'लोग्नेले गफ गर्ने, आइमाईले काम गर्ने देश हो नेपाल'

इँग्रिड मिसका गाला चाउरी परेछन्। उमेरले ७० नाघेको पनि केही वर्ष भैसकेछ। डेनमार्कको सम्पन्नता छोडेर नेपालका कुनाकाप्चा घुमेकी यिनी फरर नेपाली बोल्छिन्। सानेपाको नर्सिँग कलेजमा पढाएर धेरै विद्यार्थीहरुलाई नर्सिँगमा उच्च शिक्षा दिएकी इँग्रिडले आफ्नो सम्पूर्ण जीवन दुखी गरिबको सेवा, गरिब मुलुकहरुमा अध्यापन गरेर नर्सहरु उत्पादन गर्नमा लगाएकी छिन्।
डेनमार्कको राजधानी कोपेनहेगेन नजिकै हेलरप गाउँमा आफू जस्तै जीवन समाजसेवामा बिताएकाहरुको समूह बनाएर अविकसित देशहरुमा नर्सिँग सेवाको निम्ति र अनाथहरुलाई पढाउने काममा लगाइरहेकी इँग्रिड अमिच्चबोल पोहोर साल टोली नै लिएर नेपाल घुम्न गएकी थिइन्।
काठमाण्डूमा आफूले पढाएका छात्राहरु ठूला ठूला कलेजका प्रिन्सिपल, अस्पतालका प्रमुख भएको देख्दा उनी त्यसै त्यसै फुरुँग भइन्। गाउँ गाउँमा आफ्ना पुराना गाउँले साथीहरु भेट्न गइन्। जीवनमा स्कूलको एक पाइलो नटेकेकी उनकी पुरानी मित्र छिन् पाल्पामा।
लुम्बिनी घुमेर तानसेन बजार नजिकैको गाउँमा उनी आफ्नी महिला साथीलाई खोज्दै गएको बेला उनीसँग रमाइला सँवादहरु भएका थिए। हेलरपको उनको सामान्य डेरा र उनी सम्बन्धित सँस्थामा गएर भेटघाट गर्दा थाहा भयो, सम्पन्न र सम्भ्रान्त जीवन बिताउन सम्भवन भएर पनि उनी साह्रै सामान्य जीवन बिताइरहेकी छिन्।
पाल्पाको मदनपोखरा दमकडा गाउँमा ७० नाघेकी निरक्षर साथीसँग भलाकुसारी गर्न कोपेनहेगेनदेखि गएकी इँग्रिड मिसले गाउँलेहरुसँग पनि भलाकुसारी गरिन्। पिँढीमा मकै छोडाइरहेका वस्याल बूढाले मलाई सोधे, 'यो कुइरीका कति केटाकेटी छन् होला? हाम्रो माइलो नातिलाई धर्मछोरो बनाएर लान्छेकी बाउ सोध्दे त'।
वस्याल बूढा एक नम्मरका दिल्लगी मान्छे हुन्। जन्तजाँदा होस् या मलाम जाँदा होस्, यी बूढालाई कसैले छोड्दैन। उनले मिसको विषयमा जान्ने हिसाबले कोट्याएका मात्रै थिए सन्दर्भ। चैतको खडेरीको बेला मिसले अलक्क अम्खोराले पानी खाँदै थिइन्। वस्याल बूढाको कुरालाई बुझिहालिन्। उनले कोट्याइन्, तपाइँका कति जना केटाकेटी छन्?
बूढा लाजले पानी पानी भए। ४ भाइ छोरा, ६ बैनी छोरी। 'सबैको बिहे भयो?' बुढाले थपे 'नाति नातिमा पनि भैसके। बूढो घर कुरेर हामी बूढाबूढी मात्रै बस्याछौँ।' मिसले आफ्ना कुरा खोल्न थालिन्। मैले त बिहे नै नगरेको। बूढाको खसखसी झन् तिब्र भय ।
'किन ब्या नगर्नुभाको?' ठट्यौली मिसले पनि भनिन्, 'नेपालमा तपाइँहरुले छोरीलाई लोग्ने खोज्दिनुहुन्छ। हाम्रो देशमा आफै खोज्नुपर्छ। खोज्दा खोज्दै भेट्तै भेटिएन। मेरा बा कस्तो नजाति। लोग्ने खोज्दै खोजिदिएनन्।'
बस्यालबा रन्किए, ''हैन ए काइँला, कस्ता असत्ति रैछन् यिनका बाउ? तँत यिनको घर पनि पुग्योछु भन्थिस्, कस्तो नजाति कुइरे रैछ हँ?' बूढाको रन्काइ देखेर मिस आफै उत्तर दिन अघि सरिन्। केही शब्दमा असजिलो भए पनि आसय बुझिसकेपछि उनले जवाफ फर्काइन्, 'होइन मैले ठट्टा गरेको। हाम्रो देशमा छोरी मान्छे या छोरा मान्छे १८ वर्ष पुगेपछि घर छोडेर निस्कनुपर्छ। आफैले कोठा खोज्ने, आफैले काम खोज्ने।' यत्ति मात्र हैन, आफैले लोग्ने खोज्नुपर्छ। केटा मान्छेले आफैले स्वास्नी खोज्नुपर्छ। कति अप्ठेरो काम है?'
बिहे नगर्दै केटाकेटी सँगै बस्न पनि पाइन्छ हामीकहाँ। केटाको घरमा केटी, केटीको घरमा केटा बस्न मिल्छ। अनि दुवैतिरका बाबुआमा साथीहरुलाई थाहा हुन्छ। हिजोआज त बिहे नगरी बच्चा जन्माउनेहरु धेरै पो छन्। राम्रोसँग चिनेर बिहे गर्दा आफ्नो मन मिल्ने, काममा नचाहिँदो दखल नदिने, सहयोगी जीवन साथी पाइन्छ भन्ने मलाई लाग्छ। तर मैले भने, आफैले नचाहेर बिहे नगरेकी हुँ।
उच्च शिक्षा सकिसकेपछि मलाई गरिब देशहरुमा गएर काम गर्न मन लाग्यो। महिलाहरु हेपिएका, केटाकेटीहरुले स्याहार नपाएका अफ्रिकाका देशहरुमा गएर काम गरिसकेपछि म नेपाल आएकी हुँ। मकै छोडाउन छोडेर मुख आँ गरेर मिसका कुरा सुनिरहेका बसेल बूढाको अनुहार मिसले यति भनिसकेपछि अँधेरियो।
'धत् गतिछाडा रैछन् यी मान्छे बाउ।' मिसले नसुन्ने गरी छेउमा बसेर शुकदेवलाई सुनाए। शुकदेवले पनि होमा हो मिलाए। शुकदेवले थपे, दाइँ हुन्छ बा दाइँ, बिहा नगर्दै बच्चा जन्माउन दिने हो भने यहाँ। तर भीरखर्के जीवनको भने अलि फरक कुरो आयो, मिसले भनेका केही कुरा ठीक हुन्। महिलाहरु कम्ति कष्ट सहन बाध्य छन्।
बाबु आमाको इजेतको डरले जीन्दगीभरी रोएर बिताएका र खप्न नसकेर झुण्डिएर, फुँगालेर परान त्याग्नेहरुलाई के भन्ने? कुरो अलि झक्काझक्की हुन आँटेपछि मिसले भन्नुभयो, नेपाली चलनप्रति मेरो भन्नु केही छैन।
सबै ठाउँको आफ्नै चलन हुन्छ। तर आफ्नो लोग्ने कस्तो हुनुपर्छ भनेर जान्न पाउने, योसँग जीवन बित्ला कि नबित्ला भनेर बुझ्न पाए भने बाँकी जीवन सजिलोसँग बित्थ्यो। त्यसो त बाबु आमाले बिहे गरिदिएर पनि राम्रो भएको उदाहरणहरु धेरै छन्।
'तपाइँ आउँदा कस्तो थ्यो नि नेपाल? कस्तो लाग्याथ्यो?'
बस्याल बाले खुल्दुलि खप्न नसकेर सोधे, उनले भन्दै गइन्, राजा वीरेन्द्रको शासन थियो। मत पढाउन र पाटन अस्पतालमा सेवा गर्न आएकी। बेला बेलामा ओखलढुँगा पाल्पा गोरखाका अस्पतालहरुमा पनि जान्थेँ। मलाई अहिलेसम्म अचम्म लाग्ने यौटा कुरा छ, नेपालमा लोग्नेमान्छेहरुले आइमाइको काम नै छैन भन्छन्। किन काम छैन आइमाइको? बिहान उठेर गाईभैँसीको खानेकुरा बनाउने आइमाई।
बच्चा बच्चीको स्याहार सुसार गर्ने आइमाई। भात तरकारीपकाउने आइमाई। खेतीपातीमा काम गर्ने आइमाई। घरको छिमेकीमा बिहा भयो भने काम गर्ने आइमाई। लोग्नेमान्छेहरु चिया पसलहरुमा गफ गर्छन्। ठूला कुरा गर्छन्। काम गर्दैनन्। एकदम थोरै पर्सेन्टमा होला। तर धेरैजसो लोग्नेमान्छेले गफ गर्ने, आइमाईले काम गर्ने। अनि त्यही लोग्नेमान्छेले भन्ने, आईमाईको काम नै छैन। मलाई एकदम चित्त नबुझेको कुरा।
'झण्डै २० वर्षपछि नेपाल आउँदा के देख्नुभयो त?' भन्ने भूसाल ठूल्दाइको प्र्रश्नमा इँग्रिड मिसले भनिन्, म ब्याँकमा चेन्ज पैसा साट्न गएको। भर्खरको केटीहरुको ब्याँकमा काम गरेको देखेर खुशी लाग्यो। अनि मैले पढाएका विद्यार्थीहरु कलेजका हाकिमहरु भएका। क्याम्पस चलाएका। अनि उनीहरुले अरु केटीहरुलाई पढाएका।
म आउने बेलामा केटीहरुलाई स्कूल जान नदिएका कति घटना देखेको थिएँ। अहिले त सबैलाई पढाउनुपर्छ भन्ने लागेछ। कति धेरै स्टाफ नर्स, कति धेरै डाक्टर केटीहरु, प्रशासनमा केटीहरु। पाल्पा आउँदै गर्दा बुटवलबाट माथि केराबारी भन्ने ठाउँमा मैले चिया पिएको।
चिया बेच्ने दिदीलाई छोराछोरीको बारेमा सोधेको जेठी छोरी पाल्पाकै मेडिकल कलेजमा डाक्टर पढ्दैछ भनेको सुन्दा मेरो आँखामा आँसु आयो। कस्तो राम्रो कुरा।
'आइमाईलाई टाउकोमा चढाए हेप्छन् माइल्दाइ। कुरा यिनका पनि ठीक हुन्। तर, आईमाई जान्ने भएर बिग्रेका घर कति छन् कति।' बस्याल बूढालाई फेरि जँग चलेछ। मकैका डाँठ आँगनतिर फाल्दै उनी मुर्मुरिए। मैले उनको भनाइलाई अलि सहज तरीकाले अथ्र्याइदिएँ। मिसले भनिन्, 'सबैले आफ्नो सीमाहरु बुझ्नुपर्छ। स्वच्छ मनले, नैतिक भएर, जिम्मेवारीपूर्वक घरभित्र घर बाहिर काम गर्ने हो भने समस्या हुँदैन। सँसारमा जहाँ गए पनि कुरा त्यही हो।'स्रोत :सेतो पाटि

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, , ,

0 comments

Write Down Your Responses