विद्यालयमा बम राखेर जंगलमा बास ! यसरी समातिए दुई ‘आतंककारी’

५ कात्तिक, काठमाडौं । गत असोज ४ गते काठमाडौं र ललितपुरका १० वटा स्कुलमा एकसाथ बम विष्फोट भएको खबरले सनसनी मच्चिएको थियो । स्कुले विद्यार्थी र तिनका अभिभावकमात्रै होइन, सबै काठमाडौंबासी आतंकित बने ।

घटनाको ठीक एक महिनापछि त्यो आतंकका योजनाकारलाई प्रहरीले समातेको छ, त्यो पनि लगातार १२ घण्टाको कठिन अप्रेशनपछि ।

विष्फोटमा संलग्नलाई पहिचान गर्ने र तिनलाई पक्रेर कानुनी दायरामा ल्याउन प्रहरीलाई दबाव थियो । लगातार नौ घण्टाको खोजी पछि घटनामा संलग्न दुईजना पक्राउ परे पनि मुख्य योजनाकारहरु भने अहिलेसम्म फरार नै थिए । अन्ततः योजनाकारमध्येका दुईजनालाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ ।

मीन देवकोटा भन्ने विनोद थापा र माओवादी कम्युनिष्ट केन्द्रका महासचिव भनिएका केशव दाहाललाई पक्राउ गरेर प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । उनीहरुलाई पक्रन प्रहरीले लगातार १२ घण्टासम्म अपरेशन गर्नुपरेको बताएको छ ।

खोजीमा आफन्तको प्रयोग

असोज ४ गते उपत्यका आतंकित भएपछि मुख्य योजनाकार मध्येका मीन देवकोटा भन्ने विनोद थापा र बम विष्फोट गराउने योजनाकार भनिएका पार्टी माओवादी कम्युनिष्ट केन्द्रका महासचिव केशव दाहाल फरार भए । थापाले फोनै गरेर बम विष्फोट आफूहरुले गराएको जिम्मा लिएपछि अपराध महाशाखा र काठमाडौं परिसरको संयुक्त टोलीले उनीहरुको खोजीलाई थप तीव्र पारेको थियो ।

थापा र देवकोटाका बारेमा सूचना संकलनका लागि उनीहरुकै आफन्त परिचालन गरेपछि प्रहरीलाई गत बुधबार सूचना आयो- दुबैजना काभे्रको सिमथली गाउँमा छन् ।

दोलालघाटबाट करिब चार घण्टाको पैदल यात्रामा पुगिने सो गाउँमा थापा र दाहाल लुक्न सक्ने सम्भावित ६ वटा घरको सूची प्रहरीले तयार पार्‍यो । र, त्यही सूचीअनुसार अपराध महाशाखाका डीएसपी रमेश थापाको नेतृत्वमा २० जनाको टोली त्यतातिर लाग्यो ।

बुधबार राति करिब साढे १ बजे प्रहरीले एकसाथ ती ६ वटै घरमा अपरेशन गर्दा दाहाल र थापा पक्राउ परे । उनीहरु पक्राउ परेको घर थापाका काकाको थियो ।

११ बजेसम्म सेन्ट्री, बिहान चारै बजे फरार

अनुसन्धानमा सक्रिय एक अधिकृतका अनुसार दुबैजना सिन्धुपाल्चोकबाट करिब एकसाता अघि काभे्र पुगेका थिए । बम विष्फोटपछि सञ्चार माध्यममा फोन गरेर घटनाको जिम्मा लिएपछि थापा र दाहाल दुबैले मोबाइल बोक्न छाडेका थिए ।

अपराध महाशाखाका डीएसपी थापाले भने, ‘यिनीहरु निकै चलाख रहेछन् । घटनापछि मोबाइल फोन बोकेकै छैनन्, तर हाम्रो सूचनाका आधारमा पक्राउ परे ।’

एक अधिकृतका अनुसार एक महिनासम्म उनीहरु कहिले सिन्धुपाल्चोक, कहिले दोलखा त कहिले काभ्रेका विकट गाउँहरुमा जाने र टाढाका आफन्तका घरमा नाता लगाएर बस्ने गरेको अनुसन्धानमा पाइएको छ ।

उनीहरुले आफू घरभित्र सुत्ने र बाहिर मध्यरातसम्म सेन्ट्री राख्ने गरेको एक अधिकृतले बताए । उनले भने, ‘यिनीहरु तालिमप्राप्त व्यक्ति हुन् । गाउँमा नयाँ मान्छे आएको सूचना दिन राति ११ बजेसम्म सेन्ट्री राख्ने गरेका थिए ।’ मध्यरातसम्म सेन्ट्री राख्ने र बिहान चार बजे नै जंगलतिर गएर लुक्ने यिनीहरुको दैनिकी थियो ।

यसरी बनेको थियो बम विष्फोटको योजना

पक्राउ परेकाबाट प्रहरीले लिएको सूचना अनुसार दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै चन्दा उठाउने योजना बनाउन भदौ २५ गते माओवादी कम्युनिष्ट केन्द्रका अध्यक्ष भनिएका देवेन्द्र सिंह (डीएस) महतको नेतृत्वमा बैठक बसेको थियो ।


काठमाडौं परिसरका एसएसपी बिक्रम सिंह थापाका अनुसार टोखास्थित महतको कोठामा बसेको बैठकमा ९ जना सहभागी थिए । सोही बैठकले विद्यालयमा बम राख्ने योजना बनाएको प्रहरी बताउँछ ।

एसएसपी थापाले भने, ‘विद्यालयलाई आतंकित बनाए सजिलै पैसा असुल गर्न सकिने उद्देश्यसहित यिनीहरुको योजना बनेको देखिन्छ र त्यही अनुसार सबैले कामको जिम्मेवारी बाँडफाँड गरेका थिए ।’

राति १२ बजेदेखि बम राख्ने योजनाअनुसार हरेक ठाउँमा कमाण्डर छुट्याइएको थियो । बौद्ध क्षेत्रको नेतृत्व शंकर लाखे र चन्द्रबहादुर तामाङले गरेका थिए ।

प्रहरीका अनुसार १५ जनाभन्दा बढी मान्छे एकसाथ बम राख्न परिचालित भएका थिए । उनीहरुले असोज ४ गते विहानपख दुई बजे नै तोकिएका सबै विद्यालयमा बम राखिसकेपछि महतसहित मुख्य योजनाकारहरुले काठमाडौं छाडेको अनुसन्धानबाट खुलेको छ ।

बम राख्न आवश्यक विष्फोटक पदार्थ र सिलिण्डरको व्यवस्था मुस्ताकिम अन्सारीले गरेका थिए ।
घटनाका मुख्य योजनाकार महतसहित बम बनाउने र राख्ने अन्य दुईजना भने अझै फरार रहेको प्रहरीको भनाइ छ ।

आठौं पटक समातिए दाहाल

एसएसपी थापाका अनुसार बम विष्फोटका योजनाकार महासचिव भनिएका केशव दाहाल हुन् । उनलाई प्रहरीले पक्राउ गरेको यो आठौं पटक हो । ०६६ सालमा सुरेन्द्र लम्साललाई अपहरण गरेर तीन करोड फिरौती मागेको अभियोगमा उनी समातिएका थिए ।

त्यस्तै ०६६ सालमै काठमाडौंको सुन्दरीजलस्थित नयाँपाटीमा बम विष्फोट गराएको आरोप पनि दाहाल माथि लागेको प्रहरीको दाबी छ ।

त्यस्तै ०७० सालमा गैंडाको खाग र चितुवाको छाला तस्करीको आरोपमा समेत गरी दाहाल ७ पटक पक्राउ परिसकेको एसएसपी थापा बताउँछन् ।

यो समूहसँग हतियारसमेत रहेको हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

‘काठमाडौंमा आतंक फैलाउन सक्ने यिनीहरुसँग हतियार पनि हुनसक्छ,’ एसएसपी थापाले भने, ‘त्यसको खोजी गरिरहेका छौं, यिनीहरु पक्राउ पर्नु ठूलो सफलता हो ।’

विद्यालयमा बम विष्फोट गराउन राखिएका सिलिण्डर, तार तथा अन्य विष्फोटक पदार्थसहित हालसम्म ६ जना पक्राउ परेको प्रहरी बताउँछ । उनीहरुविरुद्ध जन्मकैद हुन सक्ने र संगठित अपराध अन्तर्गत मुद्दा चलाउने प्रहरीले बताएको छ ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses