कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि ?

कसले जित्ला ‘बालोन डि’ओर’ को उपाधि? मेसी डबल ह्याट्रिक उन्मुख, रोनाल्डोको आँखा चौथो जीततर्फ दुवै खेलाडीले क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको दुई वटा फाइनलमा गोल गरेका छन्। दुवैले एउटै सिजन ५० भन्दा बढी गोल गर्दै आइरहेका छन्। र, उनीहरूले क्लब र देशका लागि ५ सयभन्दा बढी गोल गरिसकेका छन्। खेल पत्रकार र फुटबल पण्डित पनि आधुनिक फुटबलमा यी दुई मध्ये को उत्कृष्ट भन्ने बहसमा सधै अल्झिरहेकै हुन्छन्। यी दुई खेलाडीबीचको प्रतिद्धन्द्धीतालाई महान बक्सर मोहम्मद अली र जोए फ्रेजर तथा टेनिस स्टार ब्रोजन बर्ग र जोन म्याकनरोबीचको प्रतिस्पर्धासँग तुलना गर्ने गरिन्छ। अन्तर्राष्ट्रिय फुटबलका यीनै स्टार फुटबलर अर्जेन्टिनाका लिओनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोबीच फेरि एक पल्ट फ्रान्सको सर्वोत्कृष्ट अवार्ड ‘बालोन डि’ओर’ को लागि प्रतिस्पर्धा सुरु भएको छ। ‘बालोन डि’ओर’ को घोषणा आउँदो सोमबार भब्य समारोहबीच हुँदैछ। जसमा बार्सिलोनाका मेसी र रियल म्याड्रिडका रोनाल्डोसँगै उरुग्वेका लुइस सुआरेज, फ्रान्सका आन्टोन ग्रेजम्यान र वेल्सका गारेथ वेलको नाम पनि अगाडि छ। तर, विदेशी अखबारले यसपाली पनि ‘बालोन डि’ओर’ को लागि विश्व फुटबलका दुई हस्ती मेसी र रोनाल्डोबीच नै कडा टक्कर पर्ने भबिष्यवाणी गरेका छन्। यसपाली अवार्डको दावेदारका रुपमा रोनाल्डोको नामलाई प्रमुखताका साथ उठाइएको छ। गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि र यस वर्ष पोर्चुगललाई युरो कप जिताएको कारण पनि रोनाल्डोको दावेदारीलाई लिएर ठूलै हल्ला खल्ला भएको हो। यही हल्ला खल्लाबीच स्पेनिस पत्रकार फ्रान्सेस्क अगुइलरले ‘मुन्डो डेपोर्टिभो’ पत्रिकामा रोनाल्डोले यस बर्षको ‘बालोन डि’ओर’ उपाधि जितिसकेको दावी गरेका छन्। उनले १ सय ७३ पत्रकार, राष्ट्रिय फुटबल टोलीका कप्तान र व्यवस्थापकबाट आएको मत चुहावट भएको भन्दै रोनाल्डोले ‘बालोन डि’ओर’ जितेको बताएका हुन्। तर, उनको दावीमाथि कमैले विश्वास गरेका छन्। क्रिस्टियानो रोनाल्डो क्लब फुटबल विश्व कपमा आफ्नो नाम समावेश नभए पनि रियल म्याड्रिडको टिमसँगै आइतबार जापान उडेको बताइएको छ। उनी अवार्ड समारोहमा समावेश नहुने र भिडियो फुटेजबाट आयोजकलाई बधाई दिने कार्यक्रम रहेको छ। यस्तो अवस्थामा रोनाल्डोलाई पुरस्कार समारोहमा समावेश गराउन आयोजक समितिले रचेको ‘प्रोपगण्डा’ को रूपमा यसलाई अथ्र्याउनेको पनि कमी छैन्। तर, जे होस् हल्ला नै भए पनि सन् २००८ देखि विश्व फुटबलमा सुरु भएको मेसी र रोनाल्डोबीचको प्रतिद्धन्द्धीता यसपालि पनि उजागर हुने पक्का छ। त्यसैले केही फुटबल पण्डित मेसी नै ‘बालोन डि’ओर’ को असली हकदार भएको दावी गर्छन्। मेसीले यस वर्ष पनि अवार्ड जितेको खण्डमा उनी ‘बालोन डि’ओर’ माथि डबल ह्याट्रिक गर्ने खेलाडी बन्ने छन्। उनले सन् २००९ देखि २०१२ सम्म लगातार चार वर्ष यो पुरस्कार जितेका थिए। बाँकी दुई वर्ष रोनाल्डोले उछिने पनि गत वर्ष यो उपाधिमा पुनः कब्जा गरे। रोनाल्डोले सन् २००८ मा म्यानचेस्टर युनाइटेडबाट खेल्दै पहिलो पल्ट ‘बालोन डि’ओर’ जितेका थिए। उनले रियल म्याड्रिड आगमनसँगै २०१३ र २०१४ मा यो पुरस्कार पुनः हात पारे। यस बर्ष ‘बालोन डि’ओर’ जितेको खण्डमा रोनाल्डोले म्याड्रिडबाट यो पुरस्कारमा पहिलो ह्याट्रिक पुरा गर्नेछन्। जुन समग्रमा उनको चौथो ‘बालोन डि’ओर’ हुनेछ। रोनाल्डो मेसीभन्दा केही वर्ष अगाडि नै क्लब फुटबलमा उदाइँसकेका थिए। मेसीले सन् २००५ मा अर्जेन्टिनाको युथ–२० टिमबाट फुटबल खेल्दा रोनाल्डोले इङ्लिस फुटबलको दोस्रो महत्वपूर्ण प्रतियोगिता एफए कपको उपाधि जितिसकेका थिए। यस्तै, मेसीले २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण पदक दिलाउँदा रोनाल्डो क्लब फुटबलको सर्वोत्कृष्ट प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल्दै थिए। उनले पहिलो हाफको २६ मिनेटमा गरेको सुरूवाती गोलका कारण म्यानचेस्टर युनाइटेडले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ गोलले जितेको थियो। यसै कारण २००८ को ‘बालोन डि’ओर’ मा मेसीलाई उछिन्दै रोनाल्डोले पहिलो पुरस्कार थापेका थिए। तर, अर्को वर्ष रोनाल्डोलाई दोस्रो स्थानमा छोड्दै मेसीले लगातार ४ पल्ट अन्तर्राष्ट्रिय फुटबलको प्रतिष्ठित मानिने यो पुरस्कारमा कब्जा जमाए। सन् २०१० मा विश्वकप जितेको स्पेन टोलीका स्टार सेन्टर मिडफिल्डर आन्द्रेस इनिस्टालाई छोडेर कुरा गर्ने हो भने बाँकीको तीन पुरस्कारमा रोनाल्डो जहिले पनि मेसीपछि दोस्रो स्थानमा रहे। रोनाल्डो र मेसीको खेल शैलीमा आफ्नै किसिमको विशेषता छ। ३१ वर्षीय रोनाल्डो जहाँ शारीरिक रूपमा निकै कडा मानिन्छन, मेसी साधारण र औसत उचाइँका छन्। तर, ‘विथ बल’ उनलाई समाउनु भनेको असम्भव झै मानिन्छ। बलसँगको उनको कलात्मक लचकता हेर्न लायक देखिन्छ। त्यसैले उनलाई फुटबल मैदानमा खेलेको हेर्ने साधारण व्यक्तिको मनमा पनि एउटा भाव उत्पन्न हुने गरेको छ, ‘सामान्य उचाइँ भएको एउटा ठिटो यति सहजताका साथ फुटबल खेल्न सक्छ भने म किन नसक्नु?’ २९ वर्षीय मेसी मैदानको बीचै बीच आफ्ना साथीहरूसँग पास खेल्दै विपक्षी टोलीको चट्टान झै मजबुत डिफेन्स ‘लाइन–अप’ तोड्न सक्षम हुने गर्छन्। दुई दिनअघि मात्र गत शनिवार ओसासुनाविरूद्ध ‘ला लिगा’ मा मेसीले गरेको एउटा गोल यसैको परिचय पनि हो। उनले धेरैपल्ट फुटबल समर्थक आश्चर्यमा पर्ने यस्ता गोल गरिसकेका छन्। तर, यतिबेला बढ्दो उमेर र बार्सिलोनासँगको नयाँ सम्झौताको विवादका बीच ५ डिफेन्डरलाई बेवकुफ बनाएर गोल गर्नु महान खेलाडीको परिचय हो। यस्तै खेलले मेसीलाई जहिले पनि उत्कृष्ट खेलाडीको कोटीमा राख्ने गरेको छ। मेसीको तुलनामा रोनाल्डो युद्व मैदानमा लडिरहेको कमाण्डर झै देखिन्छन्। उनी विङबाट तीब्र बेगमा बल विपक्षी पोस्टमा हुल्दै असम्भव झै मानिने कोणबाट पनि गोल गर्न सक्षम मानिन्छन्। उनको सबैभन्दा ठूलो विशेषता भनेको ‘स्पिड’ मा विपक्षी डिफेन्डरलाई ‘डच’ दिनसक्नु हो। उनी लामो दुरीको फ्रिकिकमा निर्दयी प्रहार गर्न सक्छन्। बलमाथि उनले गर्ने कठोर प्रहार र विङमा तीब्र गतिमा दौडिने उनको कला देखेर फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर भन्ने गर्थे–‘रोनाल्डो खेल मैदानका कमाण्डर जस्तै हुन्।’ गत वर्ष रोनाल्डोले क्लब फुटबलको ४७ खेलमा ५१ गोल गरेका थिए। जसमा रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउदा उनले ११ खेलमा १६ गोल गरेका थिए। यसमा स्पेनिस ‘ला लिगा’ मा मात्र उनको ३६ खेलमा ३५ गोल थियो। गत वर्ष रियल म्याड्रिडलाई दुई वर्षको अन्तरालमा क्लब फुटबलको प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि र देशका लागि पहिलो युरो कप भित्र्याएको कारण उनको दावेदारीमा धेरैले दम देखेको छन्। तर, सन् २००२ देखि गोलका लागि पास जुर्याउने खेलाडी (एसिस्ट) को पनि हेक्का राख्न थालिएपछि मेसीको प्रभावकारिता अन्तर्राष्ट्रिय फुटबलमा बढेर गएको छ। त्यसैले हिजोआज गोल गर्ने खेलाडीको मात्र होइन, गोलका लागि पास मिलाइदिने खेलाडीको पनि चर्चा चल्न थालेको हो। यस दृष्टिकोणले कुरा गर्दा बार्सिलोनालाई क्लब फुटबलमा घरेलु ‘ला लिगा’ र कोपा डेल रेको दोहोरो उपाधि तथा अर्जेन्टिनालाई दक्षिण अमेरिकी फुटबलको प्रतिष्ठित प्रतियोगिता कोपा अमेरिकाको फाइनल पुर्याउन महत्वपूर्ण योगदान गरेबापत मेसीको दावेदारीलाई कसैले कम आँकेका छैनन्। मेसीले गत वर्ष क्लब फुटबलमा रोनाल्डोभन्दा १० गोल कम गरेका थिए। उनले रोनाल्डोभन्दा एक खेल बढि पनि खेलेका थिए। मेसीले ४८ खेलमा ४१ गोल गरेका थिए। जसमा ‘ला लिगा’ मा ३३ खेलमा २६ गोल र च्याम्पियन्स लिगको ७ खेलमा ६ गोल रहेको छ। तर, यति हुँदा हुँदै पनि उनले रोनाल्डोभन्दा बढि गोलका लागि पास मिलाएका छन्। मेसीले ४८ खेलमा २१ ‘एसिस्ट’ गरेका थिए। जुन रोनाल्डोभन्दा ६ बढि हो। ‘बालोन डि’ ओर’ को अन्तिम मतका लागि यसै नोभेम्बरसम्मको समय–सिमा समाप्त भइसकेको छ। यस अवधिमा मेसीले कूल ६३ खेल खेलेका छन्। जसमा उनी ५९ गोल र ३४ ‘एसिस्ट’ गर्न सफल भएका छन्। यस्तै, रोनाल्डोले ५८ खेलमा ६१ गोल र १९ ‘एसिस्ट’ गरेका छन्। यसै सिजन मात्र मेसीले १८ खेल खेल्ने क्रममा २२ गोल र ७ ‘एसिस्ट’ गरेका छन्। यो सिजन त्यति फर्ममा नदेखिएका रोनाल्डोले भने १६ खेलमा १२ गोल र ६ ‘एसिस्ट’ गरेका छन्। त्यसैले यस बर्ष पनि ‘बालोन डि’ओर’ को बिजेतालाई लिएर कौतुहलता सुरु भएको हो।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.

0 comments

Write Down Your Responses