अवैध अस्पताल उद्घाटन गर्न हेलिकप्टरमा पुगे मन्त्री

नुवाकोट– स्वास्थ्य सेवा दिने नाममा विदेशीको सहयोगमा नुवाकोटमा अवैध ढंगले अस्पताल निर्माण भएको खुलासा भएको छ । पश्चिमी नुवाकोटमा पर्ने तारुका गाविसको बडा नम्बर १ स्थित चौतारागाउँमा अवैध ढंगले गौरा–पार्वती सामुदायिक अस्पतालको भवन निर्माण भएको खुलासा भएको हो ।

सो अस्पतालको उद्घाटन कांग्रेस नेता तथा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले गरेका थिए । माउन्टेन एयरको हेलिकप्टर चार्टर गरेर पर्यटन व्यवसायी तथा अस्पतालका अध्यक्ष मोहन लम्साल, सोहि अस्पतालका उपाध्यक्ष तथा स्थानीयबासी समेत रहेका शिव अधिकारीलगायते मन्त्री केसीलाई लिएर आइतबार तारुका पुगेका थिए ।

स्थानीयका अनुसार अधिकारीले गाउँलेलाई सबै प्रक्रिया पूरा गरेर अस्पताल निर्माण गरिएको बताउँदै आएका थिए । तर, जिल्ला जनस्वास्थ्य कार्यालयले तीन बेडको भनिएको अस्पताल सञ्चालनको कुनै अनुमति नलिएको बताएपछि अस्पताल अवैध रुपमा सञ्चालन गर्न खोजिएको पाइएको हो ।
अस्पताल अनुमति बिनै सञ्चालन गर्न खोजिएको सार्वजनिक भएसँगै जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । उनीहरुले स्वास्थ्य सेवाको नाममा व्यापार गर्नेमाथि कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग समेत गरेका छन् । ‘राज्यलाई ठगेर बदमासी गर्नेले कसरी जनतालाई प्रभावकारी र सर्वसुलभ सुविधा देखान्’, एक स्थानीयले भने, ‘सस्तो लोकप्रियता र राजनीतिक अभिष्ट समेत बोकेका अधिकारीले मन्त्रीलाई समेत झुक्याउन सफल भएछन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका टलकमान श्रेष्ठले अनुमतिका लागि गौरा पार्वती अस्पताल आफूकहाँ नआएको बताए । उनले अनुमतिबिना अस्पताल सञ्चालन गर्न नपाइने बताए ।
स्वीट्जरल्याण्डका नागरिक बर्नहार्ट बुल्लरले जुटाएको रकममार्फत सो अस्पताल निर्माण गरिएको र त्यसका लागि ६० लाख खर्च भएको पर्यटन व्यवसायी मोहन लम्सालले बताए । आफूले नै बुल्लरसँग समन्वय गरेर अस्पताल निर्माणको काम अघि बढाएको रातोपाटीलाई बताए ।

उनले अस्पताल निर्माणका लागि सबै प्रक्रिया पूरा गरेको र केहि प्रक्रिया छुटेको भए पूरा गरेरमात्रै अस्पताल सञ्चालनमा ल्याउने बताए । तर, अस्पताल सञ्चालनका लागि अनुमति लिनुपर्ने निकायमै अनुमति लिनु भएको रहेनछ नि भन्ने प्रश्नमा उनले आफूहरुलाई सबै प्रक्रियाको विषयमा थाहा भएको बताउँदै भने, ‘अस्पताल सञ्चालन नल्याई अनुमति लिनु पर्छ भन्ने छैन, स्वास्थ्य विभागबाट लिनु परेपनि अनुमति लिन्छौं, कम्पनी रजिष्ट्रारमा दर्ता गरेका छौं ।’
उनले अस्पतालले सबै प्रक्रिया पूरा नगरी एउटा सिटामोल पनि नबाँड्ने भन्दै विदेशीहरु आफैं फिल्डमा खटिएको र उनीहरुलाई स्वेदश फर्किन ढिला भएकाले हतारमा उद्घाटन गरिएको दाबी गरे ।
जनस्वास्थ्यमा आफूहरु जिम्मेवार रहेको बताउँदै उनले अनावश्यक शंका नगर्न समेत आग्रह गरे । तर, स्थानीयले भने पहिला भने सबै प्रक्रिया पूरा गरेको भन्ने र अहिले चाहिँ लिनुपर्ने अनुमति नै नलिएको पाइएकाले शंका उत्पन्न भएको बताएका छन् ।
एक महिनासम्म गाउंमै वसेर स्वीटजरल्याण्डका इन्जिनियर, इलेक्ट्रिसियन, प्राविधिक गरि १६ जना नागरिकहरुले निर्माण गरेको  लम्सालले भनाई छ । यसरी जनश्रमदानबाटै निर्माण गरिँदा र बनावट हेर्दा अस्पताल १० लाखमा बन्ने देखिन्छ तर अस्पताल बनाउँदा हेलिकप्टर चार्टर सहित ६० लाख लागेको सुन्दा गाउँलेहरु अचम्ममा परेका छन् ।

यसैगरी भवनसमेत मापदण्ड विपरितको भएको बताइएको छ । ‘अस्पतालका लागि निर्माण गरिएको भनिएको भवन, मापदण्डअनुसारको हुनुपर्छ, तर गौरापार्वती अस्पतालले कुनै मापदण्ड पूरा गरेको छैन’, एक प्राविधिकले भने, ‘प्राविधिकको समेत नलिइ सामान्य रुपमा भवन बनाइएको छ ।
स्मरण रहोस्, लम्सालकै कम्पनी मकालु एड्भेन्चरले भारतको पुणे सहरका दिनेश र तार्केश्वरी राठौर दम्पत्तिले सगरमाथा आरोहणनै नगरी आरोहण गरेको दाबी गरेको थियो । गत मे २३ मा सगरमाथाको सफल आरोहण गरेको भनेर ती दम्पत्तिको दाबीमा कम्पनीले साथ दिएको थियो । पछि झुट ठहरिएपछि कम्पनीले सोसम्बन्धी डाटाहरु आफ्नो वेभसाइटबाट हटाएको थियो ।
यस्तै स्थानीयबासी समेत रहेका अधिकारीले पनि लम्सालसँग मिलेर व्यापारिक र राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यले फर्जी काम गरेको स्थानीयको आरोप छ ।
विभिन्न वाहानामा नुवाकोटको तारुकामा मोहन लम्साल र शिव अधिकारीले विदेशीको पैसामा आफूहरुलाई सेवा गरेको नाममा माला र बाजा सहित स्वागत गर्न मात्रै लगाउने गरेको नाम बताउन नचाहने अर्का स्थानीयले बताए ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses