनुहुन्थ्यो।’
आफूहरु त्यता रहँदा त्यहाँको प्रख्यात अखवारहरुमा समाचार छापिएको कटिङ पनि रमेशले ल्याएका रहेछन्। देखाए।
एक साता यसरी ओसाकामा बिताएपछि उनीहरु टोकियो आए। त्यहाँ चाहिँ तीन चार दिनको घुमफिर मात्र थियो।
‘त्यहाँ बसुन्जेल मलाइ सबैभन्दा रमाइलो लागेको एउटै कुरा त्यताका सबै ठाउँ ह्वीलचियर मैत्री हुँदोरहेछ,’ उनले भने ‘सार्वजनिक बाटो, पसल, होटल, पार्क मात्र नभइ हामीलाई लगिएका घरहरु पनि सबै ह्वीलचियर मैत्री थिए।’ त्यस्ता ठाउँमा जाँदा आफुहरुले कसैको सहयोग बिना नै सामान्य मानिसजस्तै सबै काम गर्नसक्ने अनुभव उनले सुनाए।
जापानको अर्को मनपरेको कुरा पनि उनले सुनाउन छाडेनन्। त्यहाँ कोहि राम्रो पौडिने खेलाडी छ भने उसको कामै दिनरात पौडिने मात्र हुँदोरहेछ। त्यस्तो मानिसले बाह्रै मास पौडिरहन पाउन् भनेर मौसम अनुसारका चिसो तातो पोखरी पनि हुँदारहेछन्।
‘हामीकहाँ यस्तो केहि छैन,’ उनले भने, ‘तालिमको त झन व्यवस्थै छैन।’
जापानमा सिकेको तरिकाहरुले आफू भित्र पौडने शिपमा धेरै नै विकास भएको रमेश महशुस गर्दैछन्।
‘अहिले त जाडोभर पौडी खेल्ने ठाउँ नै छैन,’ भन्छन्, ‘तर, सिजन सुरु हुनेबित्तिकै मैले खेल्ने पौडीमा पहिले र अब एकदमै ठूलो अन्तर आउनेछ।’
संयोगले आगामी ओलम्पिक पनि २०२०मा जापानमै हुँदैछ।
‘म के गर्न सक्छु वा सक्दिन भनेर अहिल्यै त भन्दिनँ,’ उनले थपे, ‘जे जति अवसर मैले भेट्छु त्यसका आधारमा सकेको सम्पूर्ण प्रयास लगाएरै छाड्छु।’
रमेशलाई जापान लैजाने पारालम्पिक कमिटिका अध्यक्ष सरोज श्रेष्ठका अनुसार उनमा असाध्यै धेरै उर्जा छ। तर, नेपालमा अपाङ खेलाडीहरुका निम्ति राज्यका तर्फबाट कुनै सेवासुविधा नरहेको अवस्थामा विदेशमा उच्चस्तरको तालिम पाएका खेलाडीहरुसँग प्रतिस्पर्धै गर्न सक्दैनन्।
‘अहिलेसम्म ओलम्पिकलगायतका प्रतिस्पर्धाहरुमा हाम्रो सहभागीता पनि वाइल्ड कार्डका आधारमा हो,’ उनले भने, ‘यस्तो अवस्थामा रमेश मात्र होइन कुनै पनि अपाङ नेपाली खेलाडीको निम्ति प्रतियोगीतासम्म पहुँच बनाउनु नै ठूलो कुरा भइरहेको छ।’
फर्किने बेलामा अँध्यारो भइसकेको थियो। खगेन्द्र नवजीवन केन्द्रका बाटाहरुमा ह्वीलचियरको खार्लाङ–खुर्लुङ आवाजका बीच उनले अन्तिम वाक्य बोलेर विदा गरे–‘म भित्र आँट छ। त्यतिकुरा लेखिदिनुस् है सर...’स्रोत : सेतो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses