सगरमाथा आरोहण गर्दै पहिलो दृष्टिविहीन नेपाली

हिम्मत हारेको मनले हिमाल चढ्न सक्दैन। देखिने/छोइने चिजले बनेको सगरमाथा चढ्नुअघि मनमा नदेखिने/नछोइने हिम्मतको सगरमाथा ठड्याउनुपर्छ। जन्मजात दृष्टिविहीन अमिट केसीले चार वर्षअघि सगरमाथा चढ्ने अठोट लिँदा धेरैले भनेका थिए, होसमा त छस्? उनी पूरै होसमा थिए। चैत २० देखि काठमाडौंबाट सुरु हुने सगरमाथा आरोहण यात्रा सफल भए उनी नेपालकै पहिलो दृष्टिविहीन सगरमाथा आरोही हुनेछन्।
‘तपाईंको गाउँबाट कुनै हिमाल देखिन्छ?’
संसारकै अग्लो चुचुरोमा पाइला राख्ने लक्ष्य लिएर तयारीमा जुटेका बाग्लुङका दृष्टिविहीन अमिट केसीले जवाफ दिए, ‘बाग्लुङ सदरमुकामबाट त देखिन्थो रे।’
‘होइन, तपाईंकै गाउँबाट।’
‘विद्या...!’ उनले कसैलाई बोलाएर सोधे, ‘हाम्रो गाउँबाट कुनै हिमाल देखिन्छ रे?’
फोनको पृष्ठभूमिमा धमिलो सुनिएको महिला आवाज सकिन नभ्याउँदै उनी बोले, ‘बाग्लुङ बजारबाट धौलागिरी देखिन्छ रे। यताबाट त धौलागिरी, माछापुच्छ्रे, खै कुन हिमाल हुन्! उनीहरूलाई पनि थाहा छैन।’
त्यसो त सानै छँदा गाउँका कसैले हिमाल र हिउँका बारेमा भनेको सुनेजस्तो पनि लाग्छ रे। तर, जन्मजात दृष्टिविहीन अमिटले खासै चासो दिन्थेनन्। स्मृतिमा चहकिलो गरी बसेन।
स्कुल पढ्न थालेपछि भने हिउँका बारेमा पढेका रहेछन्, हिउँ चिसो हुन्छ। सेतो हुन्छ।
रङ त आवरणको कुरा भयो। उनलाई के मतलब!
हिउँ चिसो त हुन्छ तर, कस्तोखाले चिसो? उनको दिमागमा जिज्ञासा खेलेका थिए।
फ्रिजमा जमेका बरफ छोएपछि उनको दिमागमा फिट भयो, बरफजस्तै चि...सो! पक्कै हिउँको आकृति पनि बरफको डल्लाजस्तो हुन्छ। कडा, तर हातमा लिँदा बिलाइजाने। चिप्लो–चिप्लो।
स्कुलमै खै कुन्नी कति कक्षातिर पढ्दा हो, उनले पासाङ ल्हामु शेर्पाको सगरमाथा आरोहण कथा पढेका थिए। पढेरै थाहा भएको हो, चुचुरोमा पुगेर फर्किँदा हिउँमा पुरिएर पासाङ ल्हामुको मृत्यु भयो। त्यसकै आधारमा उनको बालमस्तिष्कमा हिमालको चित्र कोरिएको थियो, हिमाल भिरालो न भिरालो हुन्छ। फ्रिजमा जमेर कडा भएका बरफले त्यो भिरालो ठाउँ ढाकिएका हुन्छन्। भिरालोमा कडा बरफ भएपछि त चिप्लो हुने भइहाल्यो!
भोगेपछि न हो, पुराना धारणा बदलिने। नयाँ कुरा थाहा पाइने।
बाग्लुङ बजार पढ्न बस्दा ‘भ्यालेन्टाइन्स डे’का दिन बजारभरी हिउँ पर्दा उनले हातैले हिउँ छोए। दुई हातभरी हिउँ राखेर डल्लो बनाए। सुन्न त त्यसअघि नै सुनेका थिए, भर्खरै झरेका हिउँ कपासजस्ता हुन्छन्। सुनेका भन्दा अनुभव गर्दाको क्षण बेग्लै हुने भइहाल्यो।
सगरमाथा आरोहण अभ्यास क्रममा थोराङ ला पासको यात्रामा भने घुँडा–घुँडा आउने हिउँमा खुट्टा चोपल्दै हिँडे। त्यसपछि झन् थाहा पाए, हिउँको असली स्वाद।
सगरमाथा आरोहण अभ्यासका लागि ६,१८६ मिटर उचाइको आइल्यान्ड पिक चढ्दा बल्ल पो थाहा पाए, हिमाल भिरालो मात्र हुँदैन। खाल्डाखुल्डी पनि हुन्छन्। ठाउँ–ठाउँमा सम्म पनि हुन्छन्। चट्टान पनि हुन्छन्।
जिरेल समुदायबाट पहिलो सगरमाथा आरोही एलबी जिरेलको सहयोगमा आइल्यान्ड पिक चढ्दाको अनुभूति निकै सम्झनलायक रहेछ केसीसँग।
जब गाइड र अरू आरोहीसँग केसी आइल्यान्ड पिक चढ्न थाले। चढ्न सुरु गरेको केही बेरदेखि नै उनले सोध्न सुरु गरेका थिए, ‘अब कति माथि छ?’
‘अब आइपुग्नै लाग्यो, अब आइपुग्नै आँट्यो।’ सबैले बारम्बार उस्तै उत्तर दिँदै जान्थे।
‘पछि त अलिकति पनि हिँडिएको हुँदो रहेनछ,’ उनले सुनाए, ‘मलाई यसरी नै सबैले हौस्याउँदै लग्नुभयो।’
आइल्यान्ड पिकको टुप्पोमा पुग्नै आँट्दा भने सबैले झनै बढी हौस्याए। सफलताका लागि बधाई दिए। उनमा छुट्टै विजयी भाव पलाएको थियो। मुस्कानले ओठ फैलिएको थियो। चुचुरोमा पाइला राख्नेबित्तिकै भने उनको हिक्का छुटेछ। मैले चढेँ भन्न खोज्दा घाँटीमा कुन्नी केले किलकिले लगायो। त्यसपछि उनी डाँको छोडेर रोए। गाइड जिरेललाई ‘मेरो भगवान’ भन्दै अँगाले हाले।
जिरेलले सम्हाले, ‘यो कुनै ठूलो कुरै होइन। यतिसम्म कि, सगरमाथा चढ्नु पनि ठूलो कुरा होइन।’
पहिलो हिमाल आरोहण क्रममा कतै चोटपटक नलागी यात्रा गरेका केसीलाई दोस्रोपटक भने अलि बढी सकस भएछ। ‘हिमाल पहिलेभन्दा अलि सजिलै हो,’ उनले अनुभव सुनाए, ‘जुत्ता गह्रुंगो परेछ। एकपटक त म हिउँको खाल्डोमै जाकिएँ।’
यसरी दुइटा हिमालसँग जुधिसकेपछि हिमाल र हिउँबारे उनका पुराना धारणा दिमागबाट बिलाइसकेका छन्। त्यसको ठाउँमा नयाँ ‘फिट’ भएको छ।
तर, उनलाई यत्तिले पुगेको छैन। दिमागमा अझै नयाँ कुरा भर्न मन छ। पहिल्यै थाहा पाएका कुरा कत्तिको सही या गलत हुन्, जाँच्नु छ। उनी यी सबै कुरा सगरमाथा चढेपछि पत्ता लगाउनेछन्।
चैत २० देखि काठमाडौंबाट सुरु हुने सगरमाथा आरोहण यात्रा सफल भए उनी नेपालकै पहिलो दृष्टिविहीन सगरमाथा आरोही हुनेछन्।
‘मैले सगरमाथाको सफल आरोहण पक्का गर्छु,’ उनको बोलीमा दृढ आत्मविश्वास सुनिन्छ, ‘सपनामा त मैले कयौंपटक सगरमाथा चढिसकेको छु।’
चार वर्षअघि उनले सगरमाथा चढ्ने अठोट लिएका थिए, त्यो विपना थिएन। सुन्नेले भनेका थिए, होसमा त छस्? तर, उनी पूरै होसमै थिए।
‘छोटो समय तर निकै सोचेर निर्णय लिएको हुँ,’ उनी भन्छन्, ‘मनैदेखि चाहेको कुरा पूरा हुन्छ भन्ने विश्वास छ मलाई। मेरो विपना सपनानजिक पुगिसकेको छ।’
सगरमाथामा पाइला राख्ने उनको सपनाको कथा सुरु हुन्छ, चार वर्षअघि।

दृष्टिविहीनका लागि सूचना तथा प्रविधि सहजीकरण अभियानमा लागेका उनका साथी खुमराज शर्माले काठमाडौंमा क्लेफ नामका एक अमेरिकी भेटेका थिए। गफगाफ क्रममा शर्मासँग कोलोराडो राज्यका ती अमेरिकीले नेपालका हिमालका बयान गर्न थालेछन्। दृष्टिविहीन शर्मासँग त्यसैबेला उनले कुरा झिके, ‘मेरै राज्यका एक दृष्टिविहीनले सन् २००१ मा तपाईंहरूकै देशको सगरमाथा सफल आरोहण गरेका थिए। तपाईं चाहनुहुन्छ भने दृष्टिविहीन नेपालीहरूलाई म रक क्लाइम्बिङको तालिम दिन सक्छु।’
फरक क्षमता भएका व्यक्तिको सशक्तीकरणका लागि काम गर्दै आएकालाई यत्तिको अवसर निकै ठूलो भइहाल्यो। शर्माले बाग्लुङको एक स्कुलमा पढाउँदै आएका अमिट केसीलाई फोन गरे र कुरा सुनाए। केसीले चासो देखाए। क्लेफ पनि सकारात्मक भए। पोखरामा करिब ४० दृष्टिविहीनहरूलाई रक क्लाइम्बिङको तालिम सुरु भयो। अमिट विद्यालयको छुट्टी मिलाएर पोखरा आइपुगे।
रक क्लाइम्बिङको तालिम क्रममा धेरैमा नयाँ जोश र उत्साह पलायो। जोशै–जोशमा अमिटले फ्याट्ट सोधे, ‘हामी हिमाल पनि चढ्न सक्छौं त?’
‘माछा पानीमा पौडन सक्छ त भनेजस्तो प्रश्न भयो यो त!’ क्लेफले यसो भने, तर कसैले बुझेनन्।
क्लेफले प्रस्ट्याउन थाले, नेपाल हिमालै हिमालको देश हो। यस अर्थमा नेपाल हिमालहरूको समुद्र हो र यहाँका मान्छे माछा हुन्। नेपालीहरूको त रगतमै हिमाल हुन्छ।
सन् २००१ मा सगरमाथा आरोहण गर्ने अमेरिकी नागरिकको उदाहरण दिँदै क्लेफले थपे, ‘होचा डाँडाकाँडा मात्र देखेका अमेरिकीले हिमाल चढ्न सक्छ भने नेपालीहरूले नसक्ने कुरा हुन्छ?’
क्लेफको कुराले अमिटलाई घत पर्यो।
यसपछि कस्सिए, हिमाल चढ्न। अभ्यास क्रममा डोरी समातेर चट्टान चढ्न र थोराङ लाको हिउँसँग केही दिन बिताएपछि उनमा झनै हिम्मत बढेको थियो।
उनी गाउँ पुगे। आफूले पढाइरहेको स्कुलमा सुनाए। सुरुमा त स्कुलले सहयोग गर्ने वचन दिएको थियो। ‘म अभियानमा लागेँ, पछि त धेरै गयल भएको भनेर मलाई निष्कासन पो गरिएछ,’ उनले दुःखेसो पोखे।
उनलाई आफैंलाई सम्हाल्ने सूत्र बनाए, हिम्मत हारेको मनले हिमाल चढ्न सक्दैन। देखिने/छोइने चिजले बनेको सगरमाथा चढ्नुअघि मनमा नदेखिने/नछोइने हिम्मतको सगरमाथा ठड्याउनुपर्छ।
श्रीमतीलाई सुनाए। सुरुमा त पत्याइनन्। जब श्रीमानले साँच्चिकै भनेको पत्तो लाग्यो, उनी त रुन पो थालिछन्। भनिन्, ‘बाँसका आँखाजस्ता दुई सन्तान छन्। तपाईं जागिर खानुहुन्छ। घरव्यवहार राम्रो चलेकै छ। छोराछोरीको राम्रो भविष्य बनाउन अहिलेकै अवस्थाले भरथेग गरिहाल्छ। किन धेरै महत्वाकांक्षा राख्नुहुन्छ?’
‘यस्तो बेला मैले कठोर हुनै पर्थ्यो,’ केसीले सुनाए, ‘म कठोर नबनेर रुन्चे पारा देखाउन थालेको भए दुवै जना रोएरै बित्थ्यो। मैले अहिलेसम्म दुइटा हिमाल चढेकै हुन्थिनँ। सगरमाथा त परको कुरा।’
श्रीमान्–श्रीमतीको घर सल्लाह चलिरहँदा छोराछोरी पनि सँगै बसेर बाबुआमाको मुखतिर आलोपालो हेरिरहेका थिए। अमिटले कडा स्वरमा श्रीमतीलाई भनेछन्, ‘हेर, तिमीले चाहेको भए राम्रो खानदानको केटासँग बिहे हुन्थ्यो। तिमीले मलाई र मैले तिमीलाई पाउन जति दुःख गरेका छौं, हिमाल चढ्न त के दुःखको कुरा हो र? धर्तीमा हाम्रो जन्म हुनु, दुःखका साथ जोडी बाँधिनु मात्र पनि त ठूलो कुरा होइन।’
आमाको काखमा लुपुक्क टाँसिएर बसेका छोराले आमाको मुखतिर हेर्दै भनेछन्, ‘ममी म पनि बाबासँगै हिमाल चढ्छु नि।’
अबोध बालकको यस्तो कुरा सुनेपछि अघिसम्म धमिलिएको श्रीमतीको अनुहार एक्कासि उज्यालियो।
‘बाउको काँधमा बसेर चढ्छस् हिमाल?’ छोरालाई भनिन्।
‘काँधमा चढ्दा त बाबालाई गाह्रो भै’हाल्छ नि। मलाई एउटा बाक्लो ज्याकेट किन्दिनु। म बाबाको हात समात्दै हिमाल चढ्छु।’
चार वर्षे छोराको कुराले सबै हाँसे। ६ वर्षे दिदीले भाइलाई जिस्क्याउँदै आमासँग भनिन्, ‘ममी बाबालाई नरोक्नु। हामी बाबालाई पुर्याउन र लिन जाने हो।’
छोराछोरीको कुराले अमिटलाई झनै ढाडस दियो। तर, त्यसैदिन श्रीमतीको स्वीकृति भने पाइहालेनन्।
परिवारको प्रसंग चलिरहँदा बीचैमा उनको दाम्पत्य कथा उप्काउन खोज्यौं।
उनले नाम लिए, ‘विद्या, विद्या केसी।’
अघि ‘घरबाट हिमाल देखिन्छ कि देखिँदैन’ भनेर सोध्दा उनले जसलाई सोधेका थिए, उनै रहेछन् अमिटकी श्रीमती।

विद्या दृष्टिविहिन होइनन्। २०६३ सालमा अमिट अपांगता भएका व्यक्तिको सशक्तीकरण अभियानमा लाग्दा अपांगता भएका प्रतिभावानको कला प्रस्तुति तथा सम्मान कार्यक्रमका लागि बाग्लुङ, म्याग्दी र पर्वत जिल्ला घुम्दै थिए। पर्वतको एउटा कार्यक्रममा विद्या टिकट काटेर सांगीतिक प्रस्तुति हेर्न आएकी थिइन्। विद्यालाई कार्यक्रम मन परेछ। कार्यक्रमको प्रशंसासँगै अमिटसँग चिनापर्चीको हात अघि सारिन्।
अमिटलाई याद छैन, उनीहरूबीच भएको पहिलो संवाद के थियो? विद्याले काटेको टिकटको मोल भने याद रहेछ– १ सय ५० रुपैयाँ।
पछि विद्या बाग्लुङ पढ्न आइन्। अमिट पनि बाग्लुङ बजार बसेर समाजशास्त्रमा एमए गर्दै थिए। उनीहरूको भेट बाक्लियो। पत्तै नपाई एकअर्कासँग माया साटिए। प्रेम हुन थालेको एक वर्षमै दुवैले एक हुने निर्णय लिए। विद्याको परिवारको स्वीकृतिबिनै अमिटले बाग्लुङको सर्कुवास्थित आफ्नो घर लिएर हिँडे।
जन्मजातै दृष्टिविहीन र आँखा देख्ने नव–विवाहिता जोडीसँग केही साथी थिए। छोरा र नयाँ बुहारी लिन बीच बाटोमा अमिटका बा र बहिनी आइपुगेका थिए।
अमिटलाई अस्तिको जस्तै लाग्छ, बिहेका यी दृश्य। दस वर्ष बितिसकेछ। तर, सम्झिल्याउँदा अमिटलाई लाग्छ, बिहेपछिको जीवनले त अर्कै बाटो पो समातिसकेछ।
बिहे गरेपछि जसरी अमिटको जीवनले अर्कै बाटो समात्यो, अहिले उनी सगरमाथा आरोहणको बाटोमा छन्। यो चार वर्षमा आफू निकै बदलिइसकेको उनको भनाइ छ। त्यो परिवर्तन सकारात्मक सोचको भएको उनी बताउँछन्।
त्यसको जे–जति श्रेय ज–जसलाई जान्छ, त्यसको ठूलो हिस्साको हकदार उनै श्रीमती हुन्। अचेल त अमिट निराश भएका बेला हौस्याउने/ढाडस दिने उनै विद्या हुन्।
अमिट के कारणले निराश हुन्छन्?
यो चार वर्षमा उनी सबैभन्दा धेरै आर्थिक सहयोग जुटाउन खटिए। निम्न आर्थिक हैसियत भएका केसीले ठूलाबा, अरू आफन्त, विभिन्न विद्यालय र संघ–संस्थाबाट केही सहयोग पाए, जसबाट उनले ६ हजार मिटरभन्दा बढी उचाइका आइल्यान्ड र मेरा पिक चढिभ्याए।
अब उनलाई करिब ५० लाख चाहिएको छ। निकै अनुभवी गाइड, खाना र हिमाल चढ्दा चाहिने सामग्री खरिद गर्न यति खर्च लाग्ने रहेछ। सरकारलाई तिनुपर्ने राजस्व र बीमाबापतको रकम मिनाहा हुँदा करिब १० लाख सहुलियत भएको उनले बताए।
सहयोगका लागि थुप्रै संघ–संस्थाले वचन त दिएका छन्, तर दिनुपर्ने चिज दिइसकेका छैनन्। उनलाई अर्को मुख्य चुनौती भनेको दाता छान्नु रहेछ। ‘धेरैले स्पोन्सर गरिदिन्छु भनेका छन्,’ उनले सुनाए, ‘तर, उनीहरूका आ–आफ्नै स्वार्थ छन्। ती स्वार्थ पूरा गरिदिन मेरो नैतिकताले दिँदैन। त्यसैले को व्यक्ति, कुन संस्था कस्तो भनेर चिन्न गाह्रो परिरहेको छ। मलाई धेरै मान्छेले थोरै–थोरै सहयोग गरिदिनुभयो भने म सगरमाथा आरोहण गर्न सफल हुनेछु।’
उनलाई यसबाहेक अरू चिन्ता छैन। भन्नलाई त धेरैले ‘त्यस्तो जटिल सगरमाथा कसरी चढ्छस्’ भनेर बेला–बेला डर नदेखाएका होइनन्।
सपनाका दृश्य अवचेतन मनका विचार हुन्। त्यसले मनको अवस्था झल्काउँछ। उनको अवचेतन मनमा डर छैन भन्ने सपनाले कयौंपल्ट देखाइसकेको छ।
यो त भयो, राति देखेको सपनाको कुरा, उनले विपनामै देखेको सपनाको कुरा भने अर्कै छ। सगरमाथा आरोहण त त्यो सपनालाई पूरा गर्ने एउटा हिस्सा मात्र रहेछ।
‘अपांगता भएका यस्ता व्यक्तिले यसो गर्यो, उसो गर्यो भन्ने जस्ता सफलताका उदाहरणमा विदेशी नाम धेरै सुनिन्छन्,’ उनले भने, ‘मलाई नेपालमा पनि यस्तो मान्छे छ है भन्ने उदाहरण बन्न मन छ।’
उनको अनुभवले भन्छ, अरू विकसित देशको हकमा दृष्टिविहीन र आँखा देख्न सक्नेले सगरमाथा आरोहण गर्नु भनेको उस्तै–उस्तै कुरा हो। नेपालको हकमा भने फरक छ।
समाजशास्त्र मूल विषयमा एमए उत्तीर्ण केसीले अध्ययनका क्रममा पत्ता लगाएअनुसार मान्छेलाई केही अवसर चाहियो भने त्यो पाउन ऊ आफैं खटिनुपर्छ। अगाडि थप्छन्, ‘नेपालमा अधिकारका लागि कि माग्ने बन्नुपर्छ कि लडाइँ गर्नुपर्छ। म भने फरक तरिकाले लड्न चाहन्छु। त्यो के भने, हरेक मान्छेसँग प्रतिभा हुन्छ। नेपालमा त शारीरिक हिसाबले सबलांग युवाहरू नै बढी डिप्रेसनमा छन्। आफैंलाई चिन्न नसकेर त्यसो भएको हो। अबको संसार आजभन्दा भोलि प्रतिस्पर्धी हुँदै जान्छ। आफैंसँग प्रतिस्पर्धा गर्न नजान्ने हो भने लडिन्छ। म आफैंसँग प्रतिस्पर्धा गर्दैछु।’स्रोत : सेतो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses