हेटौडा छिटो पुग्ने ग्रामीण बाटो;



ललितपुरको सातदोबाटो चापागाउँबाट हेटौंडाको बुद्धचोक जोडिने सडकको अहिले धमाधम निर्माण कार्य भइरहेको छ। ९० किलोमिटर लामो यो सडकको निर्माणका लागि सरकारको दुई वर्ष अघिनै १ अर्ब १९ करोड बजेट छुट्याएको थियो।
यो सडकले हेटौंडा बजाारको केन्द्र बुद्धचोकलाई चुच्चेखोला, मकवानपुरगढी, जीतपुर, सिमात, ठिंगनहुँदै बागमती नदी पार गरेर ललितपुरको बगुवामा जोड्छ। त्यसपछि काल्चे भीर, झाक्रीडाँडा, तीनपाने, टिकाभैरवहुदैँ चापागाउँ चोकमा जोडिन्छ।
अबको साढे २ वर्षभित्र सडक निर्माण सकिने गरी काम भइरहेको कान्ती लोकपथ सडक योजनाका सूचना अधिकारी नातिबाबु खड्काले सेतोपाटीलाई बताए। ‘२०७५ सालको असार मसान्तभित्र काम सकिन्छ,’ खड्काले भने।
हेटौंडालाई ललितपुरका ग्रामिण भेग हुँदै काठमाडौं उपत्यकासँग जोड्ने छोटो, भरपर्दो र वैकल्पिक लोकमार्गका रूपमा सो सडक बनाउन बजेट छुट्टाएको हो।
सडक कालोपत्रे भइसकेपछि सो मार्ग भएर हेटौंडा बढीमा साढे २ घन्टामा पुग्न सकिन्छ। अहिले चल्तीमा रहेको बैकल्पिक सडक बल्खुबाट दक्षिणकाली, कुलेखानी हुदैँ हेटौंडा पुग्न ४ घन्टा लाग्छ।
साढे आठ मिटर चौडा सो सडकमा साना तथा ठूला गाडी सञ्चालन हुने खड्काले बताए। 
मालबहाक गाडी भने यो सडकबाट समान लिएर काठमाडौं आउन नपाउने गरी रोक लगाईने उनले बताए।

‘मालवहाक ठूला गाडी हेटौंडा, चितवन, नौबिसेहुँदै काठमाडौं आउनुपर्नेछ र ती गाडी सामान अनलोड गरिसकेपछि भने फर्कनका लागि यो सडक प्रयोग गर्न सक्ने छन्,’ उनले भने,‘ खाली गाडी मात्र यो सडक भएर हिड्न पाउँछन्।’ 
अहिले सडक चौडा गर्ने काममा केही ढिलाई भएको उनले बताए। ‘भीरमा रहेका चट्टान फुटाउन सेनासँग बिस्फोटक पदार्थ माग गरे पनि सेनाले अभाव देखाउँदै नदिएको उनले बताए। 
‘हामीले सबै प्रक्रिया पुरा गरिसकेका छौं, तर सेनाले स्टकमा नभएको भन्दै बारूद दिन मानेको छैन,’ उनले भने।
यता सेनाले भने कच्चापदार्थको कमी भएको कारण विस्फोटक पदार्थ उत्पादन गर्न नसकिएको जनाएको छ। सेनाका प्रवक्ता ताराबहादुर कार्कीले भने, ‘हामीसँग मेटेरियल कम छ, स्टकमा नभएका कारण छैन भनेका हौं, उत्पादन हुनासाथ हामी दिन तयार छौं।’
सेनासँग विस्फोटक पदार्थ नभएर काम रोकिएको खण्डमा सरकारसँग अनुमति लिएर भारतबाट पनि मगाउन सकिने प्रावधान छ।
विस्फोटक पदार्थ बाहेक यो राजमार्गमा पर्ने  मुख्य बजारमा सडक अतिक्रमण, अस्थिर पहाडका कारण आउने पहिरो, वर्षायाममा सडकमा हुने क्षति, फाष्टट्रयाक निर्माण भएमा माथिबाट सो सडकमा झर्ने ढुंगा ब्यवस्थापनको समस्या हुने खड्काले बताए। 
बगुवादेखि गंङगटेसम्म करिब ५ किलोमिटर सडक फास्ट ट्रयाक मुनि रहेको छ।  
त्यस्तै विद्युत, टेलिकम र खानेपानीका पाइप तथा तारहरूको व्यवस्थापनमा निकै समस्या भएको खड्काले बताए।
अहिले निर्माणाधिन कान्ति लोकपथको ट्रयाक निर्माण कार्य २०१३ सालमा नै सेनाले खोलेको हो। ३ वर्ष लगाएर सेनाले सो ट्रयाक खोलेको थियो।
२०४८ सालदेखि ५२ सालसम्म ३२ किमिको हटिया ठिंगन सडकखण्ड चौडा गर्ने काम  सिन्का लामा योजना निर्माण कम्पनीले गरेको हो। पछि ललितपुर डिभिजन सडक कार्यालय र मकवानपुरले सडक मर्मत गरेका थिए।
सडकखण्ड अन्तर्गत सिमात खोला, बागमति र नल्लुमा पुल हालिसकिएको छ। साघुँरो पुललाई पनि फराकिलो बनाइने कान्ति लोकपथ सडक योजनाले जनाएको छ।
कान्ति लोकपथ सडक योजनाले अहिले सडक चौडा र सुधार गर्न ७ वटा कम्पनीलाई जिम्मा दिएको छ। त्यसकारण पनि सडक निर्माण कार्य समयमै सकिने योजनाको विश्वास छ।  
यी कम्पनीहरुले सडक चौडा र सुधार गरेपछि कालोपत्रे गर्न ६ वटा निर्माण कम्पनीहरुलाई जिम्मा दिइसकिएको खड्काले जानकारी दिए।
अहिले यी निर्माण कम्पनीहरुले समयमा नै आयोजना सक्ने गरी काम गरिरहेका छन्। सडक विभागले विना कारण सडक निर्माणको म्याद नथप्ने भन्दै निर्माण कम्पनीहरुलाई पत्राचार गरिसकेपछि उनीहरुले काम धमाधम गरेका हुन्।
‘भूकम्प, नाकाबन्दीजस्ता समस्या आए म्याद थप्न सकिन्छ, होइन भने साधारण कारण देखाउँदै हर्जना लिएर हामी म्याद थप्दैनौं,’ आयोजनाका सूचना अधिकारी खड्काले भने।
सडकखण्ड बन्ने भएपछि मकवानपुर र ललितपुरका विकट भेगमा स्थानीय खुसी भएका छन्।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
,

0 comments

Write Down Your Responses