सांसद अनिता देवकोटाको जीवन
सांसद अनिता देवकोटाले प्रधानमन्त्री बनेर मुलुकको बागडोर सम्हाल्ने सपना देखेकी छन् । भन्छिन, ‘नेतैनेता रहेको मुलुकमा राजनेता अभाव छ । विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि काठमाडौं उपत्यका उज्यालो भएको छ । घिसिङजस्तै प्रतिबद्ध १० जना नेता भए मुलुक बनाउन समय लाग्दैन ।’ मुलक स्रोत/साधनले सम्पन्न भए पनि सही व्यवस्थापन गर्न नसक्दा मुलुकको समुचित विकास गर्न नसकिएको गुनासो गर्ने सांसद अनिता देवकोटासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
दालभात तरकारीमै स्वाद बसेको छ । कामविशेषले रेष्टुरेन्ट पुग्दा मःमः खान मन पर्छ । सधैंजसो पकाउँछु । मैले पकाएको खाएकाले मीठो भन्दिन्छन् । मलाई पनि मीठै पकाउँछुजस्तो लाग्छ ।
मेरो पोसाक
विशेषतः साडी लगाउने गरेकी छु । कुर्तासुरुवाल पनि लगाउँछु । मध्यमवर्गीय महिलाले कपडामा खर्चन सक्नेभन्दा मेरो हैसियत छैन । सबै रङका कपडा प्रिय लाग्छ । होचो कदको भएकीले प्रायः कपडा सिलाएरै लगाउने गरेकी छु । दाङको घोराहीमै धेरैजसो कपडा सिलाउने गर्छु । कोट सिलाउन परे श्रेष्ठ टेलरिङ पुग्छु ।
मेरो फिटनेस
कहिलेकाहीं मर्निङवाक निस्कनेबाहेक फिटनेससम्बन्धी केही गरेकी छैन । मनलाग्दा पेटभरि खाने नलाग्दामात्रै ‘डाइटिङ’ भन्ने गर्छु ।
मेरो अध्यनन
हिजोआज समितिको प्रतिवेदन पढ्ने, लेख्नेबाहेक अन्य अध्ययन गरेकी छैन । पढ्दा साहित्यिक किताब रोजाइमा पर्छन् । बीपी कोइराला असाध्यै मन पर्छ । श्रीमान् प्राध्यापक हुनुहुन्छ, तसर्थ किताब किन्न लोभ गर्दैनौ । पछिल्लो समय विकसित प्रविधि प्रयोग गरेर आफूलाई चाहिएको विषयवस्तु अध्ययन गर्ने गरे पनि किताब संकलन गर्ने सोख छ ।
मेरो घुमफिर
घुमफिर गर्न रुचाउँछु । अहिलेसम्म ५५÷५६ जिल्ला पुगेकी छु । आठ÷देश टेकेकी छु । घुमेकामध्ये इलाम असाध्यै मन पर्यो । एकपटक अमेरिका जान पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
फुर्सद धेर/थोर हुन्छ । सांसद भएकीले जिल्ला पुग्दा विभिन्न ठाउँ पुग्छु । कार्यकर्ता भेटघाट छँदै छ । आइपरेको समस्याको समाधान खोज्ने प्रयास गर्छु । घरमा रहँदा घरायसी व्यवहार मिलाउँछु । हिजोआज काठमाडौंमा छु । फुर्सद भइहालेमा दाङ पुगिहाल्छु । राजनीतिमा लागेको, त्यहीमाथि महिला भएकीले घरपरिवारलाई समय दिन सकेकी छैन । मेरी छोरी भर्खरै आमा बनेकी छन्, उनी सुत्केरी हुँदासमेत घर लगेर हेरचाह गर्न सकिनँ ।
मेरो खेलकुद
मलाई ब्याडमिन्टन मन पर्छ । हिजोआज पनि कहिलेकाहीं खेल्छु । फुटबल र क्रिकेट हेरेर रमाउँछु ।
मेरो मोबाइल
जिओ नामक मोबाइल बोक्दै आएकी छु । २२ हजार रुपैयाँमा किनेकी हुँ । हरोयो, बिग्य्रो भनेमात्रै मोबाइल फेर्न गर्छु । मोबाइलबाटै फेसबुक, ट्वीटर प्रयोग गर्छु भने अनलाइन म्यागेजिनका समाचार पनि हेर्छु । कहिलेकाहीं क्यान्डिक्रस खेलेर रमाउने गर्छु ।
मेरो टेलिभिजन
टीभीमा समाचार हेर्छु । नेपाली, हिन्दी टेलिशृंखलातिर पनि आँखा लगाउँछु । प्रायः साँझमा टीभी हेर्न साइत जुर्छ । घरमा भएको एलजी टीभी ५२ इन्चको छ ।
मेरो चलचित्र
पछिल्लो समय चलचित्र ‘छक्कापन्जा’ युट्युबमा हेरेकी थिएँ । नेपाली चलचित्र ‘दक्षिणा’, ‘छक्कापन्जा’ र हिन्दीमा ‘बागवान’ मन पर्यो । अमिताभ बच्चन र राजेश हमाल, हेमा मालिनी र मनीषा कोइरालाको अभिनय मन पर्छ ।
मेरो रोग
म स्वस्थ छु । दीर्घरोगले समातेको छैन । पहिले बिरामी परेपछिमात्रै गरिन्थ्यो, हिजोआज समय÷समयमा चेकजाँच गराउँदै आएकी छु । वर्ष दिनमा एकपटक ‘होलबडी चेकअप’ गराउने बानी नै परिसक्यो । ‘ब्लडपेसर लो’ छ ।
म बिरामी छुइनँ भन्ने सोच्छु । त्यही भएर पनि म स्वस्थ रहेकी हुँ । धूमपान, मद्यपानदेखि टाढै छु । यसले पनि स्वस्थ रहन सहयोग पुर्याउँछ ।
मेरो भाषणशैली
आफूले गरेको भाषणशैलीदेखि सन्तुष्ट छु । भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । परिस्थिति हेरेर आक्रामक र बौद्धिक भाषण गर्नुपर्ने हुन्छ । म दुवै प्रकृतिको भाषण गर्न जान्दछु । भाषण गरेकै आधारमा विवादमा तानिनु अस्वाभाविक होइन । पहिले गरे पनि हिजोआज भाषण गर्दा तयारी गर्न छाडेकी छु ।
मेरो संगीत
गीत/संगीत सुन्छु । सबै गायक/गायिकाप्रति उत्तिकै सम्मान छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लिखित ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे’ गीतिकविता गुनगुनाइरहन्छु ।
मेरो भूल
मानिस भएपछि जान/अन्जानमा भूल गरिँदोरहेछ । मैले पनि गरेकी छु । बहुविवाह ‘केस’ मा महिलाको पक्षमा उभिएर मैले गरेको अनुरोधले सिडिओ सकारात्मक देखिए । सो ‘केस’ मा मैले दुवैसँग सोधपुछ नगरी महिलाको पक्षमा रहेर कुरा गरें । सिडिओले पनि पीडक भनिएकाको कुरा सुन्नै चाहेन । पछि मैले अनुभूत गरें– ती महिला सही थिइन् वा गलत मैले सोध्दा पनि सोधिनँ । महिलाको पक्षमा न्याय दिनुपर्छ भन्नेमात्रै सोचिरहें । त्यो ‘केस’ मा मैले गलत गरें कि भन्ने लाग्छ । अहिलेचाहिँ दुवै पक्षको कुरा सुन्ने गरेकी छु ।
संवत् २०४२ तिर सत्याग्रहमा वारेन्ट काटिएको थियो, त्योचाहिँ भूल नगरी पाएको सजाय थियो । भूल गरेको थाहा पाउनसाथ आत्मालोचना गरिहाल्छु ।
मेरो घर
ललितपुरको नख्खुमा तीन वर्षपहिले तीन कोठाको एकतले घर बनाएका थियौं । दाङको अलिकति जग्गा बेचेर घर बनाएका हौं । सामान्यखालको घरको भान्छाघर सकेसम्म आग्नेयतिर नबाउनू भनकोबाहेक वास्तुशास्त्र हेराइएन । घर बनाउँदा ३० लाख खर्च भयो ।
मेरो राशी
म कन्या राशीकी हुँ । ग्रहदशा हेराउने गरेकी छैन । म संस्कृति विश्वविद्यालयमा पनि पढें । पूजा गर्नु, भगवान् मान्नु भनेको मनको साथी हो । मनको शान्ति हो । भगवान् साथी हुन् । कहिलेकाहीं गल्ती गरिहालेमा मैले गल्ती गरें है भनेर खुलेरै क्षमा माग्न सकिन्छ । भगवान् निःस्वार्थी हुन्छन् । ग्रहदशा हेराउन, ग्रहशान्ति गराउने बानी नभए पनि मन्दिर पुगेर भगवान् मलाई सही बाटो हिँड्न प्रेरित गर्नू है भनेर हात जोड्नेसम्म गरेकी छु ।
हातमा सुनको सानो औंठी लगाएकी छु । ग्रह, नक्षत्रको प्रलप्रति विश्वास लाग्छ ।
मेरो सौन्दर्यचेत
कपालमा कहिलेकाहीं रातो मेहेन्दी लगाउँछु । शुक्रवार÷शुक्रवार तोरीतेल लगाएर शनिवार नुहाउने गर्छु । व्युटीपार्लर उद्घाटन गर्दा एक/दुईपटक फेसियल गरेकी थिएँ । अनुहारमा ओले क्रिम लगाउँछु । आँखीभौंको थ्रेडिङ गर्छु ।
मेरो प्रेम
कांग्रेस सभापति शेरबहादुर देउवा नेविसंघ अध्यक्ष हुँदा मेरो श्रीमान् निर्मल देवकोटा केन्द्रीय सदस्य र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि अध्यक्ष हुँदा श्रीमान् नेविसंघ उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि उहाँ प्राध्यापनतिर लाग्नुभयो । ०४२ मा मेरो नाममा वारेन्ट काटिएकाले बाजागाजा नबजाई गुपचुममै हाम्रो मागीबिहे भयो ।
बिहेअघि कसैलाई प्रेम गरिनँ । सायद मन परेको भेटिनँ कि ? तर, लभलेटरचाहिँ धेरै आए । आएका लेटर मैले कहिल्यै खोलिनँ । बुवा क्याम्पसमा पढाउनुहुन्थ्यो । साइँलो बुवा शम्भु पोखरेल माविमा पढाउनुहुन्थ्यो । मेरो नाममा आएको ‘लभलेटर’ नखोली साइँलो बुवालाई दिन्थें । ‘लभलेटर’ पढेर उहाँले प्रेषकलाई सम्झाउनुहुन्थ्यो ।
मेरो सपना
मुलुक स्रोत/साधनसम्पन्न छ । तर, व्यवस्थापन गर्न सकिएको छैन । नेतैनेताको मुलुक भए पनि राजनेता अभाव छ । उपलब्ध स्रोत÷साधन सही सदुपयोग गर्ने हो भने मुलुकमा कायापलट हुन्छ ।
विद्युत् प्राधिकरणमा कुलमान घिसिङ आएपछि मुलुक उज्यालो भएको छ । घिसिङजस्ता १० जना प्रतिबद्ध नेता भए मुलुक बनाउन समय लाग्दैन । त्यसका लागि दृढइच्छाशक्ति भएको नेता आवश्यक छ । एक हिसाबमा राजनीतिक निकास भए पनि आर्थिक विकास हुन सकेन । खान नपाएर विदेश जानु भनेको विडम्बना हो । मुलुकमा उपलब्ध स्रोत/साधनको सही सदुपयोग गरेर समृद्ध नेपाल बनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।
राजनीतिकर्मी भएकाले एकपटक मुलुकको बागडोर सम्हाल्न पाए हुन्थ्यो भन्ने लाग्छ । प्रधानमन्त्री बनेर समृद्ध मुलुक बनाउने सपना देखेकी छु । दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने सोच छ । दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्यका दाङ हो ।
मृत्यु
मृत्यु शाश्वत हो । जीवन क्षणभंगुर छ भन्ने ज्ञात हुँदाहुँदै पनि मृत्युसँग डर लाग्छ । दुःख नपाई मर्न पाइयोस् भन्ने इच्छा भइहाल्छ ।स्रोत : रातो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments
Write Down Your Responses