नेपालमा पाँच हजारको जागिर नहुनेले कोरियामा लाखभन्दा बढी कमाउँछन्
बीएमडब्लु कार होस, आफ्नो नाममा दरबार होस् अनि हाम्रो प्यार होस्— युवा पुस्ताले निदाउन छाडेर देखेका सपना यस्तै–यस्तै हुन्, जसले आफ्नौ घर परिवार छाडेर परदेश लाग्न बाध्य बनाउँछ । अहिले नेपाली युवाका लागि रोजगारीका लागि आकर्षक र सजिलो उपाय दक्षिण कोरिया छ । किनकि भाषा पढे भइहाल्छ । पैसा चाहिँदैन । स्वस्थ शरीर र बोल्न जान्ने व्यक्ति कोरियाको माग हो । सरल भाषामा भन्नुपर्दा नेपालमा पाँच हजारको जागिर नहुनेले कोरियामा लाखभन्दा बढी कमाउँछन् । महिनामा लाख कमाउनु ठूलै कुरा हो भन्ने ज्ञानले सयमा पन्चानब्बे जनाको खुसी खल्बलाइदिन्छ ।सन् २००७ मा सउलस्थित नेपाली दूतावासको स्थापना भएदेखि हालसम्म २५ नेपालीले कोरियामा आत्महत्या गरेको तथ्यांक छ । यसका अनेकौं कारणमध्ये हाम्रो सोचाइ पनि एक हो । जो मानिसले नेपालबाट आउँदा महिनाको आफ्नो तलब दुई लाख–तीन लाख सोचेका हुन्छन् । यसैको आधारमा काठमाडौंको महँगो स्थानमा आफ्नो नामको घर व्यवसाय हुनेवाला पनि सपना देखिसकेका हुन्छन् । गाउँमा पढ्दै गरेका भाइबहिनी, छोराछोरीहरूलाई काठमाडौं बोलाउँछन् । बाआमालाई महिनावारी घर खर्च पठाउने, परिवारको सदस्य हुनाको कर्तव्य पूरा गर्न सक्ने दृढता पलाउँछ । नेपालदेखि कोरियासम्म ६ घण्टाको हवाई यात्रामा उसले हजारौं सपना बुनिसकेको हुन्छ ।<br />
आँखाअगाडि धूलाको मानिस महलमा पुगेका एक दुई भवितव्य घटनाहरू आफूमाथि सावित हुने सम्भावना देख्छ । जहाजको गतिसँगै मान्छेका सपना वेगवान बन्न थाल्छ । जब कोरियाको ट्रेनिङ सेन्टरमा पुर्याइन्छ । जहाँ कामको बारेमा र साहुलाई गर्नुपर्ने आदरभावहरूको उराठलाग्दो दृश्य देखाइन्छ त्यहाँ एक झड्का करेन्ट लागेको महसुस हुन्छ । खाना खान भान्सामा छिर्न सक्दैन, काँचो माछा बिपत्तै गन्हाउँछ । साना बटुकामा सिन्काले भात खानुपर्छ । बोल्न चाहेको कुरा भन्न नजानेर आफूलाई निम्छरो लाग्छ । जंगलबाट पहिलोचोटि बस्ती छिरेको मानवझंै जोकर सावित हुनुपर्दा मान्छेले एक किसिममा आफूलाई दास महसुस गरिसकेको हुन्छ । खाना रुच्दैन सारो–गारो हेरिदिने, मन लागेका कुरा सोचिदिने कोही हुँदैन । ऊ हिजोसम्मको बलवान मानिस आज आधा मरिसक्छ । राम्रा कम्पनीहरूले कोरियामा नै परिपक्क नेपाली कामदार पाउँछन् । जुन कम्पनीले सुविधा दिन सक्दैन, त्यस्तो कम्पनीले यहाँ मान्छे पाउँदैन र नयाँ कामदारको माग गर्छ । नेपालबाट आउनासाथ कसैले राम्रो कम्पनी पाएमा त्यो अपवादमा पर्छ । न तलबको टुंगो न सुविधा न त तलब नै धेरै उसमाथि काम गाह्रो । यी सब अवगुणको कारण नै अनभिज्ञ कामदार मगाउनु हो । तर नेपालबाट आउँदै गरेका मान्छेहरूले चाहिँ यहाँ परिपक्क भइसकेका साथीको तुलनामा सुख सुविधा पाइने सोचिरहेका हुन्छन् । अनि सोचेभन्दा सबै थोक उल्टो हुन थालेपछि सोच पनि उल्टो आउन थाल्छ । आफ्नो आयु लम्बाउनको सट्टा छोट्याउन थाल्छ । संसारलाई निरर्थक मान्न थाल्छ । यी सबै कुराका बाबजुद घरमा पीर गर्लान् भनेर आफू ठीक भएको बनावटी कुरा गर्न थाल्छन् । राम्रा पार्कहरूमा राम्रा फोटा खिचेर फेसबुकमा राख्छन् । अनि त घर परिवारलाई विश्वास हुन्छ कि हाम्रा परदेशी सुखी छ । सबै राम्रा देखेपछि घरमा आशाको ठूलो बत्ती बल्नु स्वाभाविक हो ।<br />
महिना मर्यो । तलबको कुरा आयो । तलब थोरै त्यसैमा खान बस्न परेपछि कति नै बच्छ र ? पुग नपुग पचास हजार घर पठाउँछ । पैसा पठाएको एक दिन एक रातसम्म परदेशीले पैसा थाप्ने आफन्तको फोन कुरेर बस्छ । फोन नआएपछि आफैं गर्छ पैसा आयो ? उताबाट नियास्रो स्वर आउँछ, अँ आयो । पैसा पाएर पनि किन फोन नगरेको ? फेरि उस्तै अल्छे स्वर आउँछ, ‘गरुला भन्थें, त्यत्तिकै भयो ।’ परदेशीलाई पसिनाले निथु्रक्क भिजेको पसिनाको मायाले आक्रोश बनाउँछ र स्वर ठूलो हुन्छ । पचास हजार सितैमा पाएर पाँच रुपैयाँको फोन गर्न गाह्रो भयो ? नेपालबाट पनि स्वर ठूलो आउँछ, ‘जाबो पचास हजार पठाउनु छ कत्रो खप्की देको ? पैसा लिने लाइनमा अरूले एक लाख, दुई लाख थापे आफ्नो जाबो पचास हजार,’ फोन सम्पर्कविच्छेद हुन्छ । पैसाको कारणले पहिलोचोटि परदेशी र घरवासीको सम्बन्धमा चिसो पस्छ । यसपछि परदेशी रक्सी नखानेले पनि बियर पिउन थाल्छन् । अगाडि नै रक्सी पिउन जानेकाले मात्रा बढाउँछ । रक्सीका नशासँगै आफ्ना सपनाका पूर्वदृश्यहरू आँखामा छाउन थाल्छ । तर ती सबै उल्टा र उधोमुन्टो लाएर आउँछन् । अनि सपनासँग आफ्नो मेसो मिलाउन मान्छेले पनि उधोमुन्टो बनाउने सोच कतै झ्वास्स सोच्छ ।रातभरको सोचाइपछि राम्रो कम्पनी खोज्ने निर्णयले केही राहत दिन्छ । बिहान ड्युटीमा जान गोडा लम्कँदैनन् । जीउ उठ्दैन । बाध्यताले लतार्नुपर्छ । आफ्नो कामदारले आलस्यता देखाएपछि साहुलाई रिस उठ्ने नै भयो । बिहानै गालीको वर्षा हुन्छ । कोरियन भाषामा राम्रा कुरा बुझ्न नसके पनि गाली भने स्पष्ट बुझिन्छ । घरमा त सम्बन्ध बिग्रियो नै अब कम्पनीमा पनि सम्बन्ध राम्रो रहँदैन । उसमाथि अर्को कम्पनी जान्छु भनेपछि साहुले शत्रु ठान्छ । दुनियाँ तिकडम गर्दागर्दै पैसा कमाइ हुँदैन । घरमा महिनावारी पैसा पठाउन असम्भव हुन्छ । साहुले बोलाउन छाड्छ । सँगैका साथीलाई मात्र कामको बारे भन्ने खाना खान आफूलाई छुट्टाएर अरूलाई मात्र बोलाउने इत्यादि कुराहरूले मान्छेमा नराम्रो सोचको विकास हुन थाल्छ । पैसा नपठाएपछि घरबाट आफन्तले पनि सम्पर्क पातलो पार्दै लान्छ । अन्तत: तलब आउने अघिल्लो दिन मात्र फोन वा मिसकल आउने पालो बस्छ । पैसाको समस्या परे बीचतिर मिसकल पनि नआउने होइन । हुन त नेपालबाट कोरिया फोन गर्ने चलन हामीकहाँ त्यति छैन । कोरियामा सोचेजस्तो नभएपछि परदेशीले घर फर्कने सोच बनाउँछ । अनि घरमा फोन गर्छ । कोरियामा पाएको दु:खबारे बताउँछ । यतिबिघ्न दु:ख आफ्नै ठाउँमा गरे नेपालमै केही हुने सम्भावनाबारेमा बताउँछ । तर घरकाले यो संवेदना बुझिदिँदैनन् । भन्छन्— नेपालमा केही छैन । न राजनीतिक स्थिरता, न बिजुली, न जागिर, न त सुरक्षा नै । नेपालबाट विदेश जानका लागि मान्छेहरू लाइनमा छन् । तँ विदेश पुगिसकेको मान्छे रित्तो हात घर फर्कन खोज्नु के राम्रो हो ? लाज लाग्दैन ? यस्तै यस्तै । हो यही बेला परदेशीको हारेको मनस्थितिले मृत्युबोध गर्छ । कम्तीमा पनि आफन्तहरूले घर फर्किन भनिदिए, परदेशीको आत्मबल बढ्छ । काम गर्न सक्तिनँ भन्दाभन्दै पनि काम गर्न सक्ने हुन्छ । कमाउँछ पनि । तर घरकाले जसरी भए पनि टिकेर बस, सवैले गरेका छन्, तँ नामर्द न हो भनिदिँदा नै दुर्घटनाको मात्रा बढ्न जान्छ । कमाउन सक्तैन, घरबाट रित्तो हात नफर्की भन्छ ।जसोतसो समस्याले तान्दै भए पनि साथीहरू बढ्दै त जान्छन् नै तर साथीहरूका कुरा पनि उस्तै रहन्छन् । काठमाडांैमा जग्गा कहाँनेर किनियो फलानाका त महल ठडिएछन् । तेरो कोरियाको चिनो काठमाडौंमा के छ ? इत्यादि । सफल मान्छेका यी यावत् संवादहरूले असफल मान्छेलाई धकेल्दै धेकेल्दै भीरको छेउमा पुर्याइसकेको हुन्छ । हजारौँ सफल मानिसका अगाडि आफू एक्लो असफल बाँच्नु भनेको सबैभन्दा बेइज्जती हो । इज्जतविहीन जिन्दगी के बाँचिरहनु ? सायद यस्तै लाग्न सक्म्छ । अन्तत: भीरको छेउमा धकलिएको मान्छेले नयाँ संसार रोज्ने डोरीको सहारा लिन्छ र संसारलाई फुत्त छोडिदिन्छ, जसलाई हामी बाँच्ने मानिसहरूले सबै थोक पचाउन सक्नेहरूले तीनलाई निरीह, हरूवा, नामर्द इत्यादि भनेर धिक्कार्छौं, छि:छि: गर्छौं । हामीले आफूलाई चाहिँ कहिल्यै परिवर्तन गर्दैनौं कि परदेश जानु भनेको सहरमा घर जग्गा जोड्नु सबै थोक होइन । सुविधासम्पन्न ठाउँतिर धुस्रिनु ठूलो कुरा होइन, ठूलो कुरा त यो हो कि मान्छे मानसिक, शारीरिक रूपमा स्वस्थ छ कि छैन । आफू जन्मेको ठाउँका लागि ससाना भए पनि असल काम गर्न सकेकी छ, छैन ? यो महत्त्वपूर्ण कुरा हो । हामीले हाम्रा सवालहरू, सोचहरू कहिले सही बनाउने ? आत्महत्याका घटनाहरू हाम्रै कारणले जन्मिरहेका छन् । गम्भीर मन्थन गरी हेरौं ।स्रोत ; अन्नपूर्ण
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses