मृत्यु कुर्दै आमाछोरा
हेटौंडाः २१ वर्षीय युवा आशीष उप्रेती हेर्दा हृष्टपुष्ट देखिन्छन् । बोलाउँदा हाँसेर बोल्छन् तर उनको हाँसोले हार खाइसकेको छ । मृत्यु स्वीकारेर बसेका आशीषले आमा विनीतासँग जीवन त्याग्ने प्रस्ताव गरेको दुई महिना बितिसक्यो ।
तर आमाले आफ्नो छोराको मृत्यु प्रस्ताव कसरी स्वीकार गर्न सक्थिन् र ? हेटौंडा बजारमा ठेलामा फलफूल बेचेर तीन छोराछोरी पाल्दै आएकी विनीताले पनि पछिल्लो समय हार खान थालिसकेकी छन् । विनीता र उनका छोरा आशीषको दुवै मिर्गोलाले काम गर्दैनन् ।
सात वर्ष काठमाडौंमा संघर्ष गरेकी विनीता छोराको उपचार गर्न नसकेपछि गत वैशाखमा हेटौंडा झरेकी हुन् । ‘मैले भएको सबै सम्पत्ति सकिसकें, थप पाँच लाख रुपैयाँ ऋण छ', उनले भनिन्, ‘मिर्गाैला प्रत्यारोपण गर्न १५ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने भयो, त्यत्रो पैसा जुटाउन नसक्ने भएपछि छोराछोरी लिएर हेटौंडा आएकी हुँ ।'
चिकित्सकले आशीषको तत्काल मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने भनेका थिए । मकवानपुरको हाँडिखोला घर भएकी विनीताका श्रीमान्ले साथ छाडेको पनि एक दशक बितिसक्यो । ‘आमा छोरा दुवैको मिर्गोलामा समस्या देखिपछि श्रीमान्ले दैनिकजसो दुब्र्यबहार गर्न थाले', विनीताले दुःखी हुँदै भनिन्, ‘त्यसपछि घर छाडेर बालबच्चा लिएर काठमाडौं छिरें । गत वैशाखदेखि हेटौंडामा हामी आमाछोरा मृत्यु कुरेर बाँचिरहेका छौं ।'
दुई वर्षअघि काठमाडौं शिक्षण अस्पतालमा जाँच गराउँदा चिकित्सकले आशीषका दुवै मिर्गौला ७७ प्रतिशत खराब रहेको बताएका थिए । ‘डेढ वर्षपछि मेरो बाँकी रहेको मिर्गाैलाले पनि काम गर्न छाड्यो', चितवनको टाँडी स्वास्थ्य चौकीमा डाइलासिस गरेर फर्किएका आशीषले भने, ‘यसरी बाँच्नुको के अर्थ, छिट्टै मर्न पाए हुन्थ्यो ।'
साताको दुईपटक डाइलासिस गर्दै आएका उनलाई चिकित्सकले स्वास्थ्यस्थिति बिग्रदै गएकाले हप्तामा तीनपटक डाइलासिस गर्न भनेका छन् । ‘मेरो औषधि र उपचारमा मात्र महिनमा १५ हजारभन्दा बढी खर्च हुन्छ, म जति बाँचे उति नै परिवारलाई ऋणको बोझ थपिने हो', कक्षा १२ उत्तीर्ण गरेका उनले भने, ‘मृत्यु कुरेर बस्नु साह्रै गाह्रो हुँदो रहेछ ।'
उनलाई रातभर दम र टाउको दुखाइले सुत्न समस्या हुन्छ । ‘राति तीनवटासम्म सिल्पिङ ट्याब्लेट खान्छु तर पनि टाउको दुखेर सुत्न सक्दिन', उलने आफ्नो पीडा सुनाए । गत असारदेखि आशीषले पानी खान नपाएकाले पीसाब पनि बन्द छ । डाइलासिस गर्दा उनको शरीरबाट पाँचदेखि सात लिटर पिसाब निकाल्ने गरिएको छ ।
आशीषकी बहिनी अस्मिना हेटौंडा ४ स्थित भुटनदेवी माविमा कक्षाा ७ र भाइ आस्मिन कक्षा ६ मा पढ्छन् । विनीतालाई ठेलामा फलफूल बेचेर दुई छोराछोरीको पढाइ, जेठा छोराको उपचार र आफ्नै उपचारसँगै घर खर्च चलाउन निक्कै मुश्किल छ ।
‘फलफूल साहुजीसँग पनि थुप्रै उधारो भइसक्यो, उधारो दिन पनि अब त गाह्रो मान्छन्', विनीताले भनिन्, ‘जीवन चलाउने विकल्प नै बन्द हुन लागिसक्यो ।' गत भदौदेखि विनीताले भने डाइलासिस गराएकी छैनन् । ‘
आफू मरे पनि छोरो बचाउन सकिन्छ कि भनेर लागिरहेकी छु', उनले भनिन्, ‘सबै ठाउँमा हारगुहार गरिसकें, कहीँबाट पनि सहयोग पाइएन ।' आफ्नो दुवै मिर्गौलाले काम नगरे पनि कम उमेरका कारण छोराको तत्कालै मिर्गाैला प्रत्यारोपण गर्न पाए उसलाई बचाउन सकिन्छ कि भन्ने विनीतालाई झिनो आस छ ।
मिर्गाैलाले काम नगरेर विनीताकी दिदी निर्मलाले २०४९ सालमा, बहिनी लक्ष्मीले २०६१ सालमा र भाइ मुक्तिराजले २०५६ सालमा ज्यान गुमाइसकेका छन् । ‘मिर्गाैलाको समस्याले तीन छोरा छोरी गुमाइसकें', विनीताका बुबा घनश्याम सेढार्इंले भने, ‘मिर्गोलाको समस्याले मेरो त वंश नै नाश हुने भयो ।'
घनश्यामले माइली छोरीका जेठा छोरा (नाति) लाई भने आफ्नो एउटा मिर्गाैला दिएर बचाएका छन् । ‘यो ज्यानमारा रोग मेरो सत्रुलाई पनि नलागोस्', ७२ वर्षीय घनश्यामले भने । उनकी श्रीमती पनि २१ वर्ष अघि सडक दुर्घटनामा परी राम्ररी हिँडडुल गर्न सक्दिनन् ।
एक अर्काको मृत्यु कुरेर बसिरहेका घनश्यामकी साइली छोरी विनीता छोराको बिग्रँदो स्वास्थ्यस्थितिका कारण थप चिन्तित छिन् । ‘यो संसारमा भगवान रैछ भने मेरो छोराको जीवन बाँच्छ होला', उनले भनिन्, ‘सहयोगी मनहरूलाई मेरो छोरा बचाइदिन अनुरोध गर्छु ।'
साभार: अन्नपूर्ण पोष्ट
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses