मैले नजन्माएकी छोरी
“तिम्रो दाजुभाइ दिदीबहिनी को को छन्?” “एक जना दिदी हुनुहुन्छ।” “अनि दाजुभाइ?” “छैनन्।” “ए... दुई जना छोरीहरू मात्र है ?” “हजुर।” यो साधारण संवाद मेरो जीवनमा सयौँ पटक दोहोरिसक्यो। यसलाई पढ्ने र सुन्ने सबैले सामान्य नै मान्लान्, मैले पनि त्यस्तै मान्दै आएकी छु। यसपछि भने संवादले प्रायः तीनवटा मोड लिन्छ: एकथरी यति सुनेपछि आफ्नो प्रश्नको उत्तर आएको मान्नुहुन्छ, र हाम्रो कुराकानी अर्कैतिर लाग्छ। अर्को प्रतिक्रिया यस्तो हुन्छ, “दिदी बहिनी हुँदा कति रमाइलो हुन्छ है, मेरो पनि भइदिए हुन्थ्यो जस्तो लाग्छ।” म दंग पर्दै सहमतिमा टाउको हल्लाउँछु, वास्तवमै मेरी दिदी मेरी सबथोक हुन्। र, यी दुई प्रतिक्रियाबाहेक तेस्रो किसिमको संवाद पनि निकै जनासँग हुन्छ, जसले मेरो आँत सुकाउँछ र जीउ नै गलाउँछ। यस्ता असंवेदनशील मानिससँग मैले निकै सानैदेखि कुराकानी गर्दै आएँ, तर आजसम्म झेल्दै नै छु। उहाँहरू अति मायालु, भावुक, नजिक बन्दै भन्नुहुन्छ, “ओहो, दाजुभाइ छैनन् है। ठिकै छ, किन नराम्रो मान्नु पर्यो र, छोरा भने नि छोरी भने नि उस्तै त हो।” मलाई जवाफ दिन मन लाग्छ, ‘हैन, मलाई नराम्रो लाग्दैन।’ जुन दाजुभाइ मेरा छँदै छैनन्, ती नभएका व्यक्तिलाई सम्झेर किन चित्त कुड्याँउछु र? तर म यो कुरा भन्न सक्दिन, र त्यसपछि यी नातेदार, साथीसंगी, मान्यजनले अर्ती दिन थाल्नुहुन्छ, “राम्रोसँग पढ्नु है, यताउति नलाग्नु (भन्नुको अर्थ, कसैसँग नभाग्नु)। छोरा भन्दा हामी कम छैनौँ भनेर सबलाई देखाइदिनुपर्छ।” मैले कतिपटक, कति जनाबाट, कुन रूपमा यही सहानुभूतिका शब्द सुनिसकेँ, जसको अर्थ एउटै लाग्छ– दाजुभाइ नभएर तिम्रो जिन्दगी अपुरो छ, तिमीहरू दुई छोरीले गर्दा तिमीहरूको बाबुआमाको जीवनमा कमी छ, तिमीहरूले जति नै कोशिश गर, छोरा हुनुको सार्थकतामा तिमी पुग्न सक्दैनौ। अहिले त म उत्तर दिन सक्छु, म भन्न सक्छु, “मलाई छोरा र छोरी उही हो जस्तो लाग्दैन, र मलाई छोराहरुसँग कुनै प्रतिस्पर्धा पनि गर्नु छैन। म आफूले सकेजति असल र सफल छोरी हुन्छु।” तर यो उत्तर मैले भन्न थालेको र लेख्न थालेको केही वर्ष मात्र भयो। त्योभन्दा अघि मसँग यस्ता तीखा वचन र वर्णनहरुसँग बच्ने कुनै शब्द नै थिएन। मैल सुनेकी छु, म आमाको पेटमै हुँदा कति जनाले भनेका थिए रे, “पहिले छोरी जन्मिई, अब छोराको पालो।” म जन्मिँदा मैले कति जनाको मन खिन्न पारेँ होला ! सानै हुँदा एक जना आफन्तले आमाको बारेमा कुरा गर्नुभएकी सम्झिन्छु, “मैले भाउजुलाई भनेकी थिएँ, यो मन्दिरमा जानु, छोरै हुन्छ भनेर। मेरो कुरा सुन्नुभएन!” यो भनाइको पूरै अर्थ नबुझे पनि मलाई त्यतिखेरै रुन मन लागेको थियो, आफू अनावश्यक र अवाञ्छित जस्तो, आफ्नो अस्तित्व नै एउटा गल्तीजस्तो लाग्न सुरु गरेको थियो, जुन भावनाले मलाई अहिलेसम्म पछ्याइरहन्छ। नत्र किन मान्छे बारम्बार हाम्रो अगाडि छोराको कुरा गर्थे होला र? आफ्नै मनको सन्तोकका लागि मैले आमासँग पनि सोधेकी थिएँ, “हजुरहरुले किन अर्को सन्तान पाउनुभएन? हजुरलाई चाहिँ छोरा चाहिएन?” उहाँले फ्याट्टै उत्तर दिनुभयो, “दुईवटा बच्चा हुँदा एउटा छोरा एउटा छोरी होस् भनेर लाग्नु स्वाभाविक मानव चाहना हो नि! तर हामीले दुई जना मात्र पाउने भनेर योजना बनाइसकेका थियौँ, मलाई त्यो तेस्रो बच्चाको बारेमा सोच्न पनि मन थिएन।” आजभन्दा लगभग तीस वर्षअघि, कुन आँटले र कुन दृढताले बुवाआमाले यो निर्णय लिनुभयो होला, र अझ छोरीछोरी पाएको “अभियोग” मा कति नमिठा टिप्पणी र नचाहिँदा सल्लाह सुझाव सुन्नुभयो होला (र अहिलेसम्म सुनि नै रहनुभएको छ), त्यो कल्पना गर्दा पनि मलाई रिँगटा छुट्छ। यो कुरा म मेरी सहकर्मी साथीसँग पनि गर्छु। उनी त आमाबुबाकी एक्ली सन्तान, उनका अभिभावकलाई अर्को सन्तान जन्माउन सुझाउने कति जना आए होलान् ? (मलाई यो कुरा पनि असहज लाग्छ, सन्तान उत्पादनजस्तो नितान्त व्यक्तिगत निर्णय हाम्रो समाजमा साझा चासो बनिदिन्छ। मानौँ अरुलाई खुसी पार्न उनीहरुले भने–भनेको समयमा उनीहरुले भनेकै लिङ्गको सन्तान जन्माउनुपर्ने !) सहकर्मीले भनेअनुसार उनकी आमालाई छोरा पाउने थुप्रै दबाब आए। तर उहाँ टसमस हुनुभएन। उहाँको उत्तर हुन्थ्यो, “मरेपछि भात किन खानुपर्यो? मलाई पिण्ड सिण्ड चाहिन्न, तिमीहरु नै छोरा जन्माउ, तिमीहरु नै स्वर्ग जाउ!” आज दशकौँपछि मलाई उहाँको त्यही निस्फिक्री जवाफ दिन सक्ने साहसको खाँचो छ। भन्नेले त भन्नुहुन्छ, यी सब पुराना अनुभव मात्र हुन्। जमाना कहाँबाट कहाँ पुगिसक्यो, हामी भने अझ छोरा र छोरीको विभेदको कुरा गरेर बसिराख्छौँ। भन्नेले यो पनि भन्नुहुन्छ, अहिलेको जमानामा तपाईँ बस्ने शिक्षित समाजमा पनि यस्तो कुरा हुन्छ र! जसले यो भन्नुहुन्छ, उहाँहरु या त अत्यन्त उदार विचार भएका व्यक्तिहरुसँग मात्र सङ्गत गर्नुहुन्छ, कि बुझेर पनि बुझ पचाउनु हुन्छ, वा यसलाई “नारीवादी” मुद्दा मानेर उहाँहरु स्थान नै दिन चाहनुहुन्न। उहाँहरु बेलाबेला आरोप पनि लाउनुहुन्छ, अहिलेका नारीवादीहरुले परम्परा र रितिथिति बुझेनन्, एउटै दृष्टिकोणले समाजलाई हेरे, यसका मूल्य मान्यतालाई भाउ दिएनन्। मेरो दृष्टिकोण फरक हुन सक्लान्, म मान्छु, तर मेरो भावना र मेरो अनुभव कसरी झुठो र गलत हुन सक्छन्? गत वर्ष दसैंमा टीका लगाउन जाँदाखेरि एक जना मान्यजनले आशीर्वाद दिनुभयो, “ल अब एउटा नाति पाएर हामीलाई दिइहाल्नु पर्यो !” मेरो मनै चिसो भयो। मेरी भविष्यकी छोरीले मनमा त ठाउँ पाइन रे, शब्दमा पनि जन्मन नपाउनु ? छेउमा उहाँकै छोरा आफ्नी छोरी खेलाउँदै बस्नुभएको थियो। त्यतातिर हेर्दै मैले भनेँ, “नातिनी भए चाहिँ हुन्न है?” मान्यजन अलि आत्तिनु भए जस्तो लाग्यो। हत्तपत्त भन्नुभयो, “हैन हैन, हामीलाई नातिनी भए पनि हुन्छ, आजकल त जे भए नि के फरक पर्यो र !” यो अनुभव सुनेर मेरी दिदीले हाँस्दै भन्नुभयो, “अनि लाटी, बच्चा पाउ भनेकै छोरा पाउ भनेको त हो नि! कसैले “ल छोरी जन्मियोस्” भनेर आशीर्वाद दिएको सुनेकी छौ? त्यो भनेको त श्राप दिए समान हो।” यी दिदीसँग म असाध्यै मिल्छु र मेरा सन्तान भए उहाँकी जेठी छोरी जस्तै होस् भन्ने मलाई लागिरहन्छ। मभन्दा केही वर्ष मात्र ठूली यिनै दिदीले पनि दुई छोरी हुँदाको आफ्नो अनुभव सुनाइरहनु हुन्छ। दोस्रो सन्तान गर्भमै हुँदा एउटी नातेदारले उहाँलाई आएर बधाई दिनुभएछ, “ल छोरा पाउन लागिछौ, बधाइ छ।” दिदीले अचम्म मान्नुभयो, उहाँको लागि त आफ्नो सन्तानको लिङ्ग रहस्य नै थियो। आफूले जाँच नगराएको कुरा नातेदारलाई सुनाउनु पनि भयो, तर ती नातेदारले ओठ लेपर्याउँदै भन्नुभएछ, “एउटी छोरी भइसकेपछि चेक नगराई दोस्रो बच्चा जन्माउने मुर्ख नि हुन्छन् र अचेल! मैले पत्याउँछु भन्ठानेको!” कस्तो सजिलो गरी भनिएको तर कति भयानक अर्थ बोकेको वाक्य छ यो। यी दिदीकी नातेदार पक्कै पढेलेखेकी र कुरा बुझ्ने नै हुनुहुन्थ्यो। उहाँ पक्कै पनि त्यो दुर्गम गाउँकी हुनुहुन्न थियो, जसकी एउटी आमाको तेस्रो सन्तानको जन्मको भिडियो मैले हेरेकी थिएँ। तेस्रोपल्ट पनि छोरी नै जन्मिएपछि नानीकी हजुरआमाले भन्नुभएको छ, “फेरि राँडी नै जन्मिछे!” त्यो भिडियोमा यो शब्द सुन्न पाइदैँन, “बिप” गरेको आवाज मात्र सुनिन्छ। मलाई त्यो हेर्दा लागेको थियो, बरु हाम्रा गाउँहरुमा यसरी खुलेरै छोराको चाहना प्रदर्शन हुन्छ, हामी सहरहरुमा भने त्यही शब्द लुकाएझैँ गरी हाम्रो उत्कट छोरामोहलाई घुमाइफिराइ उजागर गर्न खप्पिस भइसकेका छौँ। छोराको तिर्सना कस्ता कस्ता कारणले हुँदो रहेछ, म झन झन अनौठा कारण जान्दैछु। एक–दुई वर्षअघि आन्टीले भन्नुभयो, “बुहारीहरु तीन बहिनी छोरी मात्र हुन्, तर पनि मैले छोराको बिहे गरिदिएँ।” मलाई अचम्म लाग्यो, बुहारीको दिदीबहिनीसँग बिहेको के सम्बन्ध? चार बहिनी छोरीहरु भएकी मेरी साथीले पो मलाई सम्झाइन्, “नातिनातिना जन्मिएपछि उनीहरुको जाने मावल हुँदैन भनेर छोरीहरु मात्र भएको घरमा बिहे गर्दिन खोज्दिदैनन् क्या, हाम्रोमा नि कत्ति त्यस्तै हुन्छ!” हुन त यो विषयमा जत्ति लेखे पनि मैले पोख्ने मेरो पीडा र आक्रोश मात्र हो। तर यो विषयले मेरो जीवनलाई यति नजिकसँग छोएको छ, यस्तो प्रभाव पारेको छ र मेरो व्यक्तित्वलाई नै बदलेको छ, प्रत्येक उदाहरण र घटनाले मेरो आक्रोशलाई अझ बढाइरहेको छ। मैले समाजका आँखामा आफ्नो स्थानको भेउ पाउन थालेको वर्षौँ बितिसक्यो, तर पनि हरेकपटक यो विभेद मलाई नयाँ नयाँ ठाउँमा दुख्छ। अहिले पनि बुबाआमाप्रति वा दिदीप्रति नै मेरा दायित्व र जिम्मेवारीमा म कति चुक्छु होला, त्यो मेरो स्वभावले हुन सक्छ, समय वा श्रोतको अभावले हुन सक्छ। तर होइन, त्यो त म “छोरी” भएर पो त, “छोरा” भए उहिल्यै गरिसक्थे! मेरी अर्की दिदीको गर्भावस्था एकदमै चुनौतीपूर्ण थियो। एउटा गर्भपतनपछि अनेक कष्ट सहेर शल्यक्रिया गरेपश्चात प्यारी छोरी जन्मिई। त्यही दिन बेलुकी, दुखाइले थिलथिलो भएको बेला सासुले भनिहाल्नुभयो, “आजकल कति सजिलो बच्चा जन्माउन, प्याज छोडाएजस्तै त रहेछ। ल अब एउटा नाति पनि पाइहाल!” यो सुनेपछि म रोएकी थिएँ, कति सस्तो छ महिलाको शरीर, कति नगण्य छन् उसका भावना, अनि उसलाई जे पनि भन्ने छुट छ हामीलाई। यति धेरै नकारात्मकतामा रुमल्लिँदा आजभालि भइरहेका परिवर्तन मैले देख्दै नदेखेको त होइन। धेरै अभिभावकलाई आफ्नो सन्तान वा नातिनातिना जे होउन्, कुनै फरक पर्दैन। उत्तिकै माया ममता खन्याइरहेको देखिन्छ र उस्तै विशेष व्यवहार गरेको पनि देखिन्छ। खासगरी बुबाहरुले आफ्ना छोरीहरुलाई साना “परी” लाई जस्तो गरेपछि मेरो मन पग्लिहाल्छ। अझ कति जनाले भनेकै सुनेकी छु, “मलाई त छोरी चाहिन्छ।” (परिवर्तनकारी भए पनि यो वाक्य मलाई उत्तिकै विभेदकारी लाग्छ। मान्छे हौँ, मनमा एउटा रहर त भइहाल्छ, तर पछि सन्तानको कानमा यो पुगे उसलाई कति अप्रिय लाग्ला, त्यो मैले बुझ्न सक्छु।) यति परिवर्तन हुँदाहुँदै पनि छोरामोह उत्तिकै जरो गाडेर बसेका उदाहरण हामी जताततै देख्छौँ। एउटा मात्रै सन्तान छ, र छोरा छ भने अर्को सन्तान पाउने उति साह्रो दबाब आउँदैन, आए पनि त्यो सन्तानको लिङ्गमा खासै कसैको चासो हुँदैन। तर छोरी मात्र भएका मेरा सहकर्मीहरु बारम्बार भन्छन्, “जो भेटे पनि छोरा जन्माऊ, नपाएसम्म सुख पाइन्न, छोरीलाई भाइ चाहियो भनेर हैरानै पार्छन्।” मानौँ, महिलाहरुसँग छोरा पाउने चाबी छ, यसो घुमाएपछि हातमा छोरा त पक्का! नसोची बोलिएको एउटै वाक्यले अरुको मनमा कतिसम्मको नकारात्मक प्रभाव पार्न सक्छ भनेर एकचोटि पनि सोचिदिदैँनन् मान्छे। सत्संगमा सारा समय व्यतित गर्ने, अरुलाई दुख दिनु हुँदैन भनेर सुगाले रटेजस्तो भट्याइरहने र धर्मकर्ममा लाखौँ खर्च गर्ने मान्छे नै वास्तविक जीवनमा परपीडक भएर निस्किन्छन्। मलाई आफूमा अब यस्ता भनाइ सुन्ने क्षमता र धैर्य छैन जस्तो लाग्छ। भोलि मैले छोरी जन्माएछु भने, छोरीको हात डोर्याउँदै जाँदा कसैले, “अब छोरा चाहिँ कहिले पाउने?” भनेर कसैले सोधे म जवाफ नदिई बस्न सक्दिन। छोरीलाई काखमा राखेर माया गरेजस्तो गर्दै, “मामुलाई एउटा भाइ पाउनु भन त” भनेर मतिर हेर्दा मेरा बाल्यकालदेखिका सबै उत्तर उर्लेर आउँछन् होला। मेरी अमूल्य छोरीको बारम्बार अवमूल्यन भएको कल्पना गर्दै मलाई रिस उठ्छ। तर फेरि आफैँ हतोत्साहित हुँदै सोच्छु – म गर्न नै के सक्छु र? म वयस्क भएको नाताले जसोतसो मन बुझाउँला, त्यस्ता व्यक्तिहरुसँग नाता तोडौँला, वास्तै नगरी आफ्नो बाटो लागौँला, तर मैले त्यो निर्दोष छोरीलाई यी काँडा जस्ता वचनहरुबाट कसरी बचाउने? कहिलेसम्म उसलाई सुरक्षित राख्ने, कतिञ्जेल यी सर्वव्यापी मानिससँग जोगाउने, उसको क्षमता र औचित्यमाथि बारम्बार प्रश्नचिन्ह उठाउने यो समाजका कारण उसका मनमा स्वाभाविक रूपमा उब्जिने हिनताबोधलाई कसरी मार्ने? आफूलाई “शिक्षित” “सभ्य” र “सुसंस्कृत” भएको घोषणा गर्ने समाजले त नबुझ्ने यी कुरा म सारा संसारलाई कसरी बुझाउने? मेरी आमाले तीस वर्षअगाडि जे भोग्नुभयो, आजको दिनमा उहाँकी छोरीको अवस्था लगभग उस्तै छ। र, मलाई डर यो लाग्छ– २०७३ मा प्रकाशित भएको उसकी आमाको भावनालाई मेरी छोरीले २१०३ मा पनि दोहोर्याएर लेख्नुपर्ने पो हो कि? स्रोत : सेतो पाटि
हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.


0 comments
Write Down Your Responses