इमाडोलमा प्राकृतिक ग्यासको उत्पादन आजबाट

५ कात्तिक, काठमाडौं । अाजदेखि ललितपुरको इमाडोलमा प्राकृतिक ग्यास (मिथेन) उत्पादनको काम सुरु हुँदैछ । उद्योग मन्त्रालय अन्तर्गतको खानी तथा भुगर्भ विभागले इमाडोलमा ग्यास उत्खनन गर्न ड्रिलिङको काम सकिसकेको छ ।

शुक्रबार उद्योग मन्त्री नविन्द्रराज जोशीले ग्यास उत्पादनको औपचारिक सुरुवात गर्दैछन् । यो उत्खनन् काम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा सुरु भएको थियो ।

यद्यपि ओलीले भाषण गरेपछि इमाडोलमा अध्ययन थालिएको चाँहि होइन । विभागले २ वर्षदेखि ड्रिलिङ गरिरहेको थियो । रोकिएको काम भने अाेलीकाे चासोकै कारणा सुरू भएको थियाे ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले नाकाबन्दीका बेला  भनेका थिए- ‘अब काँधमा सिलिन्डिर बोकेर हिँड्नुपर्दैन । सिलिन्डर ग्यासको फेज नै समाप्त पारिदिन्छु । कति बुलेट आए भनेर गन्ने दिन पनि गए, केही समय दिनुस् म पाइपलाइनबाट घरघरका चुलोमा ग्यास पुर्‍याइदिन्छु ।’

ओलीले त्यसो भनिरहँदा मुलुकले भारतको नाकाबन्दी खेपिरहेको थियो । नाकाबन्दीका कारण ग्यासको हाहाकार भोगिरहेका सर्वसाधारणलाई आश्वस्त पार्ने उद्देश्यले ओलीले गरेको सो भाषणलाई लिएर उनलाई धेरैले उडाएका थिए । सामाजिक सञ्जालमा त उनको उछितो नै काडियो ।

इमाडोलसँगै उपत्यकाका १४ स्थानबाट ग्यास उत्पादन गर्न सकिने निष्कर्श निकाल्दै खानी विभागले उत्खननको कार्यलाई अघि बढाएको हो । इमाडोलको परिक्षण सफल हुनासाथ अन्य स्थानमा परिक्षण गरी उत्पादन थालिने विभागले जनाएको छ ।

खानी विभागका प्राकृतिक ग्यास तथा कोइला शाखाका प्रमुख पृथ्वीलाल श्रेष्ठले अहिले उत्खनन गरिएको ग्यास भण्डारणका लागि प्लान्ट राख्न मेसिन जडान गरेर ग्यास च्याम्बर बनाउने काम गरिएको बताए ।

विभागले पहिलो चरणमा परिक्षणकारूपमा सानो मोबाइल प्लान्ट निर्माण गर्न लागेको श्रेष्ठले बताए । उत्पादन भएको ग्यास  भण्डारण गरी सुरूमा आसपासका सरकारी कार्यालयमा प्रयोगमा ल्याउने योजना छ । र, विस्तारै पाइपलाइनबाट सर्वसाधारणका घरमा जडान पनि गर्ने  सरकारी अधिकारीहरूको दावी छ ।

श्रेष्ठका अनुसार सम्भाव्यता भएका ठाउँहरुमा ३ सय मिटरको गहिरो ड्रिलिङ गरी जमिनमुनिबाट ग्यास निकालिने छ । यसरी निस्किएको ग्यासमा एक भाग कार्वन र चार भाग हाइड्रोजनको मात्रा हुन्छ, जसलाई ‘सिएसफोर’ भनिन्छ । यस्तो ग्यासमा पानीको मात्रा पनि हुन्छ ।

जमिनमुनिबाट ग्यास निकालेर पाइपमार्फत भण्डारस्थलमा राखेर वा सोझै वितरण गर्न सकिन्छ । यो ग्यास रंगहीन र गन्धहीन हुन्छ । यो ग्यास जस्तो निस्किन्छ त्यस्तै वितरण गरिन्छ ।

जमिनमुनिको ग्यासको निकाल्ने भन्ने कुरा नयाँ भने होइन । २७ वर्षअघि नै जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले गरेको अध्ययनमा उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकिलोमिटर क्षेत्रमा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको उल्लेख गरेको थियो ।

त्यसो त, २३ वर्ष अघि नै उपत्यकाबासीले जमिनमुनिको ग्यासबाट पकाएको भात खाइसकेका छन् । ०४० सालमा टेकुको पँचलीमा रहेको सानो प्लान्टबाट जापानको सहयोगमा ग्यास निकालेर सरकारी र स्थानीयको घरयासीमा प्रयोग भएको थियो ।

त्यो प्रयोग सफल भए पनि त्यसपछि भने थप ग्यास सम्भावनाको खोजी र उत्खननबारे ठोस पहल नै भएन । सरकारले ध्यान नदिएपछि नयाँ संभावनाको खोजी त परै जाओस्, टेकुको प्लान्ट पनि बन्द भयो । सो प्लान्टका सामानहरु काम नलाग्ने अवस्थामा छन् ।

हरेक ताजा अपडेट समाचरहरु तपाइको फेसबुक वालमा हेर्नको लागि पेज Like गर्नुहोस्
Disclaimer: Please note that, this site is an online news portal. The images, videos, text that are found here not from this site but comming from 3rd party video, image, texthosting sites such as youtube, ekantipur.com, ratopati.com, dainiknepal.com, quicknpnews.com, setopati.com etc. The videos and photos are not hosted by us. so, please contact to appropriate video, image, texthosting site for any content news.
, ,

0 comments

Write Down Your Responses