रुँदै बिदा भएकी फिलिपिनो ‘जोया’ फेरि नेपाल फर्किइन्
काठमाडौं–लगभग ३ महिनाअघि नेपालबाट फर्काइएकी फिलिपिनी महिला जोया र उनका बच्चाहरु मिगेल र एरिक गत शुक्रबार नेपाल आएका छन् ।
चितवनका जीवन मगरसँग वैवाहिक सम्बन्धमा रहेर २ सन्तान भइसकेको भए पनि नेपालमा भिसाबिना बसेकाले र प्रशासनमा जीवन जोयाको बिहे दर्ता र बच्चाहरुको जन्म दर्ता हुन् नसकेकाले चितवनको आदर्श होम नामक संस्थाको सक्रियतामा फिलिपिनी कन्सुलेटको सहायतामा गत अगस्ट १५ मा जोयासहित उनका २ बच्चाहरु पनि फर्काइएको थियो ।
नेपाली बाबु मार्फत नेपालमै जन्मेका ती २ बच्चाहरुलाई आमासँगै फिलिपिन्स पठाइएपछि घोर अन्याय भएको भन्दै संसारभर छरिएर रहेका नेपालीहरु आक्रोशित बनेका थिए र जोयालाई तुरुन्त नेपाल फर्काउनुपर्ने आवाज उठाए ।
अझ सञ्चारमाध्यममा प्रसारित जोयाको निष्कपट अन्तर्वार्ता, श्रीमान र परिवारप्रतिको स्नेह र सम्मान, सन्तानप्रतिको अथाह वात्सल्य प्रेम, नेपाल र नेपालप्रतिको सम्मान र ५ वर्षपछि पुनः पैसा कमाई नेपाल फर्किने आदम्य प्रतिबद्धता देखेर संसार भरका नेपालीको आँशु थामिएन ।
नेपाली समाजको अपेक्षा विपरीत उनको आदर्श विचार देखेर उनलाई उच्च सम्मान गर्दै ‘‘नेपालकै बुहारी’ नामकरण गरियो । जोयाका नाममा कैयन चिट्ठी, कविता, लेख, रचना फेसबुक, पत्रपत्रिका, अनलाइन साइट आदिमा प्रकाशित भए । थुप्रैले स्टुडियोमै गएर जोयाको नाममा गीत नै रेकर्ड गराए ।
सुरुमा पति जीवनले नहेरेकाले जोयालाई उद्धार गरी फिलिपिन्स फर्काइएको भनिए पनि जोया गएको केही दिनमै एक मिडिया मार्फत जीवनका आमा, छिमेकी र स्वयं जीवनले आफूहरुको सम्बन्ध राम्रै भएको तर गरिबीले गर्दा समस्या निम्तिएको भन्दै मिडियामा बताएपछि संसारभरबाट जोया र जीवनको पुनर्मिलन र जोया र नानीहरुको नेपाल फिर्तीका लागि अभियान सुरु भयो ।
यस क्रममा सामाजिक अभियन्ताहरु नवीन जङ्ग र हङ्कङ्ग निवासी नवांग शेर्पाले ‘‘जोया नेपालकी बुहारी” नामक फेसबुक मार्फत संसार भरका नेपालीहरुलाई सङ्गठित गर्दै सहयोग जुटाए भने नेपालमा नेपाल मगर सङ्घ र डीके मिडियाले जोयाको जीवन घटनाबारे छानविन सुरु गर्यो । जोयाको घर ठेगामा पत्ता लगाउन नविन जङ्ग र डियोन थापाले कैयन दुःख गरे । अनि व्यक्तिगत रकम पठाएर जोयालाई विश्वासमा लिई जोयासँग सम्पर्क स्थापित गर्न सफल भए ।
‘‘नो दलाल डाइरेक्ट ट्रान्सफर, जो पीडित उसकै नाममा खाता” नाराका साथ नवीन जङ्ग र नवांग शेर्पाले सुरु गरेको अभियानमा झन्डै १५ लाख जुट्यो ।
उता जोया जीवनको घटना हेरिसकेपछि गरिब र चोखो मायाका जोडीमाथि अन्याय भएको जिकिर गर्दै अमेरिका निवासी कामी शेर्पाले पनि जोया फर्काऊ अभियान सुरु गरे । जसअन्तर्गत उनले झन्डै १० लाख रुपियाँ जुटाएका छन् । यो जोया नेपाल फर्किसकेपछि केही उद्यम गर्नका लागि प्रयोग गरिने निर्णय भएको छ ।
एउटै उद्देश्यका साथ सुरु भएको कामी शेर्पा र नवीन जङ्गको अभियानमा सहकार्य सुरु भयो ।
जीवनको पासपोर्ट चितवन प्रशासनबाट निकाल्नेदेखि जीवनको विवाह, जीवनमाथि लागेका आरोपको खण्डन गर्दै सत्यतथ्य बाहिर ल्याउने कार्यमा कामी शेर्पाको ठूलो भूमिका रह्यो ।
जीवन मगर आफ्ना मामा कामे मगरसँगै जोया र बच्चाहरुलाई फर्काउन १६ सेप्टेम्बरमा जीवन फिलिपिन्स उडेका थिए । सोही दिन बकोलोडबाट मनिला आई जोया र जीवनको पुनर्मिलन भएपश्चात १७ सेप्टेम्बरमा उनीहरु जोयाको माइती घर बकोलोड उडेका थिए ।
बकोलोड पुगेपछि १ अक्टोबरमा जोया जीवनको विवाह सम्पन्न भयो । त्यस पश्चात जोयाको आईडी, पासपोर्ट, छोराहरु मिगेल र एरिकको ट्राभल डकुमेन्ट बनाउने काम सुरु भयो ।
मलेसियास्थित नेपाली दूतावासले मिगेल र एरिकको ट्राभल डकुमेन्ट बनाई मनिलास्थित नेपाली कन्सुलेट मार्फत जोयाको घरमै ट्राभल डकुमेन्ट पठाई सहयोग गरेको थियो ।
यस बीचमा जीवनलाई फिलिपिन्सको अध्यागमन, नेपाली कन्सुलेट र भारतीय दूतावासले पटक पटक सोधपुछ गरेको थियो ।
जीवनसँगै एक महिना बढी फिलिपिन्स बसेका कामे मगरले निकै मिहिनेत र बुद्धिमत्ताका साथ बिहे दर्ता, जोयाको पासपोर्ट, बच्चाहरुको ट्राभल डकुमेन्ट आदि बनाएका थिए ।
यसरी फिलिपिन्समा सबै कुरा मिलेर नेपाल आउन तयार भइसकेपछि पनि जोयालाई नेपालबाट फर्काइँदा उनलाई ३ वर्षसम्म नेपाल प्रवेशमा लागेको प्रतिबन्ध भने फुकुवा हुन सकेन ।
विविध कारणवश प्रतिबन्ध फुकुवा गर्न नमिले पनि जोया स्वयं नेपालको अध्यागमनमा आइपुगेको अवस्थामा भने परिवारको रोहबरमा छाड्न सकिने झिनो सम्भावना बताइयो ।
नेपालमा प्रतिबन्ध खुलाउन ओखलढुङ्गा–१ का काङ्ग्रेस नेता पेमानिमा शेर्पाले निकै दौडधुप गरेका थिए भने डीके मिडियाका पत्रकार महेश रानाले पनि निकै मिहिनेत गरे ।
फुकुवा हुने आशामै दसैँ तिहार बित्यो । यसबीच जीवन र मामाको भिसा पनि सकिन लागेको र बच्चाहरुको ट्राभल डकुमेन्ट पनि एक्सपायर हुनलागेपछि अभियन्ताहरु बीच छलफल गरी १० तारिखमा जसरी पनि फिलिपिन्सबाट उड्ने तय भयो ।
सोही अनुरुप उनीहरु १० तारिखमा मनिलाबाट इत्तियाड एयर मार्फत दुबई उडे र ११ तारिखको साँझ ५ बजे नेपाल ओर्लिए । पारिवारको रोहबरमा विशेष निगरानीमा रहने गरी जोयालाई नेपाल प्रवेश अनुमति दिइएको छ । हाल उनी पर्यटक भिसामा नेपाल भित्रिएका छन् ।
यसरी विभिन्न मनकारी व्यक्तिहरुको सहयोगले एउटा गरिब परिवारको उद्धार भएको छ भने नेपाली बाबु मार्फत नेपालमै जन्मेर झन्डै पनि विदेशी बन्न लागेका २ बच्चाहरुको नागरिक अधिकार दिलाउने कार्य सफल भएको छ ।
अब केही दिनमै जोया र जीवनले नेपालमा कानुन सङ्गत ढङ्गले विवाह दर्ता गर्नेछन् भने बच्चाहरुको जन्मदर्ता पनि गर्नेछन ।
नेपाल फर्की सकेको सन्दर्भमा न्युयोर्कमा कामी शेर्पाले जुटाएको झन्डै १० लाख रुपियाले जोया जीवनको परिवारका लागि केही उद्यम खोलिदिने भएको छ । लगातार ३ महिनासम्म ५० लाखभन्दा बढी नेपालीहरुलाई उद्वेलित पारिराखेको यो घटनालाई जनतासामु लैजान नेपालका राष्ट्रिय अनलाइन र छापा मिडियाहरुलाई आग्रह गरे पनि कसैले चासो नदिएको अभियन्ताहरुले बताए ।
लाखौं नेपालीको सहयोगले देशनिकालामा परेका नेपालका छोराहरु मिगेल र एरिक अनि बुहारी जोया नेपाल फर्किसकेका छन् । यस परिवारले आगामी दिनमा कुनै मुद्दा मामिलामा नलागी सामान्य जीवन यापन गर्न सकून् ।
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses