कम्युनिष्टले किन मनाउँदैन तिहार ?

यसरी भयो तिहारको शुरुवात
यो कृषि युगको कुरा हो । करिब ३ हजार वर्ष अगाडि नै कृषि युगको प्रारम्भ भइसकेको थियो । त्यही बेलादेखि नै यो पर्व मनाउन शुरु भएको हो ।

हिन्दी भाषामा यो पर्वलाई त्यौहार भनिन्छ । तिहार भन्ने शब्द त्यहीँ त्यौहारको अपभ्रंस भएर बनेको हो । गंगा नदीले बनाएको मैदान जहाँ कृषि संस्कृति थियो, त्यहाँ वाली भित्र्याएपछि उत्सव मनाउने प्रचलन भएको देखिन्छ । यस्तो प्रचलन संसारका सबै किसान भएको ठाँउमा हुन्छ ।

त्यहीँ क्रममा बाली भित्र्याएपछि बाली लगाउन वा त्यो जिविकालाइ अगाडि बढाउन सहयोग गर्ने सबै जनावरहरुलाई पनि त्यो उत्सवमा सामेल गर्ने गरिएको समाजशास्त्रीहरु बताउँछन् ।

छठपर्व पनि तराइमा वाली भित्र्याइसकेपछि मनाइने पर्व हो । त्यतिबेला बाली घरमा भित्र्याउँदा आजभोली जस्तो एक–दुई दिनमा सम्भव थिएन । आजको जस्तो प्रविधिको विकास भएको थिएन । ट्रयाक्टर वा आधुनिक प्रकारका औजारहरु केही पनि थिएनन् ।

त्यतिबेला सिंगै खलक अथवा वस्ती मिलेर पालैपालो बाली भित्र्याउने चलन थियो । यसो गर्दा महिनौ लाग्ने गर्दथ्यो ।

वाली भित्र्याउने पर्वहरु लामा–लामा नै छन् । दसैँ पनि त्यसकै एक रुप हो । दसैँ १५ दिन मनाउनु, तिहार पाँच देखि सात दिन मनाउनु यसैका प्रमाण हुन् ।

कृषिवालीमा हुने विभिन्न किरा, फट्यांग्राहरु नाश गरिदिने सर्भक्षीप्राणी हुनाले कागलाई पूजा गर्न थालिएको हो । त्यसैगरी कृषि या सम्पत्तिको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले कुकुर पूजा गर्न थालिएको हो ।

त्यसैगरी जमिन जोत्नको लागि गोरु चाहिने हुनाले गोरुको पूजा गर्न थालियो । पहिले गोरु तिहारलाइ हल तिहार पनि भनिन्थ्यो । यद्यपि अहिले गोर्वद्यन तिहार भनिन्छ । गोरु तिहार या गोर्वधन पूजा पनि हल तिहारकै अपभ्रंस रुप हो । यी पछि जोडिएका शब्द हुन् ।

जव गंगा मैदानमा हिन्दु मतको जन्म भयो । सामाजिक रुपमा आम जनताले मनाउँदै आएको पर्वहरुलाइ पनि हिन्दुकरण गर्ने परिपाटीको शुरुवात भयो । त्यसै अनुरुप तिहारलाइ पनि दुइवटा मिथकसँग लगेर जोड्न थालिएको हो ।

तिहारसँग जोडिएका दुई मिथक

एउटा यमराज आफ्नो बहिनी यमुनाकहाँ आएको र धेरै खुशी भएर यो दिन सधैं सम्झिरहनुपर्छ भन्ने चलन अनुसार हरेक साल मनाउन लागिएको मिथक छ । अर्को चाहीँ वलीराजा पाताल भासिएको र वर्षको एकदिन पृथ्वीमा आउने अनुमति भए अनुसार उनी आँउदा उनको स्वागतमा तिहार मनाउन थालिएको मिथक हाम्रो समाजमा सुन्न सकिन्छ ।

देउसीको इतिहास

पहिले पहिले ‘देउसी रे’ लाई देउ श्रीराम अर्थात देव श्रीराम भन्ने गरिन्थ्यो । पछि राम हट्दै गएर देवश्री मात्र भएको हो । अझै पछि अप्रभंस भएर देउसी रे हुन पुग्यो ।

यो कथा रामायणसँग जोडिएको छ । रामले रावण बध गरेर आएपछि सबै जनता सडकमा निस्केर देव श्रीराम, देव श्रीराम भनेर जयजयकार गरेको र राती घरघरमा बत्ति बालेर दीपावलीका साथमा उत्सव मनाएको कुरासँग यो मिथक जोडिएको छ ।

भैली शब्द पनि अपभ्रंस भएको हो । वलिराजाको पक्षमा गीत गाउनेहरुले बलि बलि भन्दै जाँदा भैली भएको हो ।

गैरहिन्दुमाथि लादिएको औजार

उत्पत्ति जे जसरी भएको भएतापनि यो नेपालको एउटा विशेष पर्वको रुपमा राज्यले मान्यता दिएको पर्व हो । लामो समयसम्मको विदाको कारण यो पर्व गैरहिन्दुमाथि हिन्दुकरण लादिने प्रकृयाको एउटा औजार बनिरहेको छ ।
चाडपर्वहरुलाई कसरी लिने ?

नेपालमा अधिकांश चाडपर्वहरु धर्मसँग गाँसिएका छन् । केही निश्चित चाडपर्वहरु जस्तै महपूजा, घोडेजात्रा, ल्होसार जस्ता पर्वमात्र धर्मसँग जोडिएका छैनन् । यीनै केही पर्वहरु मात्र इतिहाससँग र केही सामान्य संस्कृतिसँग जोडिएका छन् । अधिकांश पर्वलाइ धार्मिक स्वरुप र मान्यता दिइसकेको हुनाले यसमा ५ वटा कुरा गर्न जरुरी छ ।

१. जो मान्छे नमनाइकन छाड्दैनन । चाडपर्व नमनाइरहन सक्दैनन् । ति मान्छेहरुले चाड मनाउँदा उपभोक्तावादी तरिकाले मनाउनु हुँदैन । चाहिने नचाहिने कुरामा खर्च गरेर, ऋण खोजेरै भएपनि चाड राम्रोसँग मान्नुपर्छ भन्नेहरुलाइ हामीले रोक्नसक्नुपर्छ । थोरै खर्च र थोरै लगानीमा किफायती तरिकाले चाड मनाउने संस्कारको विकास गर्न र गराउन पर्छ ।

२. चाड मनाउने, उत्सव मनाउने तर धार्मिक अनुष्ठान नगर्ने चलनको शुरुवात गर्न सकिन्छ । देउसी भैलो खेल्ने तर लक्ष्मीपूजा नगर्ने गर्न सकिन्छ आजको जमानामा लक्ष्मी पूजा गरेर पैसा आउनेवाला छैन । पैसा कमाउनको लागि मान्छेले संघर्ष गर्नुपर्छ । श्रम गर्नुपर्छ । यो कुरा त सबैले राम्रोसँग बुझेकै छन् । त्यसैले ति पर्वलाई धर्मवाट अलग गरेर विशुद्ध साँस्कृतिक रुपमा मात्र मनाउनुपर्छ ।

३. राज्यले तिहारमा ३ दिन विदा दिने गरेको छ । यो धेरै भयो । इदको मौका पारेर रमाजान महिना दिनसम्म चल्छ । त्यतिबेला जम्मा १ दिन विदा दिएर हुने, ल्होसारमा १ दिन दिएर हुने तर तिहारलाइ ३ दिन किन चाहियो ? दसैँमा हप्तौंसम्म विदा किन चाहियो ? यो त सरासर अरु धर्म मान्नेहरु माथिको दमन भयो । राज्य स्वयं दमनको साधन हुनुभएन ।

४.भौतिकवादीहरुले यसलाई नमनाउने साहस गर्नुपर्यो ।

५.भौतिकवादी र लोकतन्त्रवादीहरुले हाम्रै कालखण्डमा अर्थात हाम्रै जीवनकालमा घटेका घटनाक्रमहरुको स्मरणमा ति दिनहरुलाइ साँस्कृतिक पर्वको रुप दिन थाल्नुपर्छ ।

गणतन्त्र दिवस, मइ दिवस, ८ मार्च अर्थात अन्तराष्ट्रिय श्रमिक महिला दिवस जस्ता पर्वलाइ हामी बिशुद्ध राजनीतिक तरिकाले मनाइरहेका छौँ । जुलुश, भेला, वैठक, अन्तक्र्रिया वा सभाहरु गरेर मनाउने गरेका छौं । यी दिनलाइ अब साँस्कृतिक रुप दिन आवश्यक छ ।

पर्वहरुलाइ साँस्कृतिक रुप दिन खानपिन र मनोरञ्जनसँग जोड्नुपर्दछ । त्यसैगरी भावना साटासाटको रुप दिनुपर्दछ । बिहे गरेर गएका चेली वेटीहरुलाइ आठ मार्चको दिन माइतीमा बोलाउने, मिठो मसिनो खाने र भावना साटासाट गर्ने गर्ने हो भने अर्को वर्ष स्वतः त्यो चेलीलाइ आज आठ मार्च हो । मलाई माइतीले बोलाउँछन् भन्ने पर्छ । यसरी विस्तारै पर्व स्थापित हुँदै जान्छ ।

चिन्दै नचिनेको, गरेको हो कि होइन भन्ने विश्वास नभैसकेको लक्ष्मीको गुणगान गाउनु भन्दा अहिले हाम्रै जीवनकालमा लडाकु महिलाले गरेका साहसिक यात्रा र काम गरेका दिनलाइ सम्झँदा खेरी नै हामीलाई आनन्द आँउछ । कथामा लेखिएका रामसीताले गरेको विहे सम्झेर एक्साइटेड हुनुभन्दा आफ्नै हनिमून सम्झेर रोमाञ्चित हुन्छौं ।

त्यसकारण भौतिकवादीहरुले विकल्पका साथ नयाँ साँस्कृतिक पर्वलाई स्थापित गर्न लाग्ने हो भने समाज आफै उन्नत र वैज्ञानिक सभ्यतातिर जान संभव छ ।

राज्य नै उपभोक्तावादको शिकार

यस्ता चाडपर्वको हकमा राज्य पुरै व्यापारीको हकमा उभिएको छ । व्यापारीहरुले एक महिना अगाडिदेखि नै आफ्नो मालको प्रचार गर्न थाल्छन् । जस्तो, कोकले दाइ बोतल, भाइ बोतल बनाएर प्रचार गरिरहेको छ ।

जनताको दिमागमा एक महिना अगाडिदेखि नै दसैँ वा तिहारलाइ व्यापक बनाउने सबैभन्दा पहिले व्यापारीले नै हो । राज्यले त्यहीँ वेलामा कर्मचारीलाइ बढी पैसा दिन्छ । आफै खशीबोका र च्यांग्रा बोकेर चीनतिर जान्छ । राज्यले पनि जनतालाइ उपभोक्तावादी बन्न सघाइरहेको छ ।

राज्यले जनतालाइ गलत आदतमा जानबाट बचाउनुपर्छ । त्यहीँ वेलामा सुपथ मुल्यको पसल खोलिदिनु या जनतालाई यति उति छुट दिन्छु भन्नु चरम उपभोक्तावाद हो ।

हुनेखानेलाइ त जति पैसा खर्च गरेपनि हुन्छ तर गरिवले कहाँबाट ल्याउने बढी पैसा खर्च गर्नको लागि । आम जनताको लागि चाडवाड पनि पिडा बोकेर आउने गरेको छ । त्यसैले राज्यले व्यापारीसँगै हो मा हो मिलाएर सस्तो उपभोक्तावादलाई बढावा दिनुहुँदैन ।

प्रस्तुतीः आस्था केसी

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses